Home» City Life »Updates

गणतन्त्र नआउने ज्योतिषीको दाबी

- दिनेश कार्की

ज्योतिष ओजराज लोहनी नेपालका वाकसिद्ध ज्योतिषहरुमध्ये एक मानिनुहुन्छ । उहाँको गौरिघाटस्थित निवासमा आफ्नो भविष्य जान्न चाहनेहरुको भीड लाग्ने गर्छ । र, त्यो भीडमा पर्ने गर्छन्- शासन सत्ताका जिम्मेवार मानिसहरु, विभिन्न दलका नेताहरु, व्यापारी। बुद्धिजिवी अनि सर्वसाधारणहरु । नेपालका महत्वपूर्ण विषयहरुमा ज्योतिष लोहनीले गरेका भविष्यवाणीहरु सत्य सावित भएका छन् । दरबार हत्याकाण्डको बारेमा पनि लोहनीले भविष्यवाणी गर्नुभएको थियो र त्यो पछि सत्यसाबित भएको थियो । स्त्री र पुरुषको कलहले गर्दा देशले दुर्गति भोग्नु पर्छ भनेर दरबार हत्याकाण्डको केही महिनाअघि लोहनीले कान्तिपुर दैनिकमै लेख्नुभएको थियो । उहाँ भन्नुहुन्छ- 'तर त्यतिबेला त्यो कुरालाई गम्भीरतापूर्वक नलिइएका कारण त्यत्रो दुर्घटना भयो । यदि ज्यातिषीय उपचार गरिएको भए टर्न सक्थ्यो ।' ज्योतिष उपचारक नभै घट्ने घटनाहरुलाई देखाइदिने ऐना भएको र वैदिक तरिकाअनुसार उपचार गराइयो भने अनिष्टहरु कम हुने र टार्न सकिने ओजराज लोहनीको दाबी रहेको छ । शासन सत्तामा बस्नेदेखि लिएर सामान्यभन्दा सामान्य मानिसहरु पनि आफ्नो भविष्य जान्न उत्सुक भएको र सबैले जीवनको कुनै न कुनै मोडमा वा नियमित रुपमा ज्योतिषको सल्लाह मान्ने गरेको ज्योतिष ओजराजको भनाइ छ । उहाँ भन्नुहुन्छ- 'तर मानिसहरु ज्योतिषको सहारा लिएको भन्न लजाउँछन् ।' आफूले राष्ट्रलाई के दिन सक्छुभन्दा पनि आफ्नो निहित स्वार्थ र उन्नति प्रगति हुन्छ हुँदैन भन्ने जिज्ञासा लिएर ९० प्रतिशतभन्दा बढी मानिस आउने गरेको उहाँको अनुभव छ । उहाँ थप्नुहुन्छ-'आम नागरिकहरु आफ्नो देशप्रति त्यति चिन्तित छैनन् ।'

कान्तिपुर पब्लिकेशन र कान्तिपुर टेलिभिजनबाट विगत एक दशकभन्दा अघिदेखि उहाँ राशिफल भन्ने र देशका विभिन्न कौतुहलपूर्ण विषयहरुमा भविष्यवाणीहरु गरेर चर्चित रहँदै आउनुभएको छ । शाही शासनकालमा पनि ज्योतिष लोहनीले राजाको शासन जसरी भए पनि ढल्ने र लोकतान्त्रिक शक्तिको विजय हुने भविष्यवाणी गरेर तत्कालीन शाही सत्ताको आँखाको तारो बन्नुभएको थियो । इनशाडटकमसंगको कुराकानीमा पनि ज्योतिष लोहनीले राजा, कांग्रेस एकीकरण, प्रधानमन्त्रीको स्वास्थ्य, संविधानसभा, दरबारहत्याकाण्ड अनि अर्थव्यवस्थाका बारेमा भविष्यवाणीहरु गर्नुभएको छ । प्रस्तुत छ देशका विविध विषयवस्तुहरुबारे ज्योतिषिय दृष्टिकोणमा आधारित ओजराज लोहनीको रोचक भविष्यवाणी ।

यस वर्ष सिंह लग्न परेको छ । सप्तम भावमा मंगल, दशम भावमा शुक्र, भाग्य भावमा राशी लग्न स्वामी उच्च भएर बसेको छ । ग्रहस्थिति प्रतिकूल भएपनि देशको भाविष्य राम्रो छैन भन्ने चाहिं होइन । ग्रहस्थिति अनुसार ठूलै संकट देश र जनताले भोग्नुपर्ने देखिन्छ । ज्योतिषीय दृष्टिले हेर्दा ग्रहस्थिति अफ्ठ्यारा छन् तर नराम्रा छैनन् । लोकतन्त्र, जनाधिकार र राष्ट्रिय अखण्डतामा भने कत्ति पनि आँच आउने छैन । २०६४ सालले मुलुकलाई एउटा गति दिनेछ, जुन दीर्घकालीन प्रकृतिको हुनेछ । 

राजा कमजोर छैनन्
राजनीतिभन्दा एकदम पृथक बसेर नितान्तरुपमा ज्योतिषीय दृष्टिकोणबाट भन्नुपर्दा राजसंस्था २०६४ सालमा कमजोर देख्दिनँ । २०६४ सालभित्र राजसंस्था अन्त्य हुन्छ भन्ने कुरामा ग्रहस्थितिले विश्वास गर्दैनन् । यस सालले देशको इतिहासलाई मनन् गर्छ र भविष्यका रेखा कोर्नेछ । सूदुर भविष्यकै कुरा गर्ने हो भने पनि राजसंस्था कमजोर होला तर म अन्त्य हुने देख्दिनँ ।

