कुकुर बिरालोको झगडा अघि बढ्यो

कुकुर बिरालो ? नाम सुन्दैमा झगडालु दुइ किसिमका प्राणी बुझ्नु भयो होला ! सही बुझ्नु भयो । अहिले बजारमा यही नामको गीति एल्बम आएको छ । जसमा लोकगीति उद्योगमा भएको विकृतिलाई नाङ्गेझार पारिएको छ । कतिसम्म भने लोकगायकहरु हली (नोकर) भन्दा गएगुज्रेका हुन्छन् देखि लिएर दोहोरी संरक्षणका लागि खोलिएका संस्थाको नाममा ठगी बढेको, संरक्षक नै चोर भएको, लोकगायकहरु विकृतिका सम्वाहक भएका आदि आरोप गीतमार्फत् लगाइएको छ ।
लोकगीति उद्योगमा भएका विकृतिहरु सबै खोतलिएका कारण केही व्यक्तिहरुलाई पर्नु पीर परेको छ । यो एल्बमलाई प्रतिबन्ध लगाउन लागिपरेका छन् । अदालतले पनि एल्बमका विषयमा अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि बिक्री वितरणमा रोक लगाएको छ ।
यता अदालतले यस्तो आदेश जारी गरेलगत्तै 'कुकुर बिरालो'का उत्पादक बाराही म्युजिकका प्रबन्ध निर्देशकले सुभाष रेग्मीले मुद्दा जितेको दाबी गर्दै कान्तिपुर दैनिक लगायत अन्य पत्रपत्रिकामा प्रचारबाजीमा लागेको पाएपछि बाध्य भएर लोकदोहोरी प्रतिष्ठान नेपालले मंगलबार एक पत्रकार सम्मेलनको आयोजन गर्यो । "उहाँले मुद्दा जितेको होइन, तर बजारमा जितेको हल्ला गर्दै हिँडिरहनु भएको छ", प्रतिष्ठानका अध्यक्ष दुर्गा रायमाझीले पत्रकारमाझ भने- "विभिन्न गायकगायिकाहरुलाई व्यक्तिगत आक्षेप लगाउने शब्दहरु घुसाएर यदि कसैले एल्बम निकाल्छ भने त्यो व्यक्तिगत मानहानी अन्तर्गत पर्छ कि पर्दैन ? यदि पर्छ भने त्यो एल्बम समाजका लागि घातक हो, व्यक्तिको मानहानी हो, त्यसको क्षतिपूर्ति दिइनु पर्छ ।"
एल्बममा गायकहरु बद्री पँगेनी, रेशम सापकोटा, राजु परियार, गायिकाहरु विष्णु माझी, बिमाकुमारी दुरालगायत विभिन्न दोहोरी रेष्टुराँ, विभिन्न संघसंस्थाका व्यक्तिहरु, एल्बम निर्माता, सङ्गीत कम्पनीहरु कसैका बारेमा पनि कुरा काट्न बाँकी नराखिएको पत्रकार सम्मेलनमा दाबी गरिएको थियो ।
यो एल्बम बजारमा आएपछि यसको बिक्री हृवात्तै बढेको र यसअघि निस्किएका एल्बमहरुको बिक्रीमा असर गरेपछि विभिन्न म्युजिक कम्पनी र विभिन्न संघसंस्थाका ठेकेदारहरुले यस एल्बमको विरोध शुरु गरेको बाराही म्युजिकका सुभाष रेग्मीले इनशाडटकमसँग बताएका छन् ।
"यदि यो एल्बमले कोही व्यक्तिको मानहानी गरेको भए गाली बेइजती गरेको भए मानीहानी र गालीबेइज्जती मुद्दा हालेर एउटा कानूनी लडाइँ लड्न सक्नु पर्दथ्यो । म दोषी भए कानूनअनुसार दण्डित हुन सक्छु तर गायकगायिकाहरु आएर मेरै कम्पनीमा तोडफोड गर्ने र उल्टै मलाई सार्वजनिक मुद्दा हाल्ने काम गरेपछि म चूप लागेर बस्न सकिनँ", सुभाषले अज्ञात स्थलबाट इनशाडटकमसँग फोनमा बात मार्दै भने ।
सुभाष अहिले प्रहरीले खोजी गरिएका व्यक्ति हुन् । यही एल्बमको विवाद बढ्दै गएपछि उनलाई कम्पनी तथा कलाकारहरुको दवावमा पक्राउ पूर्जी जारी गरिएको छ ।
सुभाष भन्छन्- "यो केही होइन, मात्र सङ्गीत उद्योगका केही ठूलाबढाको राजनीति हो ।" |