Home» Cinema »Biography

बाँच्न नजानेको एउटा पत्रकार

२०२४ साल फागुन ९ गते ताप्लेजुङको तेर्लोकमा जन्मिएँ । यो ताप्लेजुङको दक्षिण पूर्वमा पर्छ । हामी जन्मिँदा हामीले ऐना देखेनौँ, पहिलो पटक कञ्चनजङ्घा देख्यौँ । एकदमै निम्नमध्यम वर्गीय परिवार, अर्काको घरमा बनिबुतो गर्ने परिवारमा जन्मिएका थियौँ । राजा पृथ्वीनारायण शाहको पालामा पूर्व हान्ने बेलामा त्यहाँ लगिएका पुगेका व्यक्तिहरु थियौँ । बाह्रबीसे भट्टर्राई भन्छन् हामीलाई किनभने त्यसबेला २४० घर भट्टराई थियौँ । पृथ्वीनारायण शाहले त्यहाँ ल्याइएका व्यक्तिमा महिलाहरु नभएकाले विवाह गर्दा त्यहीँका स्थानीय क्षेत्रीयहरुसँग बिहे गरेपछि हामी पनि क्षेत्री भयौँ ।

छोरीको आशामा मेरा बा-आमाले सात सन्तान जन्माउनु भयो । म चौथो सन्तान थिएँ । मसँगै स्कूल तेर्लोक प्रा.वि. जन्मियो र मसँगै निमावि भयो । म त्यो स्कूलको पहिलो ब्याजको प्रथम विद्यार्थी थिएँ । त्यसपछि म सिनाम गाउँमा गएँ, आठ कक्षा पढ्न । २०३७ सालमा बामपन्थी आन्दोलनमा लागेकाले म जेल परेँ । एउटा भनाइ नै थियो, ताप्लेजुङमा कि त फूल फूल्छ कि त कम्युनिष्ट फूल्छ । म पनि कट्टर कम्युनिष्ट भएर निस्किएको थिएँ । मैले जेलबाट नै आठ कक्षाको परीक्षा दिएको थिएँ ।

७८ प्रतिशत ल्याएर एसएलसी पास भएँ र तीन नम्बरको कमीका कारण त्यस वर्षो बोर्डमा नाम आएन । त्यस वर्ष नेपालीमा ९४ अङ्क ल्याउने रेकर्ड मैले बनाएँ र त्यो रेकर्ड अहिलेसम्म कसैले पनि बनाएको छैन । राजनीतिसँगै साहित्यकर्ममा पनि लागियो । १९८४ मा अन्तर्राष्ट्रिय अपाङ्ग वर्षको अवसरमा नेपालभरिको प्रथम भएको थिएँ । कोभन्दा को कम भन्ने रेडियो कार्यक्रममा दुइ पटक प्रथम भएको थिएँ ।

एसएलसी पास भएपछि गाउँमै पढाउने आमाको आग्रह थियो तर म गाउँमा बस्न सक्तिनँ भनेर गाउँमा राँगो बेचेको पैसा लिएर काठमाडौँ आएँ । काठमाडौँ आएपछि पैसा सकियो र कति दिन त मैले ठेला ठेलेर जीविकोपार्जन गरेको छु । धेरैलाई लाग्दो हो, मैले ठेला नै किन ठेलेँ । त्यो बेला सबैभन्दा बढी पैसा कमाइ हुने व्यवसाय नै ठेला थियो । एक दिन ठेलेको ठेलाले मेरो साता दिनको खर्च व्यहोर्ने गर्दथ्यो ।

एमएस्सीमा म गोल्डमेडलिस्ट, एमकम् र समाजशास्त्रमा एमए गरेपछि विद्यावारिधि पनि त्यही गरेँ ।

