बिहे गर्ने रहर...

बैशाखको वसन्तले हरेक विवाहयोग्य युवायुवतीलाई कुत्कुत्याउने गर्दछ । वैशाखभरि तपाइँ वा तपाइँले चिनेका अनेक विवाहयोग्य युवायुवतीका लागि योग्य वर या दुलहीको खोजी शुरु भइसक्यो होला । यो महिना ७, ८, १३, १४, १५, १६, १७, २२, २३, २४, २५, ३० र ३१ बिहेका लागि उपयुक्त समय ज्योतिषविद्हरुले तोकेका छन् । बिहेको तयारी कस्तो छ त, तपाइँको ?
पछिल्ला समयमा मध्यम वर्गीय युवायुवतीहरु चाँडो र हतारमा बिहे गर्नेतर्फ अरुचि देखाइरहेका छन् । हुन पनि 'हतारमा बिहे गरेर फूर्सदमा पछुताउनु' भन्ने उखान पनि त्यत्तिकै बनेको पनि होइन । वैवाहिक जीवनका खोजकर्ता डेभिड मेस भन्छन्- "बिहे मानवीय सम्बन्धमध्ये सबैभन्दा गहिरो र आनन्ददायक सम्बन्ध हो । तर यो त्यत्तिकै मागपूर्ण पनि हुने गर्दछ । अधिकांश जोडी बिहेका लागि ज्यादै कम सोच्ने र तयारी गर्ने गर्दछन् । तिनले न त बाबुआमाको सल्लाह सुन्छन्, न त सरल तरिकाले वैवाहिक जीवनको पारिवारिक अवतरण गराउन सक्दछन् ।"
यसरी सरल पारिवारिक अवतरण गराउन नसक्दा अधिकांश वैवाहिक सम्बन्ध तिक्ततामा सकिने गरेका छन् । खासगरी यस्तो सम्बन्धबाट महिलाहरु नै पीडित हुने गरेका छन् । कतिपय अवस्थामा आफैँले रोजेको केटी या केटा पनि सोचेजस्तो नभएको गुनासो बिहे गरिसकेपछि व्यक्त हुने गरेका छन् । त्यसैले बिहेअघि सही व्यक्ति छनोट सबैभन्दा महत्वपूर्ण विषय हुने गरेको हो ।
नेपालमा पनि पछिल्लो समयमा पारपाचुके दर बढ्दै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । हरेक वर्ष यौन तथा विवाहमाथि हुने गरेका अध्ययन प्रतिवेदनले राजधानी काठमाडौँमा यो दर प्रति वर्ष बढ्दै गरेको देखाएको हो । मिठासपूर्ण वैवाहिक जीवन तिक्ततामा टुङ्गिएपछि पारपाचुके नगरी पनि त धर छैन !
शहरी युवामाझ प्रेम विवाहको दर बढ्दै गएको छ र प्रेमविवाहको पूर्ण सफलताको 'ग्यारेन्टी' भने कसैले दिन सकेको छैन । सबैभन्दा असफल वैवाहिक जीवन नै प्रेम-विवाह भएको प्रतिवेदनमा उल्लेख गरिएका छन् । सफल विवाहका लागि प्रेम नै सबैथोकको समाधान हो भन्ने गलत धारणा नै विवाह टुंगिने आधार हो । प्रेमको महत्व त छँदैछ तर यो मात्र वैवाहिक जीवनलाई सफल बनाउने महत्वपूर्ण आधार भने होइन । त्यसमा तपाइँको भावना, विचार, मूड र क्षमताले पनि भूमिका खेल्ने गर्दछ ।

विज्ञहरुका अनुसार वैवाहिक जीवनमा सबैभन्दा संकटपूर्ण समय पाँच वर्षसम्म रहने गर्दछ । अध्ययनकर्ताहरुले वैवाहिक जीवन असफल हुनुमा विभिन्न कारणहरु देखाएका छन् ।
१. तपाइँको पेशा र परिवारबीचको असन्तुलन
२. असन्तुष्ट यौनजीवन
३. वैवाहिक ऋण
४. तपाइँको पेशा
५. तपाइँको गिर्दो आर्थिक अवस्था
६. तपाइँबाटको परिवारको आशा
७. लगातारको झगडा
८. आफ्नो मान्छेसँगको सञ्चार सम्बन्ध
९. सासु-ससुरासँगको समस्या
१०. समस्यालाई सुल्झाउने समय अभाव
बिहेअघि या बिहेपछि यस्ता कुरालाई विस्तारपूर्वक छलफल गरी सुल्झ्याउने तर्फ ध्यान दिनु भयो भने तपाइँको वैवाहिक जीवन सुखमय हुन्छ भनी विद्वानहरुको दाबी छ । अब कस्तो वैवाहिक जीवन रोज्ने हो, यो त तपाइँमा निर्भर गर्छ ।
|