Home» Cinema »Biography

जिन्दगीलाई फर्केर हेर्दा...
- प्रस्तुतिः अच्युत कोइराला

२०४४/४५ सालतिर होला ! उनी १२/१३ वर्षकी थिइन् । सरस्वती पूजा आउन लागेको थियो । सरस्वती पूजामा साधारणतया तराइमा रातभर जाग्राम बस्ने र सानोतिनो सांगीतिक र नृत्य कार्यक्रम हुने गर्दछ । त्यो बेला के गर्ने भन्दा स्कूलको तर्फाट एउटा सानो नृत्य समारोह राख्ने कुरा भइरहेको थियो । त्यसका लागि रिहर्सल गरिने भयो तर रिहर्सल गर्दा उनको नाच देखेर स्कूलकी मिस निकै रिसाउनु भयो, लोपार्दै भन्नुभयो- 'इस्स्, तैँले त नाचेर खालिस् !' चित्त दुखेर आयो उनलाई र त्यसपछि डिस्को डान्स चलचित्रको रिमिझिमी... गीतमा नाचिन् र त्यसलाई 'राम्रै' मानियो ।

साथीहरुको अघिल्तिर मिसले त्यसो भनेको देखेर उनको कलीलो हृदयमा ठूलो चोट पर्‍यो । साथीहरुको सामुन्नेमा उनले आफूलाई अपमानित ठानिन् । यसैबीच स्कूल छुट्टी भयो र उनी सानीमाको घर जनकपुर घुम्न भनी गइन् । छुट्टीमा सिनेमा हेर्नु नै थियो, हेर्न पुगिन्- नागिन । श्रीदेवीद्वारा अभिनित यो चलचित्रको नृत्य खूब रुच्यो । अर्को दिन पनि उनले दोहोर्‍याइन् र गीत 'मैं तेरा दुस्मन...' लाई ऐनामा हेरिहेरी उनले खूब अभ्यास गरिन् । जबजब कार्यक्रम हुन्थ्यो, उनले त्यही नागीनको गीतमा नाचिहाल्थिन् । उनको यो नृत्य यति लोकप्रिय भयो कि उनको नाम नै नगीना हुन पुग्यो ।

"मेरो अनुहार हेरेर नै तपाइँले बदमास हो भनेर छुट्याउन सक्नु हुन्छ", भर्खरै अमेरिका फर्कनु केही समयअघि इनशाडटकमलाई उनले भनिन्- "एक दिनको कुरा हो, कोही केटाले मेरो मिल्ने साथी विमलालाई चिठ्ठी पठायो । हामी तीन जना असाध्य मिल्थ्यौँ । म, विमला र मन्दिरा थियौँ । विमलालाई कसैलाई चिठ्ठी पठायो । हामीले सोध्यौँ- तँलाई मन पर्छ - "अँ हँ", साथीले उत्तर दिई । "अब के गर्ने ? बदला लिऊँ", मेरो सुझाव थियो । हुन्छ भन्ने सहमतिपछि त्यो केटालाई कुर्न थाल्यौँ । हामीभन्दा सिनियर थियो, हामी सात कक्षा पढ्थ्यौँ । टिफिनको समयमा जहिले पनि आउने हुनाले त्यही समयमा उसलाई बदला लिने कुरा बन्यो । र, हामीले एउटा योजना बुन्यौँ- "त्यो केटाकहाँ सरासर जाने, त्यसको अघिल्तिर लब लेटर च्यात्ने र उसलाई चप्पलले हिर्काउने ।" "अनि उसले कुट्यो भने ?" विमलाले शंका व्यक्त गरी । "हामी छँदै छौँ नि", सारंगाले हिम्मत दिइन् ।

