Home» Cinema »Feature

डिजिटल सिनेमाका पक्ष र विपक्ष

मनोरञ्जनको अर्थ अब परिवर्तन हुने दाबी नेपाली चलचित्र उद्योगमा भइरहेको छ । डिजिटल सिनेमा नेपाल प्रा.लि.ले नेपाली दुइ चलचित्रलाई टेलिसिने गरी सिनेमा भवनमा गएको तीन साताअघि सफल परीक्षण प्रदर्शन गरेपछि यो दाबी गरिएको हो । नेपाली चलचित्रको देशभर व्यापक प्रदर्शन एकै पटक सम्भव हुनसक्ने यो प्रविधि यसअघि भारतमा समेत सफल भइसकेको छ । भारतमा यो प्रविधिलाई युएफओ मुभिज्ले लोकप्रिय बनाइरहेको छ ।

रिलमा वा डिजिटल प्रविधिमा खिचिएका सिनेमालाई स्याटेलाइटको माध्यमबाट एक साथ विभिन्न सिनेमा हलमा डिजिटल प्रविधिमार्फत् प्रदर्शन गर्न भारतको युएफओ मुभिज्ले सिंगापुरस्थित जीडीटुएल सिनेमासँग सम्झौता गरेपछि अहिले भारतमै पनि यस्ता हलको संख्या ६ सय माथि उक्लिसकेको छ । यही विधिबाट भारतमा यश चोपडा, विधुविनोद चोपडा, राकेश रोशन, विपुल शाह, साजीद नाडियावाला तथा रितेश सिधवानीले आफ्ना चर्चित चलचित्रहरु प्रदर्शन गरिसकेका छन् । राकेश रोशनको 'क्रिस' एक साथ १०४ वटा सिनेमा हलमा डिजिटल विधिबाटै रिलिज गरिएको थियो, जसको व्यापार उत्साहजनक रहेको थियो ।

नेपाली सिनेमा उद्योगलाई कसरी फाइदा पुग्छ त ? अहिले नेपाली चलचित्र उद्योगमा यो प्रविधिको सफल प्रदर्शनपछि निर्माता तथा वितरकहरुको चासो बढिरहेको छ । नेपाली सिनेमाहरु पहिलो पटक रिलिज हुँदा मात्र पाँच वटा प्रिन्टबाट देशका प्रमुख शहरहरुबाट रिलिज हुने गर्दछन् । अझ काठमाडौँमा रिलिज गर्नुपर्‍यो भने काठमाडौँबाहिरका दर्शकले नेपाली सिनेमा हेर्न महिनौँ कुर्नुपर्ने बाध्यता छ । त्यस्तै काठमाडौँ बाहिर रिलिज भएको सिनेमा राजधानी छिर्न पनि वर्षौँ लाग्ने गरेको छ । किनभने नेपाली सिनेमा सीमित प्रिन्टमा रिलिज हुने गर्दछन् । धेरै प्रिन्टमा रिलिज गर्न लगानीको अभाव छ । धेरै प्रिन्ट बनाउँदा पनि लाग्ने लगानी उठ्ने सम्भावना कम रहेको छ । यस्तो अवस्थाबाट मुक्त हुन डिजिटल विधि निकै उपयोगी हुनसक्ने तर्क यसका पक्षधरहरुको छ ।

डिजिटल सिनेमा प्रदर्शनका लागि जुन सामग्री चाहिन्छन्, तिनको मूल्य नेपाली बजार सुहाउँदो भएकाले यसप्रति नेपाली सिनेमा प्रदर्शकहरुको सकारात्मक चासो रहेको डिजिटल सिनेमा नेपाल प्रा.लि.का भाष्कर ढुङ्गाना बताउँछन् । प्रदर्शन र ध्वनिको स्तर निकै उच्च भएकाले र नेपाली सिनेमाको एकै पटकमा फराकिलो प्रदर्शन (वाइड रिलिज) सम्भव भएकाले यो विधिले नेपाली चलचित्र उद्योगको आम्दानी बढाउने ढुङ्गानाको दाबी छ । नेपाली डायस्पोरामा पनि युएफओले आफ्नो प्रदर्शन प्रणाली जडान गरेकाले बजार खोजे त्यहाँ पनि नेपाली सिनेमाको सम्भावना प्रशस्त रहेको उनको धारणा छ ।

धेरै प्रदर्शकहरुले आफ्नो सिनेमा हललाई पूरै परिवर्तन गर्नुपर्ने र अघिल्लो लगानी नउठिरहेको बेला फेरि अर्को आर्थिक भार थपिने आशंका गरेका छन् । तर यो आशंका तथ्यगत नभएको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष अशोक शर्माको धारणा छ । यो विधि तुलनात्मक रुपमा उति महङ्गो नभएको पनि उनको तर्क छ ।

यो प्रविधिलाई १० देखि १२ लाख नेपाली रुपियाँमा जोड्न सकिने बताइएको छ भने हरेक हलमा सिनेमा प्रदर्शन गर्दा युएफओलाई प्रति प्रदर्शन बढीमा भारु. २२५ रोयल्टी तिर्नु पर्नेछ । तर महिनामा ८८ पटक कुनै पनि सिनेमा कुनै पनि हलमा प्रदर्शन भए युएफओलाई भारु. ६६० मात्र तिर्नुपर्नेछ । यो उसको सेवा शुल्क हो । यो सेवा शुल्क उसको सर्भर प्रयोग गरी सिनेमा प्रदर्शन गरेबापत लिने गर्दछ ।

