Home» Cinema »Biography

कालो ड्रेसमा एक सर्जक
- अच्युत कोइराला



मोहन निरौलालाई धेरैजसो व्यक्तिहरुले विवादास्पद व्यक्तिको रुपमा चिन्दछन्, खासगरी उनले राजसंस्थाका बारेमा खुलेर गर्ने तर्कका लागि उनी चिनिन्छन् । हुन त उनले के गरेनन् ? कलेजताका राजनीति गरे, कवि भएर कविता गाए, भानुमोरंगको महासचिव भएर संस्कृतिकर्मी बने र त्यतिबेलै पत्रकारिता गरे । उनी अलि हुल्याहा थिए भनिहाल्न मिल्दैन तर विद्रोही स्वभावका थिए । त्यही विद्रोही स्वाभावका कारण कतिपटक कुटाइ पनि खाए तर पनि आफ्ना कुरामा उनी अझै अडिग छन् । पहिलेदेखि नै जुनसुकै क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकाले हुनसक्छ, अझै पनि उनी नेतृत्व गरिरहेका छन् । चाहे त्यो परिवर्तन नेपालजस्तो सामाजिक संस्था खोलेर होस् या चलचित्र कलाकार संघमा रहेर होस् ।

२०१५ साल चैत महिनामा संखुवासभाको डाफेममा जन्मिएका निरौलाको बालककाल दौडधूपमा बित्यो । किनभने बुवाको सरकारी अधिकृतको जागीरसँगै उनी पोखरा, काठमाडौँ, धनकुटा, पाँचथर डुलिरहनु पर्‍यो । धेरै डुलाइमा परेर होला उनको स्कूले पढाइ उति राम्रो भएन । त्यसैले उनी गान्धी डिभिजन (थर्ड) मा एसएलसी पास भए । तर घरको जेठो छोरोलाई बुवाको साइन्स नै पढाउने ठूलो धोको थियो । जनकपुरमा उनले साइन्सको बायोलजी लिएर पढ्न थाले । त्यसबेला उनका बुवा निकै पहुँचवाला भएकाले त्यो सम्भव भयो ।

२०३१ सालमा उनी त्यहाँ क्याम्पस पढ्दै गर्दा गुरुजीसँग उनको भनाभन चल्यो- किनभने त्यसबेला तराइका सबै क्षेत्रमा हिन्दीमा पढाइन्थ्यो । उनी हिन्दी विरोधी आन्दोलनमा लागे । उनको माग थियो- क्याम्पसमा हिन्दीमा नपढाइयोस् । यसै निहुँमा यति ठूलो झगडा पर्‍यो कि क्याम्पसमा हड्तालसमेत हुन पुग्यो । उनको त्यही मागका कारण उनी क्याम्पस निकालामा झन्नै परेनन् । तर पहुँचका कारण त्यसो हुन पाएन । उनको पढाइभन्दा बढी त्यस किसिमको राजनीतिमा संलग्न भएपछि उनले साइन्स पढ्ने मनशाय त्यागेर बिराटनगर आए । विराटनगरमा वाणिज्यशास्त्र (कमर्स) मा भर्ना भएर पढ्न शुरु गरे । तर त्यही वर्ष विद्यार्थी राजनीति चर्को भएकाले त्यो वर्ष त्यत्तिकै गयो ।

विराटनगरमै छँदा २०३३ सालमा केदार कोइरालाले उनलाई पत्रकारितातिर हौस्याए । त्यसपछि उनले विविध पत्रपत्रिकामा काम गरे । प्रमोद प्रधान, कृष्णभूषण बलजस्ता कविसँग पनि उनको राम्रो सम्बन्ध थियो । कविता लेख्थे । प्रारम्भ द्वैमासिक पत्रिका पनि निकाल्ने गर्दथे उनले ।

उनले विराटनगरको महेन्द्रमोरङ क्याम्पस पढ्दै गर्दा त्यहाँ विभिन्न गतिविधिमा भाग लिए । २०३५ सालमा उनले प्रगतिशीलहरुको सम्मेलनमा उधुम मच्चाएर सम्मेलन नै हुन दिएनन् । यस्ता उदण्डी थिए उनी । उनलाई क्याम्पस निकालाको आन्दोलन चर्काऎ, उनका विरोधिले, तर कुरा त्यत्तिकै सेलायो । २०३६ सालमा जनमत संग्रहमा विद्यार्थी मण्डलका व्यक्तिहरुसँग संगत बढाए । बहुदलवादीहरुको हार भएपछि उनलाई राम रिमाल भन्ने व्यक्तिले उनलाई नराम्ररी चुटे । त्यसपछि उनले सुकुम्बासीहरुलाई उचालेर आन्दोलन मच्चाए र झन्नै सुकुम्बासी आयोगका अध्यक्षको जागीर चट् पारिदिए । २०३६ सालमै उनले महेन्द्रमोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा उठे तर उनले जित्ने सवालै थिएन । यही बेला उनले एउटा महत्वपूर्ण व्यक्ति भेट्टाए, ती व्यक्ति थिए- रमेश बुढाथोकी । बुढाथोकीले निरौलालाई उचाले- दाइ नाटक खेल्नु पर्छ, बुझ्नु भो !

आफूलाई हरेक क्षेत्रमा अब्बल राख्नै पर्ने बानी भएका निरौलाले यो अवसरलाई किन छाड्थे र ! त्यसपछि सामेल भए उनी रंगकर्ममा । उनले पहिलो पटक खेलेको नाटक थियो- दुइ लाश एक चिहान । विमल पोखरेल, सन्तोष पोखरेल, रमेश बुढाथोकीसहित उनी पनि रंगमञ्चमा देखिए । दर्शकको तालीले उनलाई एउटा नयाँ बाटोतिर लोभ्यायो । उनले एउटा नाटक लेखे, दन्त्यकथाभित्रको क्रान्ति । यो नाटकमा पञ्चायती शासन व्यवस्थाको खिल्ली उडाइएका कारण उनी साता दिन गुप्तवास बस्नु परेको थियो । त्यो नाटकलाई किताब बनाऎर पछि प्रकाशन पनि गरे । तीन रुपियाँ दामको त्यो किताब त बिक्यो नै, सरकारी कार्यालयतिर 'पुस सेल' पनि गरे ।

२०३८ सालमा उनी विराटनगरको चर्चित पत्रिका कोसेली साप्ताहिकको सम्पादक पनि बने । त्यसबेला उनी क्याम्पस पढ्ने, राजधानीका पत्रिकाहरुमा समाचार पठाउने, नाटक लेख्ने, खेल्ने आदि सबै काम गर्थे ।

त्यसबेला नाटक महोत्सव हुने गर्दथ्यो । उनी नाटकमा सहभागी भएर काठमाडौँ पुग्ने गर्दथे । त्यसबेला उनी श्रमजीवी पत्रकार संघका पर्ूवाञ्चल सचिव पनि थिए । शिव श्रेष्ठका बुवा अध्यक्ष थिए ।

उनको काठमाडौँ आउने जाने क्रममा रमेश बुढाथोकी काठमाडौँमा जमिसकेका थिए । उनले राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रशिक्षण लिइसकेपछि 'रंगकर्मी जमात' खोलेका थिए । त्यसबाट उनी नाटक खेल्ने खेलाउने गर्थे । एक पटक मोहन काठमाडौँ पुग्दा २०३९ सालतिर उनलाई नाटक खेल्न अनुरोध गरे । हिन्दी नाटकको 'चार यारोँ की यार' अनुवाद 'अपाहिज यौवनका रातहरु'बाट फेरि मोहन निरौला काठमाडौँमा नै स्थापित भए । पत्रकारिता त छँदै थियो । शंकर कार्की, पुरु रिसाल, गोपाल बास्कोटा, कपुर ज्ञवालीजस्ता पत्रकारहरुको संगतले उनी पत्रकारका रुपमा काठमाडौँमा पनि जमिसकेका थिए । उनी कहिलेकाहीँ सूचना विभाग जान्थे, त्यतिबेला प्रकाश थापा डकुमेन्ट्री बनाएबापत सरकारबाट रकम लिने बेलामा भेट्थे । चर्चित निर्देशक प्रकाश थापा मोहन निरौलालाई कलाकारभन्दा पनि पत्रकारका रुपमा बढी चिन्दथे ।

२०४० सालमा आदर्श नारीमा उनले चलचित्र खेले । उनले एमसीको भूमिका खेले । त्यसपछि सन्तान  । नाटक पनि खेल्न छाडेनन् । २०४२ सालतिर उनले नाटक लेख्ने र खेल्ने शुरुवात गरे काठमाडौँमा पनि । शुरुवात चाहिँ 'बाबुसाहेबको करामत' बाट गरे ।

विराटनगरमा दर्ता गरिएको आँशु साप्ताहिकलाई हरि अधिकारीले म चलाउँछु भनेर उनसँग मागे । पञ्चायत कालमा पत्रिका दर्ता पाउनु निकै गाह्रो थियो । त्यत्तिकै खाली भएको पत्रिका कसैले चलाउँछु भन्दा उनलाई पनि राम्रै लाग्यो र हुन्छ भने । तर पत्रिका चलाएको केही समयमै त्यसमा बामपन्थी नेता पद्मरत्न तुलाधरको निकै कडा अन्तरवार्ता छापियो । सम्पादक/प्रकाशकको रुपमा मोहन निरौला भएकाले उनलाई प्रहरीले खोज्यो । त्यतिबेला डमरुबल्लभ भट्टराई काठमाडौँ जिल्ला अधिकारी थिए । भट्टराई र निरौलाका बुवा साथीसाथी भएकाले उनीमाथि कारवाही भएन । तर काठमाडौँमा चलाइरहेको पत्रिका यहाँबाट छाप्न मिल्दैन भनी विराटनगरमै छाप्ने शर्तमा उनमाथिको कारवाही रोकियो ।

धेरैले मिलन चखुलाई गायिकाका रुपमा चिन्छन् तर मोहन निरौलाको 'घर'मा उनले नाटक खेलेकी थिइन् । घरभन्दाअघि उनले दीपक आलोकको एउटा नाटकमा पनि खेलेकी थिइन् ।
'सन्ताप' लेखेर २०४२ सालमा टेलिभिजनमा पनि प्रवेश गरे । रमेश बुढाथोकीको निर्देशनमा उनले प्रमुख भूमिका पनि खेले ।

बीचमा नाटकको कमाइ राम्रो नभएपछि उनका बुवाको करले पुरातत्व विभागमा जागीर खान थाले । जागीर गर्ने बानी नभएका व्यक्ति भएकाले उनले केही समयभित्रै छाडिदिए ।
विराटनगरमा पनि पत्रकारहरु मोहन भण्डारी र कृष्ण पोखरेलले आशु चलाउँछु भनेर फेरि मागे । उनले पनि स्वीकृति दिए । इन्द्रबहादुर शेरचन डीआईजी थिए त्यसबेला । प्रहरीसँग के मिलेन प्रहरीले जेल चलान गर्‍यो ती दुवैलाई । कारण त सानो थियो, किनभने राजाको महान् वाणीमा कालो पोतिएछ- त्यही कारणले उनीहरुलाई थुन्यो । त्यो थाहा पाएपछि भण्डारी र पोखरेललाई छुटाउन उनी विराटनगर गए । 'सम्पादक र प्रकाशक त म हुँ किन मेरा कामदारलाई थुन्यौ ?' उनको प्रश्नपछि उनलाई नै १५/१६ दिन प्रहरीले थुनिदियो । त्यसबेला राजबन्दीको हैसियतले उनले १५/१६ दिन दैनिक पाँच रुपियाँ भत्ता पनि लिएका छन् । सूर्यबहादुर सेनओली त्यसबेला अञ्चलाधीश थिए ।

२०४४ सालमा राजेश खनालले 'चलचित्र' मासिक निकाल्ने प्रस्ताव ल्याए । सुन्दर श्रेष्ठ र रत्नकुमार श्रेष्ठजस्ता व्यक्तिहरुसहित कृष्णबहादुर गौतम मिलेर पत्रिका निकाल्ने भए । पछि भगवान श्रेष्ठ पनि मिसिए र लगभग १० वर्षसम्म पत्रिका निस्कियो ।