विमला त्यसपछि टिफिन टाइम कुर्न थालिन् । नभन्दै त्यो केटो आयो, केही साथीहरुका अघिल्तिर पहिलेझैँ गफ दिन थाल्यो । सारंगाले विमलालाई उक्साइन्- "जा त्यसको अघिल्तिर चिठ्ठी पनि च्यातिदे र त्यसलाई चप्पलले गाला चड्काइदे ।" केटालाई चप्पलले गालामा डाम बसाउने कुराले विमला अत्तालिई । तर उनले ढाढस दिइन् । "ऊ गई, केटाको अघिल्तिर पुगेर उसले केटोको कुममा हातले कोट्याई । केटोले उसतिर हेर्‍यो । विमलाले प्रेमपत्रलाई ध्यार्रध्यारी च्यातिदिई । त्यसपछि हतारहतार चप्पल खोलेर दुइ जुत्ता हानी । केटोको पारो तात्यो । रिसले कालोनीलो हुँदै त्यसले विमलालाई कुट्न तम्सियो । तर यो रमिता हेरिरहेका हामी आएर कुट्न दिएनौँ । उल्टै जथाभावी उसलाई गाली गर्‍यौँ, 'केटी मान्छेलाई हात हाल्न तँलाई लाज लाग्दैन ? तैँले अर्काकी छोरीलाई लब लेटर लेख्न पाउँछस् ?' पछि यो घटनाले निकै ठूलो रुप लियो र यो योजना बुनेका कारण मलाई हेडसरका अघिल्तिर उभ्याइएको थियो", सोफामा अडेसलाग्दै ती रमाइलो क्षण उनले सम्झिइन् ।

अर्को रोचक कुरा के छ भने- नगीना फिल्ममा नाचेपछि उनको नाम नै परिवर्तन भयो । अरुले उनलाई नामले भन्दा पनि फलानोकी छोरी नगीना भन्थे । त्यसबेला खोलामा नुहाउन ठूलो रमाइलो हुन्थ्यो । एउटा साथीलाई लिएर उनी खोलामा नुहाउन जाँदैथिइन् । त्यही बेला, एउटा किराना पसलको पसलेले भन्यो- "देख देख नगीना गेले ।" उसको सरारती टोन थियो, त्यो बोलाइमा । उनलाई कसोकसो चित्त बुझेन । उनी हक्की स्वभावकी थिइन् र उससित भिड्न पुगिन् । ठिंग उभिएर फरक्क फर्किइन्, त्यसले आफ्ना काला दाँत देखायो । "तु केकरा कहिल्ये नगीना ? केकरा कहिल्ये ?" सारंगा कड्किन थालिन् । "तोरा कहिल्छे के ! हम एसे बतिया रहेल्छे, दोस्त से", आफूले गल्ती गरेँ भन्ने भावले सच्याउन खोज्यो । "कत्ते छे तोरा दोस्त हँ ?" उनी अझ कडकिन्- "हमरा जिस्कावैछे ?" ठूलो स्वरका कारण वरिपरि निकै ठूलो भीड लागिसकेको थियो । भीडका कारण केटो निकै डरायो र घरभित्र लुक्यो । ऊ लुकेपछि सारंगाको हौसला अझै बुलन्द भयो । उनी झन् ठूलो स्वरले कड्किन थालिन्- "तोरा जुत्तेजुत्ते से मार के दाँतसाँत गिरा देवे । गिन्ते रहे जेवे, बुझ्ले कि न ? बाहर निकल ।"

पछाडिबाट एउटा आवाज आयो- "बैनी छोड्दिनुस्, साला यो मधीसेहरुको बुद्धि हुँदैन । माफ गरिदिनुस् ।" यो विशुद्ध नेपाली भाषामा गरिएको अनुरोध थियो । उनले पछाडि फर्केर आवाज आएतिर हेरिन् । एउटा अधवैंशे मानिस देखिन् । एउटा विशुद्ध मधेशी पहिरन लगाएको पक्का मधेसीको त्यो अनुरोध सुनेर मेरो उनको रिस गायब भयो र त्यहाँ एउटा हास्य सिर्जना भयो- जसका कारण उनले आफ्नो रिस नै भुलिन् । यस्तो बदमास थिइन्, आफूले भनेको कुरा नै हुनुपर्ने जिद्दी स्वभावकी । तर पछि उनमा त्यो भावना विस्तारै हराउँदै गयो ।

नृत्यप्रति उनको यति रुचि थियो कि बिहे बटुलामा जाँदा रातभरि नाचेर बिहानै बनाइदिन्थिन् । यस्तो क्रेजी थिएन् उनी नृत्यप्रति ।

स्कूलस्तरीय नृत्य तथा सांस्कृतिक कार्यक्रम हुँदा उनलाई नै सम्झिइन थालियो । सर्लाही जिल्लास्तरीय नृत्य प्रतियोगितामा उनले कति पटक वीरेन्द्र शील्ड नै जितेकी थिइन् । यस्तै कार्यक्रममा एक पटक संगीतकर्मी प्रदीप बमजनले सारंगाको मोहक नृत्य हेर्न पुगेका थिए । उनको नृत्यबाट प्रभावित भएर बमजन सोधिसोधि उनको घर पत्ता लगाए । उनले सारंगातिर औँला सोझ्याउँदै भने- "यी नानीको भविष्य ज्यादै उज्ज्वल छ । यिनलाई नृत्यमा नै लगाउनुस् ।"

काठमाडौँबाट आएका बमजनको भनाइलाई उनका पिताले साह्रै आना सही मानेर उनलाई २०४७ सालमा काठमाडौँ पठाइदिए । काठमाडौँमा उनले नाचघरमा नाटक, नृत्यको जागीर खान थालिन् । यसपछि उनको वास्तविक कलाकारिता शुरु भयो ।

त्यतिबेलै उनले 'अमिट वासना' टेलिड्रामामा अभिनय गरिन् । उनको सानो भूमिका थियो । त्यसपछि 'सत्असत्' । भिडियो फिल्म 'कमारो'मा एउटा सानो भूमिका पाएकी थिइन् । त्यसपछि 'मायाजाल'मा खेलिन् ।

"एक दिन अचानक हातमा हेलमेट लिएर एउटा व्यक्ति छिर्‍यो- 'सारंगा बैनी को हुनुहुन्छ ?' मेकअपबाहिर मलाई धेरैले अर्कै देखिन्छ भन्छन् । शायद उहाँले मेकअपबाहिर देखेकाले झन्नै नचिन्नु भएको हुनसक्छ । उहाँले ठूलो पर्दाको सिनेमाको प्रस्ताव लिएर आउनु भएको रहेछ । त्यसबेला ठूलो पर्दाको सिनेमा भन्ने बित्तिकै ठूलो कुरा हुन्थ्यो । उहाँले मिलन सिनेमाका लागि आइटम डान्स लिएर आउनु भएको थियो । मैले त्यो आँखा चिम्लिएर स्वीकार गरेँ । यो सिनेमा मेरालागि किन महत्वपूर्ण छ भने यसपछि मैले मेरो जीवनमा काका बुवाजस्तै एउटा अभिभावक पाएकी थिएँ । वसन्त श्रेष्ठ मेरो जीवनमा त्यति महत्वपूर्ण हुनुहुन्छ । उहाँको सही निर्देशनले मलाई यहाँसम्म आइपुग्न ठूलो मद्दत गरेको छ", कोटेश्वरस्थित डेरामा उनले पंक्तिकारलाई बताइन् ।

मिलनपछि भाउजूमा चार सिनका लागि काम गरिन् । राजेश हमालको भतिजी भएर उनले खेलेकी थिइन् । केही वर्षमै उनलाई केही राम्रा सिनेमाको प्रस्ताव आयो । जसले उनी एउटी राम्रो कलाकारको रुपमा चिनिन थालिन् ।

हे संगीता !
पहिला म नगीनाको रुपमा चर्चित थिएँ, त्यसपछि नीरमाया सिनेमामा नीरमाया भनेर । सुनचाँदीपछि त मलाई संगीता नै भन्न थाले । यो गीतको हल्ला यति ठूलो थियो कि संसदमा समेत यसको हल्ला भएछ । मलाई चाहिँ कस्तो लाग्छ भने सांसदहरुले कसले कस्तो लुगा लगाउँछ भन्दा पनि बढी महत्व गाउँको विकास, शहरको योजना र देशका बारेमा ध्यान केन्द्रित गर्नुभए राम्रो हुन्थ्यो !

केही समयअघि मैले श्रीमानलाई लिएर असन गएको थिएँ । केही केटाहरुले हे संगीता भनेर जिस्क्याए । मैले चाहिँ त्यो सुनेको नसुनै गरिरहेँ । मेरो श्रीमानले भन्नुभयो- "आइ थिङ्क, दे आर कलिङ यु ।" "यस् दिस् इज् वन अफ माई फिल्म सङ", मैले उहाँलाई बताएँ । त्यसपछि त के थियो र, मलाई उहाँले बोलाउनु परे उहाँले नै भन्न थाल्नुभयो- "हे संगीता ! कफी प्लीज !"

आगोको कुरा
एउटी पीडित केटीले आफ्नो बलात्कारको बदला लिन माओवादी बनेको भूमिकामा आगो सिनेमामा म छानिएकी थिएँ । मलाई त्यतिबेला त्यो चरित्र मात्र बदला लिने चरित्र हो भन्ने ठानेकी थिएँ । के कारणले त्यो भूमिका विशिष्ट हो भनेर मैले थाहा पाएकी थिइनँ । तर झन्नै ६ वर्षको ग्यापपछि पनि आगोको रिसुट गर्ने कुराले म पुलकित भएँ । किनभने त्यहाँ पहिले गर्न नसकिएको काम अहिले थपिएको थियो । एउटा वास्तविक जुझारु माओवादी कमाण्डरको भूमिका बनाइएको छ । पहिले मेरो फोटो पोष्टरमा सबैभन्दा मुनि र सानो टाउको हुने गर्दथ्यो, अहिले त्यो टाउकोको आकार बढेको छ र अरु नायिकाभन्दा माथि राखिएको छ । त्यसबाट थाहा हुन्छ, समयले कस्तो परिवर्तन ल्याउँदो रहेछ । मलाई लाग्छ, अहिले त्यो सिनेमामा मेरो भूमिकाको वास्तविक न्याय भएको छ ।

सिनेमाबारे
मैले कहिले पनि भूमिकाको बारेमा दुःखी हुनु परेन । किनभने मैले सबैजसो भूमिका खेलेँ । त्यसैले मलाई कुनै पार्टिकुलर रोल रोनाधोनाका लागि मात्र सुहाउने भनेर कुनै ठप्पा लागेन । सिनेमामा काम गर्दै जाँदा मेरालागि आमा-बुवापछि तीन जना व्यक्तिले मेरो जिन्दगीमा नभुल्ने गुन लगाएका छन् ।

वसन्त श्रेष्ठ, नारायण पुरी र अशोक शर्मा मेरो जिन्दगीमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति हुन् । वसन्त श्रेष्ठले एउटा छोरीजस्तो व्यवहार गर्नुभयो । अशोक शर्माले मेरो करियरमा केही गरेर देखाउने मौका दिनु भएकाले म बिर्सन सक्तिनँ । नारायण पुरीले चाहिँ सहयोगी हुनुहुन्छ । उहाँ चाहिँ दुःखसुखको साथी हुनुहुन्छ । अमेरिका जाँदा अमेरिकाका लागि जुन टिकट मेरो हातमा थियो, त्यो उहाँले नै काटिदिनु भएको थियो । अरु पनि जिन्दगीमा धेरै सहयोगी बनेर आएका थिए । तर महत्वपूर्ण व्यक्ति चाहिँ उहाँहरु नै हो ।

महत्वपूर्ण फिल्म
नीरमाया - शोषित नारीको विषयमा बनेको सिनेमा । बलात्कारीहरुसँग डराएर बस्नु हुँदैन, त्यसको विरुद्ध लड्नु पर्छ भन्ने सन्देश थियो ।
सुनचाँदी - त्यसको गीतका कारण ।
मोहनी - मैले यसमा एउटा वन साइडेड लबरको भूमिका खेलेको थिएँ ।
आगो - एउटा क्रान्तिकारी कमाण्डरको भूमिका ।

मलाई मन पर्छ
नयाँ नायिकामा मलाई सञ्चिता लुइटेल ज्यादै मन पर्छ । ऊ मलाई गुडियाजस्तो लाग्छ । म उसलाई बोलाउँदा पनि गुडिया नै भन्छु ।

विदेशको सोच
कहिल्यै सोचिनँ, म विदेश जाउँली र त्यतै बसुँली । तर त्यस्तै भयो । मसँग त सन् १९९७ देखि नै अमेरिकाको भिसा थियो । सिनेमा कम बन्न थाल्यो, भोकभोकै हुने अवस्था हुन लाग्यो । त्यही बेला मैले निर्णय गरेँ- विदेश त जानै पर्छ । र, म २००१ मा अमेरिका गएँ ।

जिन्दगीलाई फर्केर हेर्दा...
धूलो मैलो खेल्दै, संघर्ष गर्दै गाउँबाट काठमाडौँ आएर चलचित्र खेलेर एउटा नाम बनाएर आइपुग्दा कहिलेकाहीँ मेरो जीवन सिनेमाकै कथा पो हो कि जस्तो पनि लाग्छ ।

फोटोहरुः नवराज वाग्ले



Related Link
अमेरिकीसँगको प्रेमकथा

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Related Tags:
अभिनेत्री ग्ल्यामर नवीनता क्या बात ! फिल्म फेस्टिबल निर्देशक कन्ट्रोभर्सी पार्टी अभिनेता पेज 3 रोमान्स रोचक सोच सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,