पैसा उठाउन मौरीको सहयोग

क्यान्सर विरुद्ध चेतना जगाउन र यसैसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्न एक व्यक्तिले आफ्ना मौरीहरुलाई परिचालन गरेका छन् । वाह, क्या बात् ! अमेरिकन क्यान्सर सोसाइटीले इण्डियाना राज्यमा क्यान्सरबारे चेतना जगाउन आयोजन गरेको एउटा दौड कार्यक्रममा ती व्यक्तिले आफूले पालेका मौरीहरुलाई पनि यो दौडमा सामेल गराएका थिए । उनका लगभग तीन हजार बढी मौरीहरुले पनि यस म्याराथनमा भाग लिएका थिए ।
खबरअनुसार म्याराथनमा अचानक हजारौँ मौरीहरु ओइरिएपछि लगभग ४५ मिनेट कार्यक्रम अवरुद्ध हुन पुगेको थियो । तर पछि यी मौरी पनि यही म्याराथनका सहभागी हुन् भन्ने चाल पाएपछि कार्यक्रम सुचारु भएको थियो । आयोजकहरुले यी मौरीले कुनै पनि व्यक्तिलाई नटोकेको र घाइते नतुल्याएको जानकारी दिएका छन् ।
यस कार्यक्रममा ७ सय व्यक्तिहरुले भाग लिएका थिए । सीएनएनले जनाएअनुसार यी मौरीहरुले दौड शुरु गर्नुअघि कार्यक्रम स्थलको एउटा ठूलो छातामा आफ्नो अड्डा जमाएका थिए । यसरी अड्डा जमाएपछि उपस्थित व्यक्तिहरु डराएर भागम्भाग मच्चिएको थियो । तर पछि यी मौरीका मालिक म्याट ग्रीनले धुँवाको उपयोग गरेर मौरीहरुलाई शान्त गराएका थिए । यो २४ घण्टे दौडमा ६० वटा विभिन्न समूह बनाई दौडको आयोजन गरिएको थियो ।
मौरीका कारण कति पैसा उठ्यो र मौरीलाई धन्यवाद दिने कि नदिने भन्ने कुरा चाहिँ समाचारमा कहीँ उल्लेख गरिएको छैन । |