Home» Cinema »Feature

नायिका त छन् तर गज्जबका छैनन् !



-ऋषिराम कट्टेल

प्रथम नेपाली चलचित्र आमाकी नायिका भुवन चन्दबाट सुरु भएकी नायिका बन्ने क्रम आज नेपाली चलचित्र क्षेत्रले चार दशक पूरा गर्दा निकै व्यापकता पाइसकेको छ । २०१० सालमा स्व. बालकृष्ण समको नाटक अन्धवेगमा अभिनय गरेर अभिनय क्षेत्रमा आएकी नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भुवन चन्द सूचना विभागको कर्मचारीको हैसियतले उक्त चलचित्रमा अभिनय गर्न पुगेकी थिइन् । श्री ५ को सरकार निर्देशन मन्त्रालय अन्तर्गत तत्कालीन प्रचार प्रसार विभागले २०२२ सालमा निर्माण गरेको आमापछि पुनः सरकारी निकायबाटै निर्मित हिजोआजभोलिमा नायिकाकै रूपमा अभिनय गरेकी उनी अनवरत रूपमा आजसम्म कलाकर्ममा क्रियाशील छन् । २०२३ मा निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र माइतीघरबाट माला सिन्हा पहिलो रङ्गीन चलचित्र कुमारी (२०३४) बाट चैत्यदेवी, परालको आगोबाट वसुन्धरा भुषाल, बाँसुरीबाट रजनी शर्माले नायिकाको रूपमा जग भएर नेपाली चलचित्र क्षेत्रमा काम गरेका थिए । नेपाली चलचित्रको निर्माणको सुरुदेखि झन्डै दुइ दशक चलचित्र बन्ने क्रम सुस्तगतिमा अघि बढ्यो । २०२८ मा तत्कालीन शाही नेपाल चलचित्र संस्थानको स्थापनापछि चलचित्रले केही गति लियो । व्यावसायिक नायिकाको अभाव खड्किरहेको बेला २०३६ सालमा निर्देशक प्रकाश थापाले भारतबाट मीनाक्षी आनन्दलाई भित्र्याएपछि सिन्दुर चलचित्रबाट उनी सर्वाधिक चर्चित नायिका बन्न पुगिन् । जीवनरेखा, जुनी जस्ता चलचित्रमा अभिनय गरेपछि उनी भारततिरै फर्केर हिन्दी चलचित्रमा काम गर्न थालिन् । २०४० सालमा लक्ष्मीनाथ शर्माको बदलिँदो आकाशबाट सुस्मा शाही, २०४१ मा आदर्शनारीबाट अंशुमाला शाही,चलचित्र विश्वासबाट राजश्री क्षेत्री र रोशी कार्की नायिकाको रूपमा सिने क्षेत्रमा आएका उल्लेखनीय नाम हुन् । त्यसपछि भने यिनीहरू नेपाली चलचित्र क्षेत्रबाट टाढिए । २०४१ सालमा बी.एस. थापाको निर्देशनमा बनेको चलचित्र कान्छीबाट शर्मिला मल्लले लामो समयसम्म नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय लोकप्रियता कमाइन् । यसै क्रममा भारतीय तृप्ति नाडकर कुसुमे रुमाल, सम्झना जस्ता चलचित्रबाट दर्शकमाझ लोकप्रिय बनिन् ।

झन्डै त्यसै समयमा चलचित्र क्षेत्रमा भित्रिएकी गौरी मल्ल, मिथिला शर्माको अभिनय र लोकप्रियता अझै घटेको छैन । नायिका हुँदै चरित्र अभिनेत्री बनेका यी दुइमध्ये गौरी विगत चार वर्षदेखि जापानमा पलायन भइसकेकी छन् । सन्तान चलचित्रबाट २०४४ मा नेपाली सिने रजतपटमा भित्रिएकी करिश्मा मानन्धर त्यसैगरी त्यही समयमा प्रवेश गरेका कृष्टि मैनाली, मौसमी मल्ल, रूपा राणा सबै राम्रा नायिकामा आफूलाई स्थापित गरे पनि करिश्मा मानन्धरले भने जुन लोकप्रियता/उचाइ हासिल गरेकी थिईन् सम्भवतः अरू कसैले पनि त्यस्तो लोकप्रियता र उचाइ/सफलता कसैले पनि हासिल गर्न सकेका छैनन् । करिश्मा आफ्नै चलचित्र बाबुसाहेवको व्यावसायिक असफलतापछि हाल अमेरिका पलायन भएकी छन् भने कृष्टि पनि लामो समयदेखि अमेरिकामै स्थायी बसोवास गर्दै आएकी छन् । यता रुपा राणा लामो समय जापान बसाइपछि चलचित्र कर्ममा फर्किएकी छन् भने मौसमी मल्ल पनि एकदशकपछि पुनः सिने क्षेत्रमै आएकी हुन् । यसै दशकमा चलचित्र फेरि भेटौंलामा अभिनय गरेर फिल्मी करिअर सुरु गरेकी नायिका मनीषा कोइराला त्यसको लगत्तै बलिउड छिरेकी थिइन् । पचासको दशक नेपाली चलचित्र क्षेत्रको लागि कोसेढुङ्गा नै सावित भयो चाहे सिनेमाको सङ्ख्याले होस् वा प्रतिस्पर्धाले होस् । यस दशकमा साविकको तुलनामा चलचित्र बन्ने क्रम पनि चुलियो, यो सँगै अनगिन्ती नायिकाहरू आए यो क्षेत्रमा । यस दशकको प्रारम्भमै विपना थापा, निरुता सिंह, मेलिना मानन्धर, जल शाह, पूजा चन्द, सारङ्गा श्रेष्ठ, बिना बुढाथोकी, सनी रौनियार, झरना थापा, मेघा पोखरेल, अनुपमा कोइराला लगायतका नायिका यस क्षेत्रमा भित्रिए । करिश्मा मानन्धरपछि जल शाह, विपना थापा, निरुता सिंह, मेलिना मानन्धर, पूजा चन्दको प्रतिस्पर्धा निकै रहृयो एक समय । सारङ्गा श्रेष्ठ, पूजा चन्द, बिना बुढाथोकी जस्ता नायिका विदेश पलायन भए भने केही १ वा २ चलचित्रमा अनुहार देखाएर यस क्षेत्रबाट बिदा भइसकेका छन् ।

