Home» Cinema »Biography

राजनीति छाडेर सिनेमा

नेपाली कांग्रेसका शीर्षस्थ नेता कृष्णप्रसाद भट्टराई त कैयौं पल्ट काकू बाबुको घरमा बास बस्न पुग्थे । वनारसबाट नेपाल आउँदा सीधै विराटनगर जान्थे र देवकोटा चोकस्थित काकू बाबुको घरमै भट्टर्राईको भोजन हुन्थ्यो । सुत्न भने, कोइराला निवास नै पुग्नु उनको नियमितता जस्तै भइसकेको थियो । त्यसै क्रममा काकू बाबुका फुच्चे पुत्र उनीहरुसँग घुलमिल हुन थाले ।

काकू बाबुको घरमा धोती लाएर मोटरमार चुरोट सल्काउँदै ट्वाइलेटको ढोका ढकढकाउँदै गर्ने अर्का कांग्रेस नेता गिरिजाप्रसाद कोइरालासँग पनि फुच्चेको भेट भयो । एकदिन त उसले नेता कोइरालालाई ट्वाइलेट बाहिर ज्यादै कुराएर हैरान पनि पारिदियो ।

वि.सं. २०३५ सालमा नौ वर्षो फुच्चेले विराटनगरभरिका केटाकेटी जम्मा गरेर वी.पी. जिन्दावाद भन्ने दुस्साहस गर्‍यो । सोही वर्षबनारसमा निर्वासित जीवन बिताएर वी.पी. पहिलो पल्ट बिराटनगर आएका थिए । सहीद मैदानमा वी.पी.को भाषण सुनेपछि त्यही फुच्चेसँग कोइराला कांग्रेसका वर्तमान महामन्त्री सुशील कोइराला उसकै कोठामा सुत्न आउँथे ।

नातामा दाजु सुशील कोइरालासँग पहिलो पल्ट पैतीस सालमै काठमाडौं आएको फुच्चेलाई अझै सम्झना छ । सुशीलसँग साझा यातायात चढी सीधै काठमाडौं आएर वी.पी. बस्ने चाबहिलस्थित ज्योति कोइरालाको निवासस्थान पुगेको त्यो सानो केटोले फुपाजु दमननाथ ढुंगानासँगको भेटघाट अनि घुमघामको क्षणलाई अझै बिर्सेको छैन ।

त्यो कमालको फुच्चे उनै काकू बाबु भनेर विराटनगरमा चिनिने नित्यराज कोइरालाका पुत्र अनीष कोइराला हुन् । २०१७ सालअघि वी.पी. प्रधानमन्त्री हुँदा अनीषका पिताजी रामेछाप जिल्लाको तत्कालीन सि.डि.ओ. थिए । वी.पी.कै अनुसरणमा हिंड्यो भनेर २०१७ सालमा उनलाई देश निकाला गरियो ।

देश निकाला भएपछि उनको ढिलो बिहे भयो । २०२७ सालमा त मेरो जन्म भयो भनेर अनीषले बताए । रगतमा राजनीतिको रंग भए पनि कलाकारितामा अनीष यसरी तानिए कि थाहै भएन । कसरी उनी निर्देशकसम्म बने भनेर आज पनि अचम्म मान्छन् । विराटनगरको जलजला हलमा "सुन मेरी लैला" नामक हिन्दी सिनेमा चल्दा उनले आफ्नो साइकल बेचेर आठ पल्ट उक्त फिल्म हेरेका थिए ।

सिनेमाको आकर्षाले उनलाई यसरी तान्यो कि नौ वर्षो त्यो उमेरमा बर्म्बईका कलाकारलाई भेट्न बाउको पैसा डेढ सय रुपियाँ चोरेर रेल चढे । पटनामा उनी लुटिए र बीस रुपियाँ मात्र बाँकी भएपछि उनी नेपाल नै फर्किनु पर्‍यो ।