२०४६ सालसम्म उनी राजनीतिक पत्रकारिता गर्ने गरेकामा त्यसपछि चाहिँ छाडिदिए ।

सिनेमामा व्यस्तता
त्यसपछि नाटक कम भयो चलचित्रतिर बढी व्यस्त हुन थाले । उनले अन्यायमा आफूले सक्ने र भ्याउनेजति सबै काम गरे । तिलहरी मा पनि सहभागी भए । निर्माता उद्धव पौडेलसँग विराटनगरदेखि नै उनको सम्बन्ध थियो । कतिसम्म भने २०३८ सालमा उनको चुनावी घोषणापत्र उनैले लेखिदिएका थिए । त्यही सम्बन्ध यहाँ काम लाग्यो । तिलहरीमा लेखनदेखि सहायक निर्देशकसम्मको भूमिका उनले गर्दथे ।

२०४६ सालमा अलिअलि आन्दोलन हुँदै गर्दा चिरञ्जीवी बस्नेत र डा. सुबोध पोखरेलको सिफारिशमा उनी बम्बई पुगे । बम्बई जानुको कारण भने त्यहाँ उदितनारायणले 'दोबाटो' चलचित्र बनाउने घोषणा गरिसकेका थिए र त्यसको पटकथा तयार पार्न उनलाई झिकाइएको थियो । उनी बम्बईमै हुँदा यहाँको आन्दोलन क्लाइमेक्समा पुगिसकेको थियो र उनले पटकथा सकेर नेपाल फर्किँदा प्रजातन्त्र आइसकेको थियो ।

२०४८ सालमा राजेन्द्र थापाले उनलाई 'पुकार' चलचित्र निर्देशन गर्ने प्रस्ताव राखे । उनी हतारिन त चाहँदैन थिए तर उनका हितचिन्तक सुन्दर श्रेष्ठले उनलाई हिम्मत दिए- 'कस्ताकस्ता अपठित त निर्देशक बनेका छन्, तपाइँ त योग्यतावाला !' त्यसपछि पुकार (२०४९) र जन्मभूमि (२०५३) निर्देशन गरे । उनले २०५६ मा बेइमानी चलचित्र लेखेपछि ठूलो पर्दामा लेखेका छैनन् भने 'अजम्बरी नाता' (२०६१) पछि अभिनयमा विश्राम लिएका छन् ।

टेलिभिजन पहिलो रुचि
टेलिभिजनमा भने उनको ठूलो रुचि छ । सिनेमामा अरुका कुराहरु बढी राख्नु पर्छ तर टेलिभिजनमा आफ्ना कुरा बढी राख्न पाइन्छ । आफ्नो रुचिका कुराहरु बढी राख्न पाइने हुनाले यसप्रतिको गहिरो रुचि भएको हो । उनले भावना, देवी, चेतना, जागरण, चेतना, थोरै भए पुगिसरीजस्ता सिरियलहरु लेख्नुका साथै मनका आँखा, राप, भावना, देवी, पुरुष, थोरै भए पुगिसरी, जीवनचक्रलगायत ६ दर्जनभन्दा बढी टेलिफिल्महरुमा अभिनय गरिसकेका छन् ।
उनले टेलिभिजनका लागि विभिन्न दश वटा वृत्तचित्र, टेलिफिल्म तथा कार्यक्रमहरु निर्देशन गरेका छन् ।

परिवर्तन नेपाल
उनलाई सधैँभरि लागिरहेको एउटा कुरा के हो भने देशमा कुनै पनि बेला राम्रो व्यवस्थापक जन्मिएनन् । टीम-वर्क बुझ्ने र त्यसलाई असल तरिकाले परिचालन गर्ने कुराको सधैँ अभाव देखे । चाहे त्यो मन्त्री परिषदमा होस् या सरकारी कार्यालयमा । सबै कुरामा सरकारी मुख ताक्नै पर्छ भन्ने कुराको उनी विरोधी हुन् । सरकारबाहिर रहेर पनि समाजोपयोगी अनेक काम गर्न सकिन्छ भन्ने देखाउन उनले २०५३ सालमा परिवर्तन नेपालको स्थापना गरे । उनले त्यो संस्थामा अभिनय, संगीत र नृत्य सित्तैमा सिकाउने अभियान शुरु गरे । सित्तैमा सिक्ने शिक्षार्थीहरुले चाहिँ विभिन्न सामाजिक क्रियाकलापमा भाग लिनुपर्ने हुन्छ । यसरी समाज परिवर्तन गर्ने क्रियाकलापमा अझै पनि सहभागी छन् ।

राष्ट्रियतासम्बन्धी संस्थाको शुरुवातमा उनले दीपाश्री, दिनेश कार्की, काली सेढाइँ, शिशिर सापकोटा, रामकाजी घिमिरे आदिहरुको सहयोग थियो ।

२०५४ सालदेखि नियमित रुपमा पशुपति सफाइ अभियान, अग्रज व्यक्ति र स्रष्टाहरुलाई सम्मान गर्ने, भ्रष्टाचारविरोधी आन्दोलनजस्ता कार्य यही संस्थाबाट गरेका थिए ।

यो अभियानबाट प्रभावित भएर झापा, इटहरी, सर्लाही, धादिङ, भक्तपुर तथा कीर्तिपुरहरुमा पनि यसका शाखाहरु छन् ।

चर्चित घटना
"मुलुकले स्थिति जुन भोगेको छ, राजनीतिक व्यक्तिहरु जिम्मेवार छन् तर यिनीहरुलाई भुट्न जरुरी छ । तपाइँहरु मलाई बन्दूक दिनुहोस् म भुटिदिन्छु", २०५७ असार २५ गते एउटा कार्यक्रममा उनले यो के बोलेका थिए, संसदमा हंगामा मच्चियो । २५ दिन त उनी भूमिगत नै हुनुपर्‍यो । पछि प्रहरीले पक्राउ गर्‍यो र एकदमै कडा सुरक्षाका बीच उनलाई रिहा गरियो ।

अहिलेको स्थिति त्यतिबेलाको असन्तोष नै हो । देशका नेताहरुले राम्रो शासन गरेका भए देशमा अहिले दोस्रो आन्दोलन हुने नै थिएन भन्ने उनको बुझाइ छ ।

कलाकारितामा जीवन
एक छोरी र श्रीमतीका धनी निरौला अझै पनि संयुक्त परिवारमा बस्छन् । उनका भाइ, बुहारी, आमा-बुवा, भाइका छोराछोरीसहित विजुली बजारमा बस्छन् । धन आफ्नो जीविकोपार्जन गर्नका लागि मात्र चाहिन्छ भन्ने उनको मान्यता छ । एउटा साधारण जीवन व्यतीत गर्न कलाकारिता काफी छ, जसरी अरु पेशामा जीवन गुजारिन्छ । तर मोजमस्ती गर्ने हो भने भ्रष्टाचारै गर्नु पर्‍यो या त चिठ्ठा नै पर्नु पर्‍यो ! उनी त्यस्तै सोच्छन् ।

राजावादी ?
जब जब उनी बोल्छन्, व्यक्तिहरु राजावादी बोल्यो भनेर उनलाई आरोप लगाउँछन् । त्यसबेला उनलाई दुःख लाग्छ । किनभने उनको सम्बन्ध राजासँग सीधा छैन । यो कुरा सत्य हो, उनी राष्ट्रवादी चाहिँ हुन् । आफ्नो संस्कार, संस्कृति, भेषभूषा र नेपालीपनमा मौलिकता हुनुपर्छ भन्ने उनको मान्यता छ । त्यसो भएन भने नेपाली रहँदैनौँ भन्ने उनी मान्छन् । "आज अमेरिकामा सबैथोक छ । के छैन उसँग ? तर उसँग उसको मौलिकता चाहिँ छैन । अन्य देशका जनताले बनाइदिएको देश हो अमेरिका । उसको मौलिकता एउटा मात्र छ, ऊ संसारलाई शासन गर्छ । त्यत्ति हो उसको मौलिकता", उनी भन्छन्- "हामी त्यति शक्तिशाली पनि छैनौँ र मौलिकता पनि गुमाउँछौँ भने हाम्रो अस्तित्व हराउँछ भनेर नै बेलाबेलामा म चिच्याउने गर्छु । मान्छेहरु सोच्छन्, राष्ट्रवाद र राजावाद उही हो । तर यो दुवैमा धेरै फरक छ ! मान्छे नबुझेर त्यसो भनिरहेका छन् ।"

धार्मिक विचार
हिजो आज कालो रंग, कालो पहिरन र कालै टीकामा सजिने मोहन निरौलाको व्यक्तित्व हेर्दा केही व्यक्तिहरु झस्किन सक्छन् । यो उनको पछिल्लो परिचय हो । उनी केही समययता महाकालीको उपाशक बनेका छन् । उनी संसारमा इश्वरको खोजी गरिरहेका छन् । धेरै अध्ययनपछि उनले पत्तो पाए- इश्वर त मानिसभित्रै हुँदोरहेछ । यो त सबैले थाहा पाएकै कुरा हो तर उनले नयाँ कुरा पनि पत्ता लगाए । इश्वर खोज्न मनमन्दिर होइन, आफूभित्रै खोज्नु पर्दोरहेछ । आफूलाई चिन्नु भगवान् पाउनु हो ।

ध्यान, जप, तपबाट मान्छेले अलौकिक शक्ति पाउन सक्छ । मानिस घरमै बसेर ध्यान, जप र तप गर्‍यो भने, इश्वर पाउन सक्छ ।

ब्रहृमाण्डसँग पनि शक्ति र मान्छेसँग पनि शक्ति छ । ध्यान, जप र तप मिल्यो भने ब्रहृमाण्डको शक्ति र मान्छेको शक्ति मिल्न जान्छ र त्यसबाट पाउने महाशक्तिले मानिस अनेक काम गर्न सक्छ । त्यो गर्ने व्यक्तिहरु नै पुण्यात्मा हुन् ।

यसरी पाएको शक्तिको सदुपयोग गर्‍यो भने त्यसले धेरै असल काम गर्न सकिन्छ । तर शक्तिको दुरुपयोग भयो भने त्यो व्यक्ति चाँडै फँस्छ । यस्ता अनेक उदाहरण देख्न सकिन्छ भन्ने उनको धारणा छ ।

हामी जन्मेको हाम्रो इच्छामा होइन, हामीले गर्ने कामको निश्चितता हामीले गर्ने होइन । हामीलाई कसैले यस्तो गर्ने भनेर पठाइसकेको छ र हामी त्यसमा अभिनय मात्र गरिरहेका छौँ । मान्छेले आफ्नो भागमा जति छ त्यति नै पाउँछ । त्यो भन्दा बढी पाउँदैन । त्यसैले पनि उनी बढी हानाथापमा विश्वास गर्दैनन् ।

भविष्यको सपना
उनी भविष्यमा आफ्नो कलाकारितालाई छोड्न त चाहँदैनन्, तर आफूले शुरु गरेको धार्मिक खोजलाई त्याग्न भने चाहँदैनन् । उनी अहिले एउटा सिद्ध गुरुको खोजीमा छन् । ताकि ती गुरुले उनले खोजेको ज्ञान दिऊन् र परमात्माको दर्शन गर्न सकून् । उनी जीवनमरणको यो चक्रबाट पार हुन चाहन्छन् । उनी आफूले यो ज्ञान पाइसकेपछि अरुलाई पनि बाँढ्न चाहन्छन् । अस्तू !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Related Tags:
निर्देशक सञ्चारकर्मी रोचक क्या बात ! पार्टी कन्ट्रोभर्सी रोमान्स घोषणा फिल्म फेस्टिबल सेक्स नवीनता पेज 3 ग्ल्यामर कार्यक्रम सोच अभिनेत्री अभिनेता प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,