Home» Cinema »Feature

जे भो राम्रै भो

नेपाली चलचित्रको आकर्षण कस्तो छ भन्ने कुराको उदाहरण हेर्न नेपाली चलचित्रमा स्थापित केही नाम हेर्दा स्पष्ट हुन्छ । राजेश हमाललाई नेपाली चलचित्रमा अभिनय गर्नु आवश्यक थिएन । उनले चाहेका भए,  यहाँभन्दा नाम र दाम अरु पेशामा नै कमाउन सक्थे । तर उनी अभिनयमा तानिए । डा. भोला रिजाललाई कसले बिर्सन सक्छ नेपाली चलचित्रको योगदानका लागि ! उनले स्थापना गरेको मानसरोवर फिल्म्स एक समय यस्ता चलचित्र निर्माण गरेको थियो, जसले सिने उद्योगलाई वास्तविक रुपमा नै नयाँ जोश र जाँगर दिएको थियो ।

यहाँ हामी त्यस्तो आकर्षणको कुरा गरिरहेका छौँ, जो आज यो उद्योगमा रहे पनि नरहे पनि एक समय आफ्नो उपस्थितिले सबैलाई प्रभाव पार्न सफल भएको थियो । तिनको विगत कस्तो थियो, तिनले चलचित्र उद्योगमा आउनुअघि कस्ता काम गरेका थिए भन्ने जिज्ञासा तपाईलाई पनि हुनसक्छ । आउनुस्, आज हामी चलचित्रसँग सम्बद्ध ती ताराहरू विगत जानौँ जो यो क्षेत्रमा आउनु अघि आफ्नो जीवनमा वास्तविक भूमिका निभाउने गर्दथे ।

चर्चित नायक शिव श्रेष्ठ यो क्षेत्रमा आउनुअघि विराटनगरका 'दादा' मानिन्थे । त्यतिबेला उनको शौख थियो- छाती र पाखुराका 'मसल' खाइलाग्दो बनाउने । यसै कारणले शिब आफ्नो पहिलो चलचित्र 'जीवनरेखा' मा खलनायक बन्ने 'मूड' मा थिए तर भाग्यको खेल हेर्नुहोस्, निर्देशक प्रकाश थापाले उनलाई देख्ने बित्तिकै नायक बनाइदिए । उनी सिन्दूरका नायक विश्व बस्नेतलाई समेत कहिलेकाहीँ कोट पठाइदिने गर्दथे ताकी आफ्ना साथीहरुमाझ विश्वले फलानो फिल्ममा मेरो कोट लगाएको छ भनेर धक्कु लगाउन सकून् ।

यस्तै अर्का सफल नायक तथा निर्माता भुवन के.सी. सिनेमाको रङ्गीन संसारमा आउनुअघि एउटा ट्राभल एजेन्सीमा काम गर्थे । त्योअघि उनी रेडियो नेपालबाट स्वर परीक्षा उत्तिर्ण गरी राम्रा गायकका रूपमा पनि सफल भइसकेका थिए भने भलिबलका उत्कृष्ट खेलाडी थिए ।

अभिनय प्रतिभाका धनी तर भाग्यले ठगिएका नायक रवीन्द्र खड्का सानै छँदा आफ्नो गाउँ घरमा नाटक देखाउने गर्दथे । वि.सं.२०३८/२०३९ सालतिर उनले महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत रहेर सरकारी जागीरको अनुभव पनि लिइसकेका छन् ।

यस्तै सरकारी जागिरको स्वाद चाख्ने चलचित्रकर्मीहरूमा निर्देशक चेतन कार्की पनि छन् । हिन्दी साहित्यका स्नातकोत्तर तथा जीव विज्ञानमा स्नातक निर्देशक कार्कीले वि.सं. २०२५ मा यो क्षेत्रमा प्रवेश गर्नुअघि केही वर्ष मत्स्य विकास अधिकृतका रूपमा सरकारी सेवाको अनुभव लिइसकेका थिए ।

चर्चित हाँस्य जोडी मदनकृष्ण र हरिवंशले पनि जागिरे जीवनको अनुभव छ । दुवै यस क्षेत्रमा आउनु अघि नेपाल राष्ट्र बैंकमा कार्यरत थिए ।

चर्चित नायिका तथा निर्मात्री करिश्मा मानन्धर आफ्नो पहिलो चलचित्र 'सन्तान' अघि काठमाडौंमा त्यतिबेला छ्यापछ्याप्ति खोलिएका गार्मेन्ट कारखानामा काम गर्थिन् । 'सन्तान' पछि हालसम्म उनी निरन्तर यसै क्षेत्रमा संलग्न छिन् ।

वरिष्ठ निर्देशक यादव खरेल रेडियोका कार्यक्रम प्रस्तोता थिए । पछि परिवार नियोजन संघका कार्यकारी निर्देशक तथा तत्कालीन शाही नेपाल चलचित्र संघका महाप्रबन्धक मात्र नभई एक समय काभ्रेबाट आम-निर्वाचनमा माननीयका लागि चुनाव लडेका थिए ।

अर्का वरिष्ठ निर्देशक स्वर्गीय प्रकाश थापा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नुअघि हिन्दी चलचित्रहरूमा अभिनय गर्थे । लगभग तीन दर्जन जनि हिन्दी लगायत अन्य भाषाका चलचित्रहरूमा अभिनय गरे पश्चात् नेपाली चलचित्रको निर्देशन जिम्मेवारी पाएका थिए । पहिलो चलचित्र तात्कालीन शाही नेपाल चलचित्र संस्थानको 'मनका बाँध' थियो ।

चलचित्र निर्देशक नारायण पुरीले विभिन्न चलचित्रको यूनिटमा सहयोगीको भूमिका निर्वाह गरेर चलचित्र निर्देशक हुनुअघि केही समय चलचित्र पत्रकारितामा पनि अनुभव हासिल गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा फौजी सेवामा रहेका व्यक्तिहरूको निकै नै संलग्नता रहेको पाइन्छ । नायक धीरेन शाक्यले यस क्षेत्रमा आउनु अघि भारतीय सेनामा काम गरेका थिए । यस्तै चर्चित कलाकार सन्तोष पन्त पहिले शाही नेपाली सेनामा कार्यरत थिए । यसैगरी केही टेलिचलचित्र तथा चलचित्रमा देखापर्ने कलाकार भीमबहादुर थापाले पनि शाही नेपाली सेनामा सेवा गरेका हुन् । यस्तै नायक अर्जुनजङ्ग शाही प्रहरी सेवामा छन् ।

खलनायकहरूमा सुनील थापा नेपाली चलचित्रमा अभिनय गर्नुअघि हिन्दी चलचित्रहरूमा अभिनय गर्दथे भने भारतीय चलचित्र उद्योगमा प्रवेश गर्नुअघि भारतीय फूटबल क्लबका राम्रा खेलाडी मानिन्थे ।

अर्का खलनायक पवन मैनाली औषधि बेच्ने गर्दथे, चलचित्र क्षेत्रमा प्रवेश गर्नु अघि । त्यस्तै नायक श्रीकृष्ण श्रेष्ठको पनि औषधि पसल नै थियो तर चलचित्रमा अभिनय थालेपश्चात् उनी पसलमा देखिएनन् ।

केही चलचित्र र टेलिभिजनमा देखापरेका नायक किरणप्रताप के.सी. व्यवसायिक रूपमा इन्जिनियर भएपछि यस क्षेत्रमा अभिनयको शौखले आएका हुन् । भनिन्छ किरणप्रताप र राजेश हमालका पारिवारिक प्रतिस्पर्धा नै यसको प्रमुख कारण हो, नातामा यी दुइ कलाकार आमा-आमाका सम्बन्धबाट दाजुभाइ हुन् । राजेश हमाल भने चलचित्रमा खेल्नुअघि भारतको नयाँदिल्लीमा र्‍याम्प मोडलिङ गरेका थिए ।

चलचित्रका निर्माता तथा गीतकार डा. भोला रिजाल डाक्टरी गर्छन् भन्ने त धेरैलाई थाहा होला तर उनी डाक्टर हुनुअघि रेडियो नेपालमा पनि गीत गाउँथे र उनका गीत निकै चर्चित थिए भन्ने कुरा धेरै कमलाई थाहा हुनसक्छ ।

यसरी समष्टिमा हेर्दा नेपाली चलचित्र क्षेत्रको आकर्षा अन्य पेशामा रहेका प्रबुद्ध वर्ग माझ पनि रहेको छ । त्यही आकर्षणका कारण आफ्नो पेशा अत्यन्त फापिलो अवस्थामा रहेकै बेलामा पनि चलचित्र निर्माण, अभिनय तथा अन्य पेशामा संलग्न हुन पाउँदा उनीहरुले गर्वको अनुभव गरेको हामी पाउँछौँ । त्यसैले त हामी भन्न सक्छौँ, जे भो राम्रै भो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
रोचक फिल्म फेस्टिबल नवीनता क्या बात ! ग्ल्यामर कन्ट्रोभर्सी निर्देशक पार्टी अभिनेता पेज 3 अभिनेत्री रोमान्स सोच सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,