Home» Cinema »Feature

अहंकार प्रतिबन्धित

फोटो तथा शब्दः अच्युत कोईराला

अहंकार नामक चलचित्रलाई नेपाल चलचित्र जाँच समिति (सेन्सरबोर्ड) ले जाँचपास गर्न अस्वीकार गरेको छ । २०५६ साल यता 'आगो' पछि चलचित्र जाँच समितिले प्रश्न उठाएको एक मात्र चलचित्र यही बन्न पुगेको छ ।

सेन्सर बोर्डले अहंकारको जाँचपास प्रमाणपत्र दिन अस्वीकार गरेपछि निर्माण समूह अत्तालिएको छ । निर्माता सञ्जीवकुमार प्रधानले इनशाडटकमसँग भने- "एक वर्ष लगाएर बनाएको चलचित्र प्रदर्शन गर्नै नदिएपछि मेरो ४५ लाख डुब्ने भएको छ ।" चलचित्रमा आपत्तिजनक कुरा केही नभए पनि एकतर्फी रुपमा बोर्डले निर्णय गरेको निर्माता प्रधानको आरोप छ ।


के छ चलचित्रमा ?

दिनेश कार्कीको निर्देशनमा तयार भएको यो एउटा तराईको कथा हो । जसमा सानोतिनो कुरामा पनि 'पहडिया' र 'मधेसी'को निहुँमा सानोतिनो झडप भइरहन्छ । तर यो झडपलाई केही व्यक्तिहरुले आफ्नो हितमा उपयोग गर्छन् र एउटा गाउँमा नरसंहार मच्चिन्छ ।
त्यसो त एक किसिमले हेर्ने हो भने यो चलचित्र अहिले बनिआएका चलचित्रहरुकै 'स्तर'को हो । फरक के मात्र छ भने यसले पहडिया र मधेसीहरुबीचको सदियौँदेखिको गुप्त असन्तोषलाई चलचित्रमार्फत् देखाउन खोजेको छ । तर एउटा साधारण कथामा बनेको यो चलचित्रलाई गौर हत्याकाण्डले निकै प्रभावित पारेको छ । चलचित्रका दुइ दुश्मन पात्रहरु दर्शकका लागि माओवादी र मधेसी जनअधिकार फोरममा परिणत हुन्छन् ।

चलचित्रले सबैभन्दा ठूलो ठट्टा त गाउँमा नरसंहार मच्चाउन एउटा पण्डित बाजेको षडयन्त्रको चर्तिकलामा सीमित पारिदिएर गरेको छ ।

निर्माताको पीडा

बैशाख ३ गते सोमबार निर्माता सञ्जीवकुमार प्रधान र निर्देशक दिनेश कार्कीले पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रमाथि लागेको प्रतिबन्ध किन र कसरी भन्ने विषयमा छलफल गर्‍यो । चलचित्र विकास बोर्डका अध्यक्ष शैलेस आचार्यले भने- "यो चलचित्रमा अत्यधिक हिंसा भयो । विषय उठाउनु पर्ने थियो, यसले उठायो तर सिनेमामा यति विधि हिंसा छ कि यसलाई दर्शकले पचाउन सक्तैनन् । विषयलाई त राज्यले नै उठाउनु पर्ने थियो, निर्माताले जोखिम उठाएर यस्तो कथामा चलचित्र बनाउनु भयो । यसलाई राज्यले संरक्षण गर्नुपर्छ ।" यता चलचित्र निर्माता केशव भट्टराईले पनि चलचित्रको अन्त्य हिंसात्मक भएकोमा आफ्नो विमति राखेका थिए ।

तर चलचित्र निर्देशक तीर्थ थापाले विषयवस्तु ज्यादै राम्रो भएको बताउँदै यस्ता चलचित्रलाई केही सीमित व्यक्तिहरुले सेन्सर गरेर प्रदर्शन गर्न हुने र नहुने तर्क अघि सार्नु मूर्खतापूर्ण भएको बताए । उनले थपे- "असल जाँचकर्ता त दर्शक हुनुपर्छ । जसले राम्रो सिनेमालाई राम्रो र नराम्रो सिनेमालाई नराम्रो भनी निर्णय गर्ने गरेका छन् । केही सीमित व्यक्तिहरुले जाँचेर यसलाई राम्रो सिनेमा, प्रदर्शन गर्न हुने सिनेमा र प्रदर्शन गर्न नहुने सिनेमा भनी निर्णय गर्नु मूर्ख्याइँ हो ।" उनले नेपालीभन्दा पनि कतिपय हिन्दी चलचित्रहरु योभन्दा हिंसात्मक हुने गरेको तर्क गरेका थिए ।

कार्यक्रममा चलचित्र निर्देशक दिनेश कार्कीले भने- "सेन्सर बोर्डले जति काट्नू भन्ने आदेश दिएको छ, त्यति काट्यो भने यो सिनेमामा गीत र कास्टिङबाहेक केही बाँकी रहँदैन । यस्तो सिनेमा लिएर मैले कसरी प्रदर्शन गर्नु ?" ऋतिक रोशन काण्डपछि यो विषयमा सिनेमा बनाउने सोच बनेको बताउँदै निर्देशक कार्कीले थपे- "एकातिर समीक्षकहरु राम्रो सिनेमा बनाउन नसकेकोमा आलोचना गर्छन्, गम्भीर विषयमा सिनेमा बनाउँदा पनि सरकारको रवैया ठीक छैन । यसरी कसलै सिनेमा उद्योग उँभो लाग्छ ?"

चलचित्रकी नायिका ऋचा घिमिरे आफू अहंकार चलचित्रबाट सन्तुष्ट भएको बताएकी छिन् । उनले भनिन्- "वास्तवमा म पनि मधेसी हुँ । तराइमा अझै पनि कालो र गहुँगोरो रंगबीच धेरै तुष छन् । त्यो तुषलाई हटाउने बेला भइसकेको छ । यही कुरा सिनेमामा देखाउने प्रयास गर्दा सेन्सरले रोक्न किन खोजेको हो त्यो बुझ्न कठिन छ ।"

सेन्सरको पत्रमा के छ ?

आठ सदस्यीय नेपालको चलचित्र जाँच समितिले विभिन्न संवाद र दृश्यहरुलाई आपत्तिजनक मानेको छ । पत्रमा भनिएको छ- "चलचित्रको अन्त्यमा आपसी मेलमिलापको सामान्य सन्देश दिने खालको श्रव्य, दृश्य देखाइएको भए तापनि चलचित्रको शुरुदेखि अन्त्यसम्म भएका सम्वाद र भयावह दृश्यहरु अन्त्यन्त कपोलकल्पित र अतिरञ्जित तरिकाले छायाँकन गरिएको देखियो । यस्तो सम्वाद एवम् दृश्यहरु भएको यस चलचित्र प्रदर्शन भएमा नेपालमा सदियौँदेखि रहेको जात, जाति, धर्म, सम्प्रदायबीचको सुमधुर सम्बन्ध एवम् सांस्कृतिक एकतामा खलल पुर्‍याउन र साम्प्रदायिक दङ्गा भड्काउन मद्दत पुग्न सक्ने देखिएकाले 'पहडिया, मधेसिया, पहडियाहरुको सखाप पारिदिन्छु, मधेसे समुदायको मिटिङ भइरहेको छ । सालेलाई टाउको छिनाइदे, त्यो मधिसे, पहाडेलाई डाँडो कटाइ दिनु पर्छ, मधेसियालाई पारी कटाइदिनु पर्छ भन्ने जस्ता सम्वाद' र 'पहाडी समुदायले मधेसियाहरुमाथि गरेको आक्रमण र मधेसीले पहाडियामाथि गरेको आक्रमण, अर्को समुदायलाई आक्रोसित बनाउन देखाइएको बलात्कारको दृश्य । दुवै समूहबीच भएको छेडछाड, भनाभन, गालीगलौज एवम् दुवै समूहबीच भएको घमासान युद्ध र युद्धमा मारिएका लासका दृश्य एवम् प्रयोग भएको लाठी, भाला, खुँडा, खुकुरी एवम् बन्दूकका दृश्य तथा रगतको आहाल देखाइएका दृश्यहरु' हटाइ सामाजिक सद्भाव र मेलमिलाप कायम रहन मद्दत पुग्ने दृश्य तथा सम्वादहरु उपयुक्त स्थानमा थप गरी उक्त चलचित्र पुनः जाँचका लागि पेश गर्न सम्बन्धित निर्मातालाई जानकारी गराउने निर्णय गरियो ।"

उक्त पत्रमा सेन्सर बोर्डका अध्यक्ष नारायण रेग्मी तथा सदस्यहरु बामन न्यौपाने, जयराम श्रेष्ठ, रमा गुरागाइँ, हेमन्त बुढाथोकी, दामोदरप्रसाद दवाडी, सुरेन्द्र खड्का तथा बोर्डकी सदस्य सचिव प्रभा पाण्डेले हस्ताक्षर गरेका छन् ।

यदि यो चलचित्रलाई जस्ताको त्यस्तै प्रदर्शन गर्न नदिए थप आन्दोलन गर्ने निर्माता प्रधानले बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
कन्ट्रोभर्सी क्या बात ! रोचक ग्ल्यामर पेज 3 नवीनता पार्टी फिल्म फेस्टिबल रोमान्स अभिनेत्री निर्देशक घोषणा सोच सेक्स कार्यक्रम सञ्चारकर्मी अभिनेता प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,