Home» Cinema »Feature

सिनेमाको अर्को किनारा



पन्ध्र वर्ष भएछ, 'फिल्म'का बारेमा चासो राख्न थालेको ! म सिनेमा खूप रुचाउँछु, यसको हरेक पक्ष मन पराउँछु । जहाँसम्म एउटा साधारण दर्शकको नजरको कुरा छ, मलाई नेपालले उत्पादन गरेको वा शुरु गरेको कुनै पनि सिने विधा थाहा छैन । भारतको नक्कलमा नेपाली सिनेमा बन्न थालेको हो भन्ने कुरामा कुनै दुविधा छैन । भारतीय चलचित्रले नेपालीलाई सिनेमाको लत लगायो, चलचित्र हेर्न रुचि जगायो, त्यसलाई प्रेम गर्न सिकायो । त्यसैले बिना कुनै मिहिनेत हामीले हिन्दी बोल्न र लेख्न सिक्यौँ । म नेपाली चलचित्र बिरलै हेर्छु । पछि बुझ्दै आउँदा मलाई घोत्लिन मन लाग्यो, साँची म नेपाली भएर नेपाली सिनेमा किन बिरलै हेर्छु हँ ?

यसको सीधा उत्तर छ । म जस्ताको त्यस्तै नक्कल उतारिएका नेपाली चलचित्र हेरेर म ती निर्देशकको खिल्ली उडाउँछु । अमिल्दा चरित्रको उठान र बिनाकारण तिनको पतन देखेर म तिनलाई गिज्याउँछु । अनि, पत्तै नपाई गरिएका तकनिकी प्रयोगले दिने नकारात्मक प्रभावलाई म कसरी सहन सक्छु ?

सन् २००४ को अगस्ट ५ मा मैले इन्स्टिच्यूट अफ टेलिभिजन, फिल्म्स् एण्ड द पर्फमङ आर्ट्समा मैले निर्माण र निर्देशन विषयमा पढ्न शुरु गरेँ । यहाँ मैले चलचित्र निर्माणका आधारबारे सिकेँ । मैले यहाँ जानेँ, सिनेमा निर्माण भनेको लगानी (फाइनान्सिङ), पूर्व-निर्माण (प्रि-प्रडक्शन), निर्माण (प्रडक्शन), निर्माणपछि (पोष्ट-प्रडक्शन), व्यापार (मार्केटिङ) तथा त्यसको विश्लेषण (रिभ्यू) गाँसिएको हुन्छ । बजारको तरिकाबद्ध अध्ययनले चलचित्रको व्यापारलाई अझ बढी राम्रो बनाउन सक्छ भन्नेसमेत मैले थाहा पाएँ ।

सिनेमाको अर्को सत्य

अहिले सिनेमामा अर्को सत्य बिस्तारै विस्तृत हुँदै आएको छ । त्यो सत्य डिजिटल सिनेमा हो । हलिउडले डिजिटल श्रव्य र दृश्यलाई निकै लोभलाग्दो गरी निर्माण गर्दै आइरहेको छ । भारतमा पनि यो निकै सफल तरिकाले प्रयोग गरिँदै आएको छ । तर सँगसँगै के छ भने हलिउड र बलिउडको बजेट आकासिँदै जान थालेको छ । नाम, काम र दामका लागि मनोरञ्जन उद्योगमा काम गर्न हत्ते गर्नेहरुको संख्या दिनदिनै बढ्दो छ । मनोरञ्जनको व्यापार विश्वकै सबैभन्दा कमाउने धन्दामध्ये गनिन थालिएको छ । तर जब हामी आफ्नो देशमा यो आँकडा सुन्छौँ, पढ्छौँ- घुटुघुटु थुक निल्न बाध्य हुन्छौँ । कारण खोतल्दै जाँदा एउटै मात्र कारण पाउन सक्छौँ- हामीले नयाँ कुरालाई कहिल्यै प्रयोग गरेनौँ, नयाँ कुरालाई प्रोत्साहन कहिल्यै गरेनौँ ।