ज्योतिषीय दृष्टिकोणबाट हेर्दा नेपालमा न गणतन्त्रको अवस्था सम्भव छ न सक्रिय राजतन्त्रको अवस्था नै सम्भव छ ।

कांग्रेस एकीकरण भएरै छाड्छ
अहिले २०६४ सालको अवस्था के छ भने यो वर्षा निर्माण भएका अवस्था अनुसार नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक मात्र होइन सम्पूर्ण प्रजातान्त्रिक शक्ति नै एउटै विन्दुमा उभिने अवस्था छ । उनीहरु जसरी पनि मिल्छन् । चतुर्थस्थानमा बसेको वृहस्पति दशम् स्थानमा बसेको शुक्रलाई पूर्ण दृष्टिले हेरिरहेको छ र शुक्र आफ्ना घरमा बसिरहेको छ । शुक्र राज्यस्थानमा आफ्नो घरमा बस्नु भनेको राष्ट्रको अखण्डतालाई निरन्तरता दिनु भन्ने मान्यता हो । त्यही मान्यता अनुसार शुक्र आफैं पनि लोकतान्त्रिक ग्रह हो । ज्ञान र विज्ञानलाई सम्मिश्रण गराउने, समान विचार भएका विभिन्न व्यक्तिहरुका समूहलाई पनि एउटै ठाउँमा उभ्याउने स्थिति यस वर्षको ग्रहस्थितिले ल्याउँछ ।

प्रधानमन्त्रीको खराब छ
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थिति साउन महिनासम्म निकै खराब देख्दछु । उहाँको ग्रहस्थिति पोहोर साउनमा पनि खराब थियो । ज्योतिषीय दृष्टिकोणबाट भन्नु पर्दा अतिरिक्त समयमा अर्थात् समयभन्दा बाहिर पनि नवीन समय निर्माण गरेर बसिरहनुभएका व्यक्ति गिरिजाप्रसाद कोइराला हुनुहुन्छ । कुनै राम्रो इतिहासको निर्माणका लागि कोही व्यक्तित्वले दैवी शक्तिका कारण अतिरिक्त समय निर्माण गरेर बसिरहेका पनि हुनसक्छन् ।

संविधानसभाको चुनावमा बिलम्ब
जेठमा संविधानसभाको चुनाव हुँदैन भन्ने कुरा मैले पहिल्यै भनेको थिएँ । ज्योतिषीय दृष्टिकोणबाट मलाई कात्तिक-मंसीरमा पनि चुनाव हुन्छ भन्ने कुरामा विश्वास छैन । संविधानसभा होस् या नहोस् २०६४ सालमा देशले एउटा गति निर्धारण गर्नेछ । र, २०६४ सालको अन्तिमसम्ममा वा २०६५ सालको शुरुवातमा हुनसक्छ संविधानसभा । संविधानसभाको चुनाव भएरै छोड्छ तर कात्तिक-मंसीरमा हुन्छ भन्ने कुरा निश्चित छैन भनी ग्रहस्थितिले भन्छ ।

राष्ट्रिय अखण्डता कायमै रहनेछ
अहिले राजनीतिक कारणहरुबाट देशमा विखण्डनको त्रास देखिए पनि ज्योतिषीय र आध्यात्मिक दृष्टिकोणबाट देश विखण्डन हुन्छ भन्ने कुरामा रत्तिभर पनि मलाई विश्वास छैन । नेपालको अखण्डता कायमै रहन्छ । नेपालको अखण्डताका शत्रुहरु सदाका लागि परास्त हुनसक्छन् । नेपालको अखण्डता कायम राख्ने कुरामा रक्तपात हुनसक्ला, जनताले दुःख पाउने स्थिति आउला तर नेपाल टुक्रिन सक्दैन ।

माओवादी जनयुद्ध भन्दा पनि ठूलो विद्रोह हुनसक्छ । तर त्यो विद्रोह कुनै एउटा गुट अथवा एउटा पार्टीको मात्र नभएर केवल देशको लागि हुनसक्ने विद्रोह हो । यदि नेतृत्व वर्गले बाटो विराएको खण्डमा त्यो विद्रोहले ठूलै क्षति पुर्याएर देशको एउटा गति निर्धारण गर्नसक्छ । तर नेतृत्व वर्ग संयमतापूर्वक अघि बढेमा क्षतिबिना पनि देश अघि बढ्छ ।

दरबार हत्याकाण्डको रहस्य खुल्दैन
दरबार हत्याकाण्ड घट्नुअघि मैले महिला र पुरुषको कलहले उन्माद चढेर दरबारमा दुखद घटना घट्नेछ भन्ने भविष्यवाणी गरेको थिएँ, जुन २०५७ जेठ १५ मा कान्तिपुरमा छापिएको छ । ज्योतिषीय दृष्टिकोणबाट भन्नुपर्दा त्यो घटना कहिले खुल्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । उक्त दुखद् घटनाका बारेमा जे भनियो इतिहासमा त्यही नै कायम हुनेछ ।

अर्थव्यवस्था
यो वर्ष नेपालको अर्थ व्यवस्था अत्यन्तै दयनीय रहन्छ । नेपाली जनताले ठूलै पीडा भोग्नुपर्छ । तर यो पीडा भनेको खुसी प्राप्तिका लागि भोग्नुपर्ने पीडा जत्तिकै हो । देशद्रोहीहरु सदाका लागि बिदा हुनेछन् । दक्षिणतिरको छिमेकी देश भारतको सहयोग सकारात्मक नरहेपनि अन्य मित्रराष्ट्रहरुको सहयोग सकारात्मक रहन्छ । पश्चिमी मुलुकहरुको सहयोग सकारात्मक रहन्छन् । 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
crisis समलिङगी मोबाईल सेलेब्रिटी हल्ला माओवादी पेट्रोल awards संविधानसभा celebrity अनुभव streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,