पिताजी राजनीतिमा लागेका र ठेक्कापट्टा लगायत समाज सेवामा पनि लागेको मान्छे भएको कारण थुप्रै किसिमका मान्छेहरुको घरमा आवत-जावत भइरहन्थ्यो । नेताहरुको त सधैंजस्तो भीड हुन्थ्यो । मिनी कांग्रेस कार्यालय जस्तो भइरहने घर तथा नेताहरुको संगतले उनमा पनि राजनीतिको रंग चढेको थियो । महेन्द्र मोरंग क्याम्पस पढ्दा कैयौँपल्ट उनले स्ववियु चुनाव पनि लडेका थिए । तर अनेरास्ववियूसँग उनको कडा प्रतिस्पर्धा हुने हुनाले उनी कलेज राजनीतिमा सधैँ पछारिन्थे ।

राजनीतिमा हार नै सिनेमामा रुचि बढाउन थाल्यो । यदि उनी त्यसबेला स्ववियू चुनावमा जितेका हुन्थे भने आज कांग्रेसको राम्रै नेतामा गनिन सक्थे । तर उनको दिमागमा अरु नै थियो । त्यसैबेला विराटनगरमा नेपाली चलचित्र पिरतीको शुटिङ हुँदै थियो । गौरी मल्ल, नवीना केसीलगायतका चालु स्टारहरुको जमघटले त्यहाँ रमझम थियो । उनी क्याम्पसका हिरो थिए । केटीहरु अघिपछि लाग्थे ।

त्यो बेलामा शुटिङ हेर्न जाँदा भीडबाटै पिरतीका निर्देशक चन्द्रप्रकाश घिमिरेले हिन्दीमा बोल्दै भने- "आप आइए- फिल्म खेलिए ।" उनी हुलमुलको पासिङ सीनमा देखिए । लामै रोल पाइएला भनेर दिनदिनै पिरतीको शुटिङ हेर्न जाने गर्दथे । तर, कसैले पनि उनिमाथि ध्यान दिएन ।

सोही समयमा उनको आँखा भारतीय अंग्रेजी पत्रिका स्क्रीनमा कलाकारको आवश्यकता सम्बन्धी विज्ञापन पढे । त्यही विज्ञापनअनुसार दर्खास्त पनि दिए । सेलेक्ट भएको चिठ्ठी पनि आयो । त्यो दिन नै उनको लागि ज्यादै खुशीको क्षण बन्यो । हिरो बन्न बाउको कोटको खल्तीबाट एक हजार चोर्दा पनि पैसा नपुग्ला भनेर नाडीको डोल्मा घडी बेचेर बर्म्बई पसे । त्यसरी दुःख गरेर बर्म्बईको त्यो ठेगानामा उनी पुगे जुन ठेगाना पत्रिकाले छापेको थियो तर त्यहाँ पुगेपछि उनी खङ्ग्रङ्ग भए । त्यो फिल्म प्रोड्युसरले त उनलाई- "छोकडी भी मिलाओ, तीस हजार पैसे भी लाओ-आप हिरो जरुर हो जाओगे ।"

हिरो बन्न गएको छोरो भावनात्मक रुपमा लुटिएपछि घर जाने हिम्मत पलाएन । त्यहाँबाट फनक्क फर्केर सीधै काठमाडौं आए । मध्यरातमा न्यूरोडस्थित साथीको डेरामा पुगे । टेन्सनमै रात कट्दै थियो । त्यति नै बेला काठमाडौंमा कोलाहल मच्चियो । सबै दगुरा-दगुर गरे । महाभूकम्प गएको रहेछ । त्यो दिन थियो २०४५ साल भदौ ५ गते । चलचित्रकर्मी शैलेस आचार्य उनको मामाको छोरीको श्रीमान् भएकोले आचार्यमार्फ नेपाली चलचिकर्मीहरुलाई भेट्ने तथा परिचय गर्ने अवसर उनले पाए । सरोज खनाल, भुवन के.सी., नारायण पुरी, सुनील पोखरेललगायतका नामी हस्तीहरुसँग भेट भयो । उनी दङ्ग थिए त्यो दिन पनि ।

