पाण्डालाई ब्लु फिल्म ! थाइल्याण्डको एक चिडियाघरका अधिकारीले आफ्नो चिडियाघरमा पाण्डाको संख्या बढाउन त्यहाँका चुआङ चुआङ र लिन हुइ नामका पाण्डाहरुलाई नीलो चलचित्र (ब्लु फिल्म) देखाएर उत्तेजित बनाउँदै तिनबाट गर्भाधान गराउने प्रयास केही महिना अघि गरेको थियो । तर त्यो प्रयास असफल भएपछि चिडियाघरका अधिकारीहरु अहिले पोथी पाण्डामा कृत्रिम गर्भाधान गराउने प्रयास गरेका छन् ।
लिन हुइलाई गर्भवती बनाउन यसअघि यही चिडियाखानाका अधिकारीहरुले दुबै भालेपोथीलाई पाण्डाहरुद्वारा नै यौन सम्पर्क राखेका अनेकन भिडियो देखाएर तिनलाई उत्तेजित बनाइएको थियो । तर चुआङ चुआङ यौन सम्पर्कका लागि अरुचि देखाइरहेको थियो ।
"त्यत्रो भिडियो देखाउँदा पनि चुआङले आफ्नी पोथीप्रति रुचि देखाएन", सोफोन डुमुइ, थाइ जु अर्गनाइजेशनका प्रबन्ध निर्देशक सोफोन दुमुइले ऎपी सम्वाददातासँग भने- "चुआङले आफ्नी पोथीप्रति कुनै रुचि नदेखाएको हामीले स्पष्टसँग चाल पायौँ ।" "यदि उनीहरुबीच प्राकृतिक यौन संर्सगको रुचि बढाएर गर्भाधान गराउन सकेनौँ भने कृत्रिम गर्भाधान गराउन हामी बाध्य छौँ", दुमुइको भनाइ थियो ।
छ वर्षको चुआङ चुआङ र पाँच वर्षकी लिन हुइलाई सन् २००३ मा चीनबाट १० वर्षका लागि दुइ लाख ५० हजार डलरमा भाडामा किनेर ल्याइएको थियो । यो ल्याइसकेपछि पर्यटकहरुबाट लाखौँ डलर कमाउने आशामा थिए । त्यसयता चुआङ चुआङ र उनकी पोथी साथीलाई यौन सम्पर्क गराउन चिडियाघरका अधिकारीले अनेक प्रयास गरिरहेका छन् । तिनले चुआङ चुआङलाई विशेष डाइट खुवाइरहेका थिए भने गर्भाधान गरुन् भनेर ठट्यौलो बिहेसमेत गरिदिएका थिए । बाँसको घाँसका प्रेमी यी जनावरमाथि थाईल्याण्डमा यस्तो प्रयोग गरिएको यो पहिलो पटक हो । तर चीनमा भने यस्ता अनेक सफल प्रयत्न गरिसकिएको छ । सन् २००६ मा मात्र चीनमा ३० वटा पाण्डाका सन्तानहरु सफलतापूवक कृत्रिम गर्भाधानबाट जन्माइसकिएका छन् । संसारबाट नै विलुप्तको खतरामा परेका यी जनावरको यो सफल प्रयोगबाट उत्साहित भएर अमेरिकाका चिडियाघरमा समेत यही प्रक्रिया अपनाइरहिएको छ ।
१ हजार पाँच सय ९० ज्युँदा पाण्डामध्ये अधिकांश सिचुआन र साङ्क्सी प्रान्तमा मात्र पाइन्छन् । जायन्ट पाण्डा भनेर चिनिने यी पाण्डाको गर्भाधारण दर निकै कम छ र यी यौनिक क्रियाकलापमा निकै कम चाख राख्ने गर्दछन् । पोथी पाण्डा वर्षको एक पटक मात्र गर्भवती हुने गर्छे र प्रायः दुइ वटा बच्चा मात्र जन्माउने गर्छे । त्यसो त विज्ञहरुका अनुसार थुनिएर राखिएका पाण्डाहरु प्राकृतिक रुपमा स्वच्छन्द पाण्डाभन्दा कम गर्भधारण गर्ने किसिमका हुन्छन् ।
कृत्रिम गर्भाधारण नेपालमा समेत कति लोकप्रिय छ भने पछिल्लो समयमा हात्ती र गैँडाको संख्या बढाउन नेपालले पनि यस्ता कृत्रिम गर्भाधान अपनाएका छन् । तर हात्ती या गैँडालाई यौन क्रियाका लागि उत्तेजित बनाउन कुