तनहुँको ब्यास नगरपालिका १ गल्बुबेशीस्थित जंगलमा रहेका तीनवटा रुखबाट लगातार पानी बर्षिन थालेपछि यस क्षेत्रका बासिन्दाहरु आश्चर्यमा परेका छन् । पान्चायन मन्दिरको छेउमा रहेको रुखबाट शनिबार बिहान ८ बजेदेखि पानी पर्न थालेपछि रुखको दर्शन गर्न जानेहरुको ठूलो घुइँचो लागेको छ । आकाशमा बादलको नामोनिशान नै नभएको समयमा अचम्मलाग्दो गरी मन्दिरअगाडि रहेका दबदबेको रुखबाट पानी बर्षिन थालेको हो ।
स्थानीयबासी खेमराज अधिकारीले यस्तो घटना आफूहरुले पहिलो पटक देखेको बताए । मन्दिर नजिकैको रुख भएकोले दैवी शक्तिको प्रभाव भन्दै भक्तजनहरुको घुइँचो लागेको छ । दर्शनार्थीले रुखमा चढाएको भेटी, फलफूल र अक्षता मन्दिरमा लगेर राखिएको छ ।
दर्शनार्थीहरुले धमाधम पानी संकलन गरेर प्रसाद भन्दै आफ्नो घर लगेका छन् । आफ्नो रक्षा र कल्याण हुने विश्वासमा उक्त रुखको बर्षामा नुहाउनेको पनि कमि थिएन ।
यता दमौली परासर कलेजका विज्ञान शिक्षक शिवराज बरालले बिरुवाहरुले कहिलेकाही पानी फाल्नु नियमित प्रक्रिया भएकोले अचम्म मान्नुपर्ने कुरा नभएको टिप्पणी गर्नुभएको छ । उहाँले गर्मीको समयमा सोसिएको पानी बढी भएमा रुखको माथिल्लो भागबाट पानी फाल्न सक्ने नियमित प्रक्रिया भएको बताउनुभएको अनलाईनखबरडटकमले आफ्नो समाचारमा जनाएको छ ।
यति हुँदाहुँदै पनि राजदरबार हत्याकाण्ड भएको ६ वर्ष पुगेको दिन बिहानै जेठ 19 मा यसरी रुखले पानी वर्षाएको दृश्यलाई गाउँघरका व्यक्तिहरुले उति सहजसँग विज्ञानको तर्कलाई मान्ने छाँट देखिएको छैन ।