डिजिटल सिनेमामा अध्ययन गरिरहेका सुदीप श्रेष्ठ चाहिँ युएफओ मुभिजले प्रयोग गरिरहेको प्रदर्शन विधि डिजिटल सिनेमा इनिसिएटिभ (डीसीआई) को विशिष्टीकरण अन्तर्गत नपर्ने, यो प्रदर्शनविधि 'अल्ट्रा बिग स्क्रीन टीभी' जस्तो भएकाले घरमा ठूलो स्क्रीनमा टीभी हेरेजस्तो अनुभूत गराउने आदि कमजोरी हुने दाबी गर्छन् । तापनि यो विधिले भविष्यमा स्तरीय सिनेमा प्रदर्शनको सानो ढोका खुलेको र यो विधिले आम्दानी गराएको खण्डमा भविष्यमा नेपालमा टुके वा फोके मापदण्डको प्रदर्शन स्तरीयता थपिने उनको विश्वास छ । उनको भनाइ छ- "अहिले नेपालमा जुन प्रविधि भित्र्याइँदैछ, त्यो विदेशतिर टेलिभिजनमा उपयोग भइरहेको छ । तर पनि यो प्रविधिले अहिलेको नेपाली सिनेमाभन्दा राम्रो स्तरको ध्वनि र दृश्य उपलब्ध गराउनेछ ।"

यस्तै अन्य केही आलोचकहरु चाहिँ डिजिटल हलको बढोत्तरीले नेपाली चलचित्रको भएको बजार पनि चौपट पार्ने आशंका गरिरहेका छन् । स्वयम् नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष शैलेश आचार्य पनि डिजिटल सिनेमाको प्रदर्शनप्रति उति ढुक्क छैनन् । "यो विधिले भएको नेपाली चलचित्रको बजार पनि चौपट पार्न सक्छ र यो विधि विदेशी चलचित्र चल्ने भाँडो मात्र साबित हुनसक्छ । यदि त्यस्तो भयो भने हामीले आफ्नै गोडामा बञ्चरो हानेको नहोला र !" दरबार होटलमा समयसँगको भेटमा  उनको आशंका थियो ।

"नेपाली सिनेमाका आफ्नै किसिमका दर्शक छन् । राजधानीमा हेर्नुभयो भने यहाँ अंग्रेजी सिनेमाका दर्शक पनि छन्, हिन्दीका पनि र नेपालीका पनि", डिजिटल सिनेमा नेपालका भाष्कर ढुङ्गाना भन्छन्- "वर्षौँ भयो, नेपाली सिनेमाका दर्शक घटेका छैनन् । हर्ेर्नेले हेरिरहेकै छन् । हिन्दी र अंग्रेजीको चपेटामा नेपाली चलचित्र परेको भए त आज नेपाली सिनेमा उद्योग नै बन्द भइसक्नु पर्ने हो । बरु डिजिटल प्रविधिले नेपाली सिनेमाको पहुँच एकै पटक धेरै ठाउँमा पुग्छ, त्यहाँबाट आम्दानी पनि एकै पटक उठ्छ । यो आम्दानीले सिनेमाको स्तर पनि बढाउन सक्छ । स्तर बढेको खण्डमा नेपालीले नेपाली सिनेमा नै हर्ेन रुचाउँछन् । नेपाली मात्र किन विदेशीले पनि स्तरीय सिनेमा हर्ेन रुचाउँछन् । यही विधिबाट अंग्रेजी र हिन्दी सिनेमा पनि चल्छन् तर ती सिनेमाबाट उठेको रकमले नेपाली सिनेमाप्रति रुचि जगाउने, नेपाली सिनेमाको उत्थान गर्ने आदि काम पनि सँगै गर्नुपर्छ ।"

डिजिटल सिनेमाको प्रदर्शनपछि पारम्परिक वितरक तथा निर्मातालाई घाटा हुन्छ भनी केही व्यक्तिहरु डिजिटल सिनेमाका विरुद्धमा लागिरहेको पनि केहीको आरोप छ । तर ढुङ्गाना भन्छन्- "यसले सबैभन्दा बढी नाफा निर्माता र वितरकलाई गराउने छ । हिजोसम्म निर्माता आफैँले देशका पाँच वटा स्थानमा कार्यालय खोलेर आफैँ सिनेमाको वितरक बन्थे । तर देशभरि नै सिनेमा रिलिज हुने वातावरण बनेपछि जिम्मेवार वितरकहरुको आवश्यकता बढेर आउँछ । निर्माता आफैँले देशभर चलचित्र वितरण गर्न सक्तैन । त्यसैले नयाँ प्रविधिले भएको गाँस नै खोस्ने भयो भन्ने आशंका निराधार हो ।"

हालै नारायणघाट र विराटनगरमा डिजिटल सिनेमाको प्रदर्शन विधि प्रचार गरी फर्किएका ढुङ्गानाले यो विधिमा रुचि राख्नेको संख्या राम्रो रहेको बताएका छन् । बरु यो विधि सफल भयो भने गाउँ-गाउँमा बन्द भएका सिनेमा हल पुनः खुल्न सक्ने यसका पक्षधरहरुको आशा छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
प्रविधि अभिनेता सेलेब्रिटी समारोह रिलिज सेक्स सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,