चलचित्र कलाकार दिनेश शर्माले चलचित्र निर्माण गरेका छन् । 'अन्त्य' नामक उनको चलचित्रको अहिले प्राविधिक कार्य भइरहेको छ । उनले आफ्नो लगानीको पहिलो चलचित्रमा यसअघि तीन चलचित्र बनाइसकेका चलचित्र निर्माता रामचन्द्र पौडेललाई साथ लिएका छन् ।
कुनै पनि नयाँ शुरुवात हुनका लागि पुरानो कुराको अन्त्य हुन जरुरी छ भन्ने सन्देश बोकेर यो चलचित्र बनाएको बताइरहेका दिनेश शर्माले यसमा अरु सन्देश पनि थप्न भुलेका छैनन् । जस्तोः पशु मान्छे बन्न सक्छ भने मान्छे चाहिँ कहिले मान्छेजस्तो बन्ने ? पशु त संस्कारमा हिँडेर एउटा सुसंस्कृत पशु बन्न सक्छ भने मान्छे आफैँले बनाएको संस्कारमा किन हिँडिरहेका छैनन्, किन हिँड्न सकिरहेका छैनन् ? त्यस्तै उनले हरेक मान्छे आफ्नो लागि बलियो हुन्छ, उसलाई कमजोर नठान्नू ! भन्ने सन्देश पनि यस चलचित्रमार्फत् दिन भुलेका छैनन् ।
यसमा प्रहरी-कुकुर जुनुको प्रमुख भूमिका रहेको निर्माता शर्माले दिएका छन् । जसमा दिनेश शर्मासहित उषा पौडेल, सुशील पोखरेल, मुकुन्द थापा, विजय देउजा, दीपर्शनजङ्ग राणा आदिको मुख्य भूमिका रहेको छ ।
डिजिटल प्रविधिबाट बनाइएको यो चलचित्रलाई भारतमा लामो समयदेखि मुम्बईमा संघर्षरत वासुदेव पोखरेलले निर्देशन गरेका छन् ।