अब समय आइसकेको छ कि हामीले संसारले रुचाउने कथानक सोच, डिजिटल सिनेमा अनि प्रशिक्षित कलाकारका बारेमा सोच्न थाल्नु पर्छ । त्यसो भए संसारले रुचाउने कथानक सोच कस्तो हो त ? कथानक जुन संसारका मान्छेले भाषा, चरित्र, शिक्षा, स्तर आदि फरक भए पनि बुझ्न सक्नेलाई संसारले रुचाउने कथानक भनिएको हो । त्यस्तै सुहाउँदिला पात्र पनि उत्तिकै महत्वपूर्ण कुरा हो ।

डिजिटल सिनेमा

डिजिटल सिनेमाले अहिले संसार हल्लाएको छ । विस्तारै कतिपय निर्माताहरु फिल्मबाट डिजिटलमा लस्किसकेका छन् । अब ठूल्ठूला स्पूलभन्दा हार्डडिस्क, डीभीडी तथा सर्वर कामलाग्ने वस्तुमा परिणत भइरहेका छन् । डिजिटलमा सिनेमा खिच्नु सजिलो मात्र नभई डिजिटल्ली सुरक्षा गरिन्छ । यसले श्रव्य तथा दृश्यमा उच्चस्तरीय प्रदर्शन क्षमता राख्दछ । जसमा 'जेनेरेशन लस' कुनै चिन्ता छैन, कम समय खर्च हुने गरेको छ ।

नेपाली सिने उद्योग

सामान्यतया वार्षिक रुपमा नेपालमा १५ देखि ३० सिनेमा निर्माण हुने गरेका छन् । नेपालमा माओवादी समस्या समाधानतिर लाग्दै गर्दा यसको संख्या थोरै बढेको होला । नेपाली सिनेमा प्रायः १६ मिलिमिटरका क्यामेराले खिच्ने गरिन्छ । यी चलचित्रलाई टेलिसिने गरेर डिजिटल विधामा सम्पादन गरिन्छन् । यस्ता चलचित्रलाई ३५ मि.मि.मा ब्लोअप गरेर प्रिन्ट बनाई प्रदर्शन गरिन्छन् । यसरी बनेका चलचित्रले दिने दृश्य तथा ध्वनि यति कमसल छन् कि तिनले हलिउड र बलिउडमा बनेका सिनेमालाई टक्कर दिन निकै गाह्रो छ । यस्तो स्थितिमा नेपाली चलचित्र उद्योगको अवस्था विश्व मानचित्रमा कहाँ छ त ? दुःखको कुरा कहीँ छैन ।

नेपाली चलचित्रको भोलिको भविष्य भनेको डिजिटल सिनेमा नै हो । पश्चिमी देशमा यो त शुरु भइसकेको छ । हलिउड डिजिटल हाइवेमा दौडिन शुरु गरिसकेको छ । ढिलोचाँडो बलिउडले पनि त्यही बाटो अँगिकार गर्नेछ । के उसो भए हामीले कहिल्यै डिजिटल सपना देखेको छ ? मलाई थाहा छ, अबका केही वर्षभित्रमा नेपाली चलचित्र उद्योगले गम्भीर संकटको सामना गर्नुपर्नेछ । जसमा लगानी नै मुख्य हुनेछ ।

अहिलेकै नेपाली चलचित्रको स्तरमा नेपाली डिजिटल सिनेमा निर्माण गर्नु ज्यादै सस्तो हुनेछ । त्यसैले अहिले नै किन यसलाई नअँगाल्ने ! स्तरीय चलचित्र निर्माण गर्न अन्तर्ररा्ष्ट्रिय समन्वय खोज्ने, अन्तर्ररा्ष्ट्रिय बजेट र बजार खोज्ने काम त अझै बाँकी नै छ ।


- सुदीप श्रेष्ठ

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
प्रविधि सोच फिल्म फेस्टिबल क्या बात ! नवीनता ग्ल्यामर कन्ट्रोभर्सी निर्देशक पार्टी अभिनेता पेज 3 रोचक रोमान्स अभिनेत्री सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,