पचासको दशकको दोस्रो चरणदेखि हालसम्म देखापरेका नायिकाहरूमा सुस्मिता के.सी., झरना बज्राचार्य, सञ्चिता लुइँटेल, रेखा थापा, सज्जा मैनाली, पूजा लामा, उषा पौडेल, रेजिना उप्रेती, क्षितिजा शाक्य, कविता खड्का, मुना कार्की, ज्योति शर्मा, इश्वरी प्रधान, रूपा उपाध्याय, सुमिना श्रेष्ठ, ऋचा घिमिरे, रुवी राणा, प्रसिद्धिका रायमाझी, कृति भट्टराई, स्यारोन शेर्पा, सुस्मीता कार्की, रजनी राणा, अरुनिमा लम्साल, पूजा प्रधान, सिरू विष्ट, सरु सुब्बा, नन्दिता के.सी., जेनी कुँवर लगायतका अनगिन्ति नायिका देखा परे पनि झरना बज्राचार्य, सञ्चिता लुइँटेल, झरना थापा, रेखा थापा, अरुनिमा लम्साल, सज्जा मैनाली लगायतका केही सीमित नायिकाबाहेक अन्य कसैले पनि सिने क्षेत्रमा राम्रो छाप छोड्न सकेका छैनन् र यी नायिकामा त्यस्तो खास सम्भावना पनि देखिँदैन । करिश्मा मानन्धरको सिनेक्षेत्रको प्रभुत्व अमेरिका पलायनपछि विकल्पमा कुनै देखा नपरे तापनि पछिल्लो समयमा रेखाको क्रेज बढ्दो छ । यद्यपि नाङ्गिएर र सेक्सी इमेजका कारण केही समय युवा पुस्तामा लोकप्रियता कमाएको धेरै दर्शकको भनाइ छ । नेपाली चलचित्रका नियमित दर्शक झापा गौरादहका प्रदीप दाहाल भन्छन्- रेखा थापा पर्दामा नाङ्गिने होडमा अघि देखिएकाले युवा पुस्तामा लोकप्रिय बनेकी हुन् तर उनको लोकप्रियता साउने भेल जस्तै हो । दीर्घकालीन रूपमा टिक्न मुश्किल छ । निरुता, विपना, जल सदाबहार नायिकाको रूपमा सिने वृत्तमा स्थापित नायिकामा पर्छन् । नेपाली चलचित्र क्षेत्रबाट धेरैजसो नायिका विदेश पलायन भएका छन् भने पछिल्लो समयमा पुराना केही नायिकाको पुनरागमन पनि भएको छ । १/२ वटा फिल्म खेलेर नायिकाको लोगो भिरेर अनैतिक कार्य गर्ने, सिनेमा खेल्ने, पर्दामा देखिने होडमा जस्तोसुकै सम्झौता गर्न तयार हुने नायिका पनि केही मात्रामा यस क्षेत्रमा छन् । अतः धेरै नायिकालाई अझै पनि यस क्षेत्रमा मर्यादित रूपमा हेरिँदैन । यसमा पनि अज्ञानता, अशिक्षा र अस्वस्थ प्रतिस्पर्धा हावी देखिएका विद्यमान केही नायिकाहरूको ठाउँमा शिक्षित, प्रतिभावान् नायिकाको प्रवेश भएमा यस क्षेत्रमा नायिकाको भविष्य निकै उज्ज्वल देखिन्छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेत्री सेलेब्रिटी अभिनेता समारोह रिलिज सेक्स प्रविधि सुटिङ हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,