पत्रकारिता

आइएस्सी पढ्दै गर्दा चलचित्र 'च' लेखेको चाहिँ २०४२ सालमा 'प्रिया' पत्रिकाबाट हो । नाटकका व्यक्तिहरु टेलिभिजनतिर तानिएको कारण 'रंगकर्मीहरु टेलिभिजनतिर पोइल गए' भनेर लेखेपछि पहिलो लेखबाट नै लेख्ने व्यक्तिको खोजी भएको थियो । कतिले गालीसमेत गरे र त्यही गाली नै मेरो नाम स्थापित गर्ने माध्यम बन्यो । यसपछि कलाकार आवाज, तरङ्ग, पर्दा, शताब्दी आदिमा काम गरियो । 'शताब्दी' त रमण घिमिरे र मैले संयुक्त सम्पादन गरेका थियौँ ।

 

तुलसी घिमिरे र हामी हिरोइनको खोजी गर्दै जाँदा कालिम्पोङको कालझोलामा निरुता सिंहलाई भेटेका थियौँ । उनलाई शताब्दी पत्रिकाको खोज मान्न तुलसी घिमिरे तयार हुनुभयो र चलचित्र 'दक्षिणा'मा उनी नायिका बनिन् । शताब्दीको पहिलो अङ्कमा नायिका बन्न चाहनेहरुबाट फोटो माग गरेका थियौँ । झरना राजभण्डारीको फोटो उत्कृष्ट मानेर हामीले उनको फोटो छाप्यौँ र उनलाई भूमिका दिलाउन पहल गर्‍यौँ । 'दाइजो' चलचित्रमार्फ् झरना देखापरिन् र हाम्रो उद्देश्य पर्ूण्ा भयो । त्यसपछि शताब्दी कहिल्यै छापिएन ।

मैले अन्य विषयमा पनि कलेज पढाएँ तर फिल्म पत्रकारिता पनि पढाएँ । चलचित्र पत्रकारमा सबैभन्दा बढी पत्रिका चलाएर बन्द गर्ने व्यक्ति म नै हुँ भनेर आफ्ना विद्यार्थीलाई पढाउनु पर्‍यो ।

बीचमा म चलचित्रबारे लेख्दिनँ भनेर कसम खाएको थिएँ । मैले २५ प्रतिशत पनि क्रेडिट पाइनँ भनेर सधैँ लागिरहृयो । त्यसैले चलचित्र पत्रकारिता त्याग्ने घोषणा गरेँ । तर बसुन्धरा भुषालजस्ता केही कलाकारहरुले मलाई लेख्न कर गर्नु भएको थियो । रिपोर्ट्स क्लबबाट घोषणा गर्दा सबै स्तब्ध भएका थिए । जसलाई म गाली गरेर लेख्थेँ, उनीहरुले नै मलाई लेख्न आग्रह गर्नुभएपछि पत्रकारिताभन्दा सैद्धान्तिक लेखन चाहिँ लेख्छु भनेर वचन तोडेँ ।

चलचित्र समीक्षक समाजको अध्यक्ष भएपछि भने म हलिउडमा पाइलो टेक्ने पहिलो पत्रकार बन्ने अवसर पाएँ । बेभर्लीहिलस्थित एकेडेमी अवार्डका एक्जुकेटिभ डाइरेक्टर ब्रुस डेभिससँग भेटेर नेपाली चलचित्रको इतिहासको लाइब्रेरी रिफरेन्स दिएँ । मलाई अन्तर्रर्ााट्रय फिल्म क्रिटिक अवार्डको सदस्य बनाइयो । त्यही नाताले सम्भवतः अर्को वर्षेखि मलाई एकेडेमी अवार्डको फरेन ल्याङ्वेज क्याटगरीअर्न्तर्गत वैकल्पिक जुरी मेम्बर बनाइने सम्भावना छ । त्यही बेला मैले सनफ्रान्सिस्को युनिभर्सिटीमा नेपाली चलचित्रका बारेमा एक घण्टा लेक्चर दिएँ । त्यस्तै न्यूयोर्क फिल्म क्रिटिक सोसाइटीमा 'ओरिएन्टल सिनेमा'का विषयमा मेरो भाषण चाखपूर्वक सुने । 

पाठकका कारण नै म बनेँ, त्यसैले म पाठकहरुलाई न्याय गर्न चलचित्रका लागि थोरैधेरै लेखिरहने छु ।

जिन्दगी चलाउन पढाएँ र विज्ञापन एजेन्सीहरुमा काम गरेँ । अथवा के गरिनँ ? ठेला ठेल्नेदेखि लिएर अनेक कामसहित । सबैभन्दा खुशीको कुरा के छ भने आफ्नो बुताको भरमा अमेरिकाको युनएन एसेम्ब्लीमा राष्ट्रपति बुसको भाषण सुन्न पनि पुगेँ । यी सबै क्षण मेरालागि ज्यादै प्रेरणाप्रद छन् ।

ज्ञानेन्द्रको शासनकालमा चलचित्र विकास बोर्डको अफर आए पनि टाट्नोको बाख्रो भएर घाँसमात्र खान नरुचाएकाले मैले अस्वीकार गरिदिएँ । त्यसबाहेक अन्य ठाउँबाट कसैले मेरालागि भनेर केही काम गरिदिएको छैन । तर म सधैँ अरुका लागि हरदम तयार रहेँ ।

प्रेम

म साइन्स पढ्थेँ । त्यसबेला साइन्स पढ्ने महिला निकै कम थियो । सस्तो प्रेमतिर कहिल्यै मन गएन । केटी भनेको इज्जत दिने विषय हुन् भन्ने स्कूल अभ थटबाट प्रेरित थिएँ । बाँकी रहृयो, केटी खोज्दै जाने कुरा, त्यो त कहिल्यै मन रहेन ।

अँ मैले ट्यूसन पढाउँथे र जसलाई मैले ट्यूसन पढाउँथे तिनले मलाई मन पराउँथिन् । उनले बिहे गर्नुपर्ने अड्डी गरिन्, मैले बिहे गर्ने वाचा गरेर घर पठाइदिएको थिएँ । तर समय क्रममा उनले त्यो वाचा बिर्सिन् । मलाई थाहा थियो, उनले समयक्रममा त्यो बिर्सिने छिन् । अझै पनि उनीसँग कहिलेकाहीँ भेट हुन्छ, उनी अहिले जिम्मेवार डाक्टर बनेकी छिन् ।

कहिलेकाहीँ यस्तो लाग्छ, मेरो जीवन पनि सिनेमासँग मिल्न जान्छ होला । यदि त्यस्तो भयो भने त्यो सबैभन्दा ठूलो दुर्भाग्यपूर्ण हुनेछ ।

एक दिन मेरी श्रीमती फेन्ट भइन्, त्यो दिन उनलाई मैले ओम् नर्सिङ् होम लिएर गएँ । त्यही नारीले मेरी श्रीमतीको ट्रिटमेन्ट गरेकी थिइन् । यो क्षण सबैभन्दा अचम्मको क्षण लागेको थियो ।

यो पनि भन्नु पर्छ, मेरो सफलताको पछाडि मेरी श्रीमतीको हात छ ।

एड्स भयो !

पत्रकार महासंघको नारायणघाटमा सम्मेलन थियो । त्यो सम्मेलन पत्रकार महासंघको फ्लप सम्मेलनमध्ये एउटा थियो । मैले सम्मेलनबाहेक अन्य के कुरा नारायणघाटमा हिट थियो भनेर लेख्दा पत्रकार शोभा चन्दको क्याटवाक् पनि हिट थियो भनेर लेखेको थिएँ । (उनी मिस क्याटवाक् पनि भएकी थिइन्) उनले त्यसलाई ठूलो इस्यू बनाइन् र मेरो बारेमा दृष्टि साप्ताहिकमा एड्स लाग्यो भनेर लेखिन् । त्यो खबर पहिलो पटक श्रीमतीले मलाई बताएकी थिइन् । तर मेरी श्रीमती कस्ती छिन् भने आकाश खस्छ भन्यो भने पत्याउलिन् तर मैले रक्सी खान्छु र अरु केटीसँग लागेको छु भन्यो भने पत्याउँदिनन् । यस्ता हल्ला पनि नउडेका होइनन् ।

शब्द क्षेप्यास्त्र

मसँग आजको दिनमा केही छैन । तर हरेक शब्द मेरा हतियार हुन् । मेरा हरेक शब्द कसैकसैले क्षेप्यास्त्रसँग तुलना गर्छन् । कोही मसँग सहमत होस् या नहोस्, मैले देखेको सत्यमा म कहिल्यै डगिनँ । र, डग्दिनँ पनि । फागुनदेखि म ४० वर्षको लागेँ । अब मलाई मलामीको लोभ लाग्न थाल्यो । पहिला मलाई मलामीको कहिल्यै लोभ थिएन । घाटमा कोही पो नहुने हो कि भनेर म डराउन लाग्न थालेको छ । जसका कारण नै होला अहिले मेरा अक्षरहरु भुत्ते खुकुरी भएका छन् । हिजोका जस्ता आक्रामक शब्द हिजोआज चलाउँदिनँ ।

स्क्याण्डलहरु

राजेश हमालको नाङ्गो फोटो नछापिएको होला भन्न सक्तिनँ । किनभने ठकुरी परिवारमा छोराको केटी साथी र छोरीको केटा साथीजस्ता कुराहरु सामान्य थिए । चीन, पाकिस्तान, भारत, रुसजस्ता ठाउँमा शैक्षिक वातावरणमा जन्मिएका राजेश हमालले खुलापन नै जीवनमा उतारेका थिए । यदि कामना छापिएको नाङ्गो फोटो मैले पाएको भए म पनि छाप्थेँ । किनभने पत्रकारिताले 'स्कुप' भन्ने जन्म त्यस्तै कामका लागि भएको हो । कामनाले आफू स्थापित गर्न धेरै स्कूपहरु छापेको छ । त्यो पत्रकारका तर्फाट गर्नुपर्ने काम थियो तर म त्यो स्कूपको विरुद्धमा किन थिएँ भने कामनालाई ढाल्न पाइयो भने मेरो पत्रिका स्थापित हुने थियो भन्ने लोभका कारण राजेश हमालको पक्षमा पत्रकार सम्मेलन गर्ने, वक्तव्य लेख्ने र कार्यक्रम सम्पन्न गर्ने कुराको साक्षी बसेँ । यसो गर्नुको मुख्य कारण के थियो भने भर्खरै माथि उठ्न लागेको राजेश हमालमाथि यस्ता कुराले अप्ठेरो नपारोस् र एउटा सम्भावनायुक्त नायकको अवशान नहोस् भन्ने नै थियो । त्यही सिद्धान्तका कारण मैले राजेश हमाललाई सघाउन पुगेको थिएँ । यो सबैभन्दा ठूलो स्क्याण्डल बन्न पुग्यो ।

फिक्सनको कागजी हिसाबको संस्थापक हुँ तर यथार्थको होइन । शुरुको बेलामा नारायण वाग्ले र भरत शाक्य संयोजक हुन् । फिक्सन जन्मियो । चुनाव गराउनुपर्ने अवस्थामा भरत शाक्य र रमण घिमिरे अध्यक्षमा उठे । एउटा भोटका कारण रमण घिमिरेले हार्नुभयो । मलाई लाग्छ, त्यो जातीयताका कारण एउटा भोट पाउनु भएको थियो भरतले । एउटा पूरै प्यानलले त्यहाँ स्थायित्व जमायो । हामीलाई लाग्यो, यो अपत्रकारहरुको जमातले जित्यो । हामीले आफूलाई चाहिँ साँच्चिकै पत्रकार ठान्यौँ । त्यसैले 'ट्याक्टफूल' तरिकाले फिक्सनको दर्ता गर्‍यौँ र चूपचाप बस्यौँ । फिक्सनको लोगोहरु सबै कुराको डिजाइन भरत शाक्यले नै बनाउनु भएको हो । राजेन्द्र शलभले विधान ड्राफ्ट गर्नु भएको थियो । त्यो प्रतिष्ठा युद्ध थियो र पछि फिजन -चलचित्र पत्रकार संघ) को स्थापना भयो । शायद यो हुनुमा सिनेमाप्रति हामीले हेर्ने दृष्टिकोण फरक भएर पनि हो । पत्रकारले देखेको कुरा मात्र लेख्छ, तर समीक्षकले तेस्रो आयामबाट पनि हेर्छ । पत्रकार समीक्षक नहुन सक्छ तर समीक्षक पत्रकार पनि हुनसक्छ । त्यतिबेला पनि बाटो फरक थियो र आज पनि फरक छ । पछिल्लो समयमा पत्रकार सक्रिय भए, तर समीक्षक निष्क्रिय रहे । किनभने समीक्षा गर्नुपर्ने विषय नै नेपाली सिनेमामा रहेन ।

सौता सिनेमामा करिश्माको स्क्याण्डल भयो । निर्देशक नारायण पुरीले किसिङ स्क्याण्डलमा पिटाइ खाएको कुरा थियो । मैले जे लेखेको थिएँ, त्यसको जिम्मेवार म थिएँ । त्यो पत्रिकामा मैले जे लेखेँ, त्यसको ठीक उल्टो छापियो । मेरा अनन्य मित्र प्रकाश सुवेदीजीले त्यो हेरफेर गर्नुभएछ । मेरो जिन्दगीमा घटेको सबैभन्दा ठूलो दुर्घटना थियो । त्यसपछि हामी कहिल्यै सँगै हिँडेनौँ र मैले गिताञ्जली पत्रिकामा लेख्न बन्द गरेँ ।

कृष्ण मल्लको एउटी केटीसँगको सम्बन्धबारे केही छापिएको थियो । कृष्ण भट्टराई (अविरल) लाई कृष्ण मल्लले चिन्दैन पनि थिए । तर रसियन कल्चर सेन्टरअघिल्तिर उनलाई कृष्ण मल्लले हातपात गरे । यो मेरो पत्रिका 'पर्दा'मा छापिएका कारण भएको थियो । कृष्ण मल्लसँग सैद्धान्तिक रुपमा कहिल्यै सहमत नभए पनि उहाँ मेरो साथीहरुमध्ये एक हुनुहुन्छ । म मरेँ भने उहाँ मलामी जानुहुनेछ र म पनि उहाँ देहान्त भएको खबर थाहा पाएँ भने त्यहाँ जानेछु । तर मेरो सम्वाददाता पिटिएको कारण यो उनीसँग गाँसिएको एउटा स्क्याण्डल थियो ।

त्योभन्दाअघि पनि 'तरंग'मा छापिएको घटनाका कारण कृष्ण मल्लजीले मलाई खुकुरीले छिनाइदिन्छु भन्दै हिँड्नु भएको थियो । त्यतिबेला म निकै आँटी थिएँ । र, शायद लिम्बुवान् ठाउँमा जन्मिएका कारणले होला म पनि शूरवीर थिएँ । 'भन्दिनू, म पनि लिम्बूवान संस्कृतिमा जन्मिएको व्यक्ति हुँ, आफ्नो घाटानाफा बुझेर मात्र मसँग जोरी खोज्नु !' भन्ने गर्दथेँ । यस्तै विवाद पनि हरिवंश आचार्यसँग परेको थियो ।

अन्त्यमा,
मलाई के लाग्छ भने यहाँ प्रतिभाको कदर हुँदैन । अझ नेपालजस्तो देशमा जब जातीय कुरा उठ्न थाल्यो, जात ठूलो या सानो भएकै कारणले काम पाउनु पर्छ भन्नेजस्ता कुराले देश दिनदिनै भाँसिदो छ । मजस्तो समाजशास्त्र पढेका व्यक्तिले यो टुलुटुलु हेर्नुपर्दा दुःख लागेको छ । अमेरिका, बेलायत घुमेर आएपछि मलाई मेरा परिवारका व्यक्तिहरुले गाली गरेका थिए, अवसरको देशबाट तँ किन फर्किस् ? उनीहरुको प्रश्न जायज थियो । अहिले मजस्तो पीएच्डी व्यक्ति, आफ्नो देशमा बेरोजगार भएको छु । यति बेला तिनीहरुले गाली गरेको सही त थिएन भनेर सोचिरहेको छु ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Related Tags:
सञ्चारकर्मी कन्ट्रोभर्सी रोचक क्या बात ! पेज 3 फिल्म फेस्टिबल नवीनता रोमान्स ग्ल्यामर पार्टी अभिनेत्री निर्देशक सोच घोषणा कार्यक्रम सेक्स अभिनेता प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,