Home» Cinema »Feature

नेपाली सिनेमाका दुइ बाटा

नेपाली चलचित्रले अब परिवर्तनको बाटो समाएन भने यसले पाकिस्तानी चलचित्र उद्योगको नियति भोग्नेछ । जसअनुसार आफ्नै देशमा आफ्नो भाषामा बनेका चलचित्रका दर्शक रहने छैनन् र सिनेमा कलाकार तथा प्राविधिकहरु पलायन हुनेछन् । जसका कारण नयाँ पुस्ता उद्योगमा प्रवेश हुने छैन र मौलिकपनाको अभावमा दशकौँसम्म चलचित्र उद्योग पीडित हुनेछ । नेपाली चलचित्र उद्योगले अहिले यही नियति भोगिरहेको छ । चलचित्र उद्योगबाहेक अरु सोच्न नसक्ने केही व्यक्तिका कारण गृहयुद्धका बेलामा समेत चलचित्र बने पनि ती चलचित्रको व्यापार सन्तोषजनक रहेनन् । धेरैले देशको असहज परिस्थितिलाई दोष दिए पनि यथार्थमा ती चलचित्रमा रहेको नयाँपनको अभाव नै गिर्दो बजारको मुख्य दोष थियो । देशमा शान्ति स्थापनापश्चात् भने चलचित्र उद्योगमा पुराना निर्माता र निदाएका चलचित्रकर्मीहरु पुनः जागृत भएका छन् । अब केही महिना चलचित्र निर्माणको एउटा सानोतिनो होड नै चल्ने छ । यो होडले चलचित्र उद्योगमा सुनौला दिन फर्किएको घोषणासमेत हुन बेर छैन । तर तीमध्ये अधिकांश चलचित्र नराम्रोसँग डुब्नेछन् । किनभने तीनमा नयाँपनको अभावका कारण दर्शकले तिनलाई ठाडै नकार्ने छन् ।

नवीन सुब्बालगायत फरक धारका पक्षपोषकहरु चलचित्र उद्योगको अहिलेको निर्माण शैलीबाट विल्कूलै असहमति व्यक्त गर्छन् । उनीहरुका अनुसार, उद्योगले समातिरहेको यो निर्माण शैली (बुनोट र प्रस्तुति) ले दर्शक बढाउने छैन । बरु यो फर्मूलाले विदेशी चलचित्र (बलिउड र हलिउड) प्रति अझ बढी रुचि बढाइदिन्छ । नेपाली सिनेमा विदेशी चलचित्र हेर्ने इन्स्िटच्यूट बनिरहेको छ । त्यसैले नेपालमा फर्मूला फिल्मको निधन एक दिन अवश्यम्भावी छ । निर्माणको नयाँ शैली यसकारण पनि फरक हुनुपर्छ । त्यसले नयाँ दर्शक बढ्ने छन् । त्यति मात्र होइन, त्यो नयाँपनलाई हामीले विदेशमा समेत निर्यात गर्न सक्छौँ । यदि विदेशमा त्यो नयाँपनलाई स्वीकारियो भने नेपाली निर्माताहरुले अहिलेको भन्दा दश गुणा बढी आम्दानी बढाउन सक्नेछन् ।

चलचित्र उद्योगमा अर्को सोच पनि छ । त्यो सोच के भने वर्तमान निर्माण शैलीको ठूलो प्रशंसक अझै पनि रहेकाले फर्मूला सिनेमाको निर्माणमा नियमितता हुनुपर्छ । बरु ती सिनेमामा नयाँ शैली थप्दै जानुपर्छ र दर्शकलाई त्यो शैलीमा विस्तारै बानी बसाउनु पर्नेछ । बरु हिन्दी र अंग्रेजी चलचित्रका प्रशंसकहरुलाई नेपाली चलचित्रप्रति आकषिर्त बनाउन देशभित्रैका क्षमतावान् नयाँ पुस्ताको प्रवेश जरुरी छ । तिनले बनाएका नयाँ शैलीका चलचित्रलाई आकर्ष ढङ्गले विज्ञापन गरी तान्न सकिन्छ । क्वेष्ट इन्टरटेन्मेन्टले बनाइरहेको 'कागबेनी'का लक्षित दर्शक तिनै हुन् । क्वेष्ट इन्टरटेन्मेन्टका भाष्कर ढुङ्गाना यही पक्षमा देखिएका छन् कि अहिलेको चलचित्रभन्दा माथि अर्को रेखा कोरिनुपर्छ र त्यो रेखा हलिउड र बलिउडभन्दा तलको हुनेछ भने नेपाली चलचित्रको अहिलेको रेखाभन्दा माथिको हुनेछ ।

अहिले नेपाली चलचित्रको बजेट कसरी घटाउने र कसरी सस्तोमा सिनेमा बनाउने होड नै चलेको छ । त्यसैले द्वन्द्वले गाँजेको बेला सस्तोमा सिनेमा बनाउने शोभित बस्नेतको कम्पनी राम्रैसँग चल्यो । द्वन्द्वकै कारण ठूलो बजेटका मानिस र दुनियाँ भन्दा सानो बजेटका अग्निपथ, दुगा, निखिलदाइजस्ता चलचित्रहरुले राम्रो आम्दानी गरे । सस्तोमा सिनेमा बनाउने होडले उद्योग जीवितै छ भन्ने सन्देश जनमानसमा त पुग्यो तर त्यो सन्देशले भाँडिएका दर्शकलाई तान्न भने सकेन ।

बद्लिँदो समयअनुरुप चलचित्र उद्योगले परिवर्तनको छनक 'अल्पविराम'मार्फ् दिन खोजेको छ । यसले समसामयिक विषयलाई उचित तरिकाले प्रयोग गर्न सकिन्छ भन्ने मान्यता त्यसले स्थापित गर्न खोजेको छ । त्यस्तै 'कागबेनी'ले पनि गीत र फाइटको लोभमा नपरी मूल विषयलाई नै न्याय गर्ने ध्येय बोकेको छ । यस्तै धारमा बनेको 'कर्म' पनि तयार भइसकेको छ । नेपाली सिनेमाको वाक्कलाग्दो फर्मूलाबाट त्राण खोजिरहेका दर्शकका लागि यस्ता चलचित्रको प्रदर्शनले पक्कै पनि वैकल्पिक उपाय दिन सक्छ । तर नेपाली चलचित्रमा 'नुमाफुङ' पछि देखिएको खालीपन भर्न 'अल्पविराम', 'कागबेनी' र 'कर्म' कुर्नु परेझैँ यी चलचित्रपछि फरकधारका चलचित्रको नियमित निर्माण हुन अत्यन्त जरुरी छ ।

फरक सिनेमाको भोक केही दर्शकलाई कतिसम्म छ भने तिनले 'मेकिङ अफ स कर्णाली'लाई समेत 'हिट' बनाइदिए । केही डकुमेन्ट्री पनि त्यही मेसोमा 'हिट' भइसकेका छन् । त्यसैले अहिले फरक धारका चलचित्रको निर्माण बढीभन्दा बढी आवश्यक देखिएको छ । ती दर्शकहरुको व्यग्र प्रतीक्षा धेरै वर्षम्म लम्बिन दिनु हुँदैन ।

राम्रो सिनेमा बनाउन सकेको खण्डमा अन्तरराष्ट्रियस्तरमा मात्र होइन स्वदेशमै पनि त्यसले राम्रो दर्शक पाउन सक्छ भन्ने उदाहरण क्याराभानले प्रमाणित गरिसकेको छ । त्यस्तै विभिन्न चलचित्र महोत्सवमा भाग लिने र त्यहीँका स्थानीय वितरकहरुलाई सिनेमा बेचेर फर्किने नवीन सुब्बाको अनुभव वैकल्पिक चलचित्रका निर्माताका लागि लाभदायक हुन सक्छ । त्यस्ता चलचित्रलाई नेपालभित्रै पनि व्यग्रताका साथ प्रतीक्षा गर्ने गरिएको छ । हामीसँग यो उदाहरण पनि छँदैछ ।

नेपाली चलचित्र उद्योगले बलिउडबाट धेरै सिकेको छ । तर तिनको कार्यशैलीबाट अलिकति पनि सिकेको छैन । हामी त्यहाँका दुइ वटा उदाहरणबाट धेरै कुरा सिक्न सक्छौँ । बलिउडका यशराज प्रोडक्शन र धर्मा प्रोडक्शनले ठूला बजेटका सिनेमा बनाउने गरेका छन् । गएको वर्षै कुरा गर्ने हो भने यशराज प्रोडक्शनले फना र धूम २ जस्ता मल्टिस्टारर तथा बढी बजेटका सिनेमा बनायो । त्यस्तै, धर्मा प्रोडक्शनले कभि अलबिदा ना कहेनाजस्तो मल्टिस्टारर सिनेमाको निर्माण गर्‍यो । यी तीन वटै सिनेमाको विशेषता के थियो भने यी ठूलो बजेटका चलचित्र थिए । यिनमा ठूलाठूला स्टारले काम गरेका थिए । यिनको प्रचार शैली आक्रामक थियो । र, तिनको कमाई पनि करोडभन्दा तल थिएन ।

कि त हामीले यसरी नै ठूलाठूला स्टारहरुलाई लिएर आक्रामक प्रचार शैली अपनाएर फर्मूला फिल्म बनाऔँ । तर दुःखको कुरा के छ भने राजु राजा राम भन्ने चलचित्र राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठजस्ता नेपाली सुपरस्टारहरुलाई लिएर बनाइएको चलचित्र चलेन । नेपाली सिनेमाका सुपरस्टारहरुको क्रेज त्यो तहको छैन, जसलाई दर्शकहरु एकत्र देख्न पाउँदा र्सट-पाइन्ट नै च्यात्ने दुस्साहस गरुन् । यस्ता अनेक उदाहरण छन्, जसले यो प्रमाणित गर्न सकिन्छ कि दर्शकहरु सुपरस्टार होइन, असल चलचित्र हेर्न रुचाउँछन् ।

बलिउडको अर्को उदाहरण पनि हामीलाई काम लाग्न सक्छ । त्यहाँ अर्को एउटा निर्माण कम्पनी छ- विशेष फिल्म्स् । त्यसले विगतमा कसूर, मर्डर, ग्यांगस्टर, किलर, कलयूग, वो लम्हेँजस्ता सिनेमा बनाइसकेको छ । यिनको बजेट सानो छ, कलाकार पनि उति चलेका छैनन् । तर जब यी बजारमा आउँछन्, सबैलाई अचम्ममा पार्ने गरी कमाइरहेका हुन्छन् । दर्शकलाई तान्ने प्रशस्त मसला यी चलचित्रले बोकेका छन् । महेश भट्टले यी चलचित्रमार्फ् आफूलाई 'स्टार पावर'को विपक्षमा रहेको बारम्बार प्रमाणित गरिरहेका छन् ।

यो दोस्रो उदाहरण नेपाली भूमि, दर्शकको बद्लिँदो रुचि र बजेटअनुकूल हुन सक्छ । जसमा नयाँ शैलीको निर्माण, विषयवस्तुपरक कथानक र त्यसलाई पस्किने आकर्ष शैलीले नेपाली सिनेमाको भाग्य नै परिवर्तन हुन सक्छ । 'दर्पण छायाँ' चलचित्रले बजार कति फराकिलो हुन सक्छ भन्ने उदाहरण देखाइसकेको छ । खाँचो छ त केवल साधिएको कथानकलाई आकर्ष तरिकाले भन्न सक्ने शैली र शिल्पयुक्त दुस्साहसी निर्माता-निर्देशकहरुको ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
प्रविधि सोच फिल्म फेस्टिबल नवीनता क्या बात ! ग्ल्यामर कन्ट्रोभर्सी निर्देशक पार्टी अभिनेता पेज 3 अभिनेत्री रोमान्स रोचक सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,