बर्म्बईमा हिरो बन्न जाँदा त्यसरी धोका खाएर फर्केको मान्छे भएकोले हिरो बन्ने जरो नै हट्यो । राज कपुर, बी.एस. चोपडा, गुरुदत्त, सुभाष र्घइजस्ता निर्देशकको क्रेजका कारण उनलाई निर्देशक बन्ने रहर जाग्यो । २०४५ साल फाल्गुण ७ गते फेरि बर्म्बई हानिए उनी । निर्देशन कार्य सिक्न ठूल-ठूला व्यानर खोज्न थाले । कहींकतै प्रवेश पाउन उनले सकेनन् । गुजाराका लागि होटलमा जागिरे भएर काम गर्न थाले । को-स्टारहरुको हुलमुलमा उनले नटराज स्टुडियो छिर्ने मौका पाए । उक्त स्टुडियोमा एकसे एक ठूला फिल्म प्रोडयुसरहरुको अफिस देखे । उनले मन थाम्न सकेनन् ।

उनले धेरै फिल्म व्यानरको अफिसमा जान खोज्दा कसैले पनि पस्न दिएनन् । उनको कुरोलाई पूरै बेवास्ता गरिदिए । तर उनले हार खाएका भने थिएनन् । विधु विनोद चोपडाको अफिसमा पुग्दा भने, नेपाली भएको कारण राम्रै "रेस्पोन्स" भयो । विधु-विनोद चोपडाले उनको निर्देशक बन्ने चाहना सुनेपछि आफ्नो चेलो बनाउन तयार भए । चोपडाद्वारा निर्माण गर्न लागेको परिन्दामा उनलाई सहायक निर्देशक नै बनाइयो । परिन्दा ग्रुपमा नेपाली क्यामेरामेन विनोद प्रधानलगायत पिरतीका निर्देशक चन्द्रप्रकाश घिमिरे पनि काम गर्दै गरेको पाउँदा उनी झनै रमाए । आधाजसो टेक्निसियनहरु नेपाली नै हुँदा उनलाई काम गर्न र सिक्न सजिलो भयो ।

परिन्दापछि मजिहर खानको ग्याङ्ग, देवल देको चन्द्रमुखी, दीपक पवारको प्लेटर्फम, नवेन्द्र घोषको द व्लाइन्ड वीटनेस, धर्मेश दर्शनको लुटेरे, विधुविनोद चोपडाकै १९४२ ए-लव स्टोरीलगायतका फिल्महरुमा सहायक निर्देशनको अलावा केही म्युजिक भिडियो निर्देशन गरेर त्यहाँ पूर्ण बन्दै थिए । त्यति नै बेला बर्म्बईमा नेपालबाट गीत रेकर्ड गर्न गइरहने संगीतकार शम्भुजीत बासकोटाले बारम्बार नेपाल फर्कन सम्झाई रहे । बासकोटाले नै नेपाल ल्याएर उनकै चलचित्र जालीरुमालमा पहिलोपल्ट निर्देशनमा ब्रेक दिए । बासकोटाकै कारण उनी नेपाल फर्केका थिए ।

जाली-रुमालपछि आघात, सुपरस्टार र मितिनी नामक चलचित्रहरु उनले निर्देशन गरे । वर्षा एउटै भए पनि नेपाली फिल्म इन्डष्ट्रीमा क्वालिटी फिल्म दिने उद्देश्यले आफ्नै ब्यानरमा चलचित्र "के भो लौन नि" बनाए । तर यो चलचित्र यति फ्लप भयो कि उनी अहिले सिनेमा उद्योगबाट नै टाढिनु पर्‍यो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Related Tags:
निर्देशक क्या बात ! रोमान्स पार्टी रोचक ग्ल्यामर घोषणा नवीनता फिल्म फेस्टिबल कन्ट्रोभर्सी सेक्स कार्यक्रम सोच सञ्चारकर्मी अभिनेता पेज 3 अभिनेत्री प्रविधि
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,