दक्षिण-पूर्वी चीनका एक व्यक्तिले गएको ४० वर्ष यता लगातार भ्यागुता र मुसालाई जिउँदै आफ्नो आहारा बनाइरहेको र ती आहाराले आफ्नो पाचन प्रणालीलाई दुरुस्त बनाई आफूलाई फूर्तिलो बनाएको दाबी गरेको बेइजिङ न्यूजले जनाएको छ ।
जियाङ्सी प्रान्तका ६६ वर्षीय जिआङ मुसेङ सानादेखि नै अपाच्य रोगका शिकार थिए । २६ वर्ष उमेरको हुञ्जेल उनको पेटमा कहिले पनि शान्ति आएन । सधैँको गडबडी मच्चिरहने । त्यसपछि उनले एक जना बूढा बा याङ डिङ्काईसँग भेट गरे । ती बूढाबाले भ्यागुतालाई जिउँदै खाने सुझाए । त्यसयता उनले सधैँ भ्यागुता खाने गरेका छन् । यो अलग कुरा हो, उनको मेनुमा मुसा पनि पछिल्लो समयमा बढेको छ ।
"शुरुमा त जिआङ मुसेङले जिउँदै उफ्रिरहेको भ्यागुतालाई खाने आँट गर्नै सकेनन् तर जब याङ डिङ्काईले आफूले पनि त्यस्तै गरेर देखाए त्यसपछि उनले खाए । त्यसपछि त एकै पटकमा मुसेङले दुइ वटा भ्यागुतालाई चपाइदिए", पत्रिकाले लेखेको छ ।
लामो समयसम्म भ्यागुतालाई आफ्नो नियमित आहारा बनाइसकेपछि उनको पेट दुखाई पनि बन्द भयो र खोकीको समस्या पनि छुः मन्तर भयो ।
अहिले उनले आफ्नो मेनुमा मुसा थपेको चाहिँ मात्र एक वर्ष हुन लाग्यो । साना खाले मुसा, हरियो भ्यागुता उनको दैनिक खानाको सूचिमा पर्छन् । त्यसो त उनलाई मुसा यति मन पर्छ कि एक दिन त २० वटासम्म चपाचप चपाइदिए ।