Home» Around the World »Weird and Interesting

चिट चोर्न आइपड

अमेरिकामा विद्यार्थीहरुलाई क्याप (टोपी) लगाउन मनाही छ । विद्यार्थीले परीक्षाका बेलामा त्यही क्यापभित्र चिट घुसाएर लैजाने हुनाले बन्द गरिएको त पुरानै घटना भइसक्यो । त्यसपछि मोबाइल फोन पनि लैजान निषेध गरिसकिएको छ । गुरुले ठाने, जाँचका बेला आफ्ना छट्टु विद्यार्थीले एकअर्कालाई टेक्स्ट म्यासेज आदानप्रदान गरेर उत्तर लेख्नेछन् ।

अब गुरुहरुलाई यत्तिले मात्र पुगेको छैन । परीक्षा केन्द्रमा चिट चोर्ने अर्को उपाय विद्यार्थीले फेला पारेका छन् । तिनले प्रविधिको नवीनतम् प्रविधि आइपड र ज्यून्सलाई परीक्षा केन्द्रमा लैजान थालेका छन् । हेर्दा साना आकारका यी दुइ यन्त्रमा भएभरको किताबसमेत अट्ने हुनाले गुरुहरुले यसलाई पनि प्रतिबन्ध लगाउने निधो गरेका हुन् ।

"यी केटाकेटीहरु हामीभन्दा कति अगाडि छन् भने चिट चोर्न नयाँ नयाँ प्रविधिहरु घुसाइरहेका हुन्छन्", माउन्टेन भ्यू हाइ स्कूलका प्रधानाध्यापक आरोन मेबनले एसोसिएटेड प्रेससँग भने- "उनीहरुले हरेक पटक चिट चोर्नका लागि नयाँ र सिर्जनात्मक बाटाहरु छिटोछिटो पत्ता लगाइरहेका छन् ।" माउन्टेन भ्यू स्कूलले केही समययता जाँचका बेला डिजिटल मिडिया ल्याउन प्रतिबन्ध लगाएका छन् । यो पनि दुइ विद्यार्थीले नयाँ प्रविधिबाट कसरी चिट चोर्न सकिन्छ भनेर छलफल गरिरहेको एक शिक्षकले सुनेपछि यो नयाँ शैलीबारे स्कूल प्रशासनले जानकारी पाएको थियो ।

त्यसो त नेशनल एसोसिएसन अफ सेकेण्डरी स्कूल प्रिन्सिपल्सकी प्रवक्ता साना केम्प भने कति विद्यार्थीहरुले यस्तो सुविधाको दुरुपयोग गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क फेला नपरिसकेको अवस्थामा यसरी डिजिटल मिडियालाई बन्द नगरिनुपर्ने धारणा राख्छिन् । तर पनि उनले थप्न भुलिनन्- "देशव्यापी रुपमा यस्तो मिडियालाई चोरीका लागि उपयोग हुन थाल्यो भने चाहिँ केही त सोच्नै पर्छ ।"

"आइपडले पढ्नसक्ने ध्वनिका फाइलहरुलाई विद्यार्थीहरुले जाँचमा चोर्न उपयोग गरिरहेका छन्", १६ वर्षीय माउन्टेन भ्यू स्कूलका विद्यार्थी दमिर बज्दारले बताए । स-साना नोटहरु तिनले आइपडमा टेक्स्ट फाइलमा 'लिरिक' नामबाट सेभ गर्ने गरेको, शिक्षकले पढाएका अडियो क्लीपहरुलाई 'स्कूलहाउस रक' नामबाट राखिएको उदाहरण पनि उनले दिएका थिए । उनले ती सबै उदाहरणलाई आफ्नो आइपडमा समेत देखाएका थिए । यस्ता फाइल हालै भएको अमेरिकी सरकारी परीक्षामा भरपूर उपभोग भएको समेत उनले बताए ।

१७ वर्षीया केल्सी नेल्सन चाहिँ यस्ता सामग्रीको प्रतिबन्धले आफूलाई दुःखी बनाएको बताएकी छिन् । "सामान्यतया म जाँच सकिएपछि आफ्नो 'सानो साथी'का गीत सुन्थेँ । यस्तो प्रतिबन्धले हामीजस्ता चिट नचोर्ने र वास्तवमै सङ्गीत रुचाउनेका लागि त ठूलो हानीको कुरा हो", उनले चित्त दुखाइन् । उनले थपिन्- "मेरो विचारमा यस्तो प्रतिबन्ध त बकवास् नै हो । किनभने चोर्नेहरुले आइपडलाई पनि चोर्ने माध्यम बनाउँछ, आफ्नो जाँघलाई पनि चोर्ने माध्यम बनाउँछ ।"

तर यो समस्या कति गहिरो छ भने वासिङ्टनदेखि क्यालिफोर्निया र सियाटलसम्मका स्कूलमा यस्ता प्रविधिलाई जाँचका बीचमा बन्द नै गर्ने निर्णय भइसकेको छ । यस वर्ष त स्कूलमा मात्र होइन कलेज र युनिभर्सिटीमा समेत यसमाथि प्रतिबन्ध लगाइएका छन् । अमेरिकाबाट यो क्यानडासम्म सरिसकेको छ । विद्युतीय शब्दकोष, सीडी प्लेयर र शब्दजाँचक प्रविधिसमेत प्रतिबन्धित तुल्याइएका छन् ।

सँगसँगै यता उत्तरी क्यारोलिनाको ड्यूक युनिभर्सिटीले चाहिँ विद्यार्थीहरुको क्षमता बढाउन हरेक विद्यार्थीलाई आइपड उपलब्ध गराउने निर्णय गरेको छ । क्याम्पस प्रशासनले यसले उनीहरुको क्षमता अझ बढाउने दाबी गरिरहेको छ । यो प्रयोग सङ्गीत, इञ्जिनीयरिङ र समाजशास्त्रका कक्षाका लागि ज्यादै उपयोगी भइसकेको ड्यूक युनिभर्सिटीका सेन्टर फर एकेडेमिक इन्टिग्रीटीका कार्यकारी निर्देशक टीम टडले बताएका छन् । रोचक त के छ भने विगत १० वर्षयता यस्तो प्रयोग गरिएकोमा परीक्षाका समयमा चोर्ने बानी क्रमशः विद्यार्थीहरुमा घट्दै गइरहेको उनको दाबी छ ।

"यदि तपाइँले विद्यार्थीका मूल्य, मान्यता र आशाहरुको अध्ययन नगरी, तिनमाथि छलफल नचलाई सीधै प्रविधिसँग जुध्छु भन्नु भयो भने यसको अर्थ हुनसक्छ, तपाइँले युद्ध हार्नुहुनेछ," टेडले भने- "प्रविधिले विद्यार्थीलाई कसरी ध्वंसात्मक बनायो भन्ने बारेमा सोच्नु भन्दा पनि शिक्षकहरुले ती प्रविधिलाई कसरी तिनै विद्यार्थीमा सही उपयोग गर्न सकिन्छ भन्ने तिर सोच्न जरुरी छ । अनि मात्र यो समस्या समाधान हुनसक्छ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उपाय प्रविधि फट्याइँ माया सुन्दरी सेलेब्रिटी मुद्दा मामिला गुगल मूर्ख्याइँ इन्टरनेट बलिउड भव्यता विज्ञापन नग्नता श्रीमानश्रीमती कीर्तिमान परिस्थिति उदेकलाग्दो हलिउड सेक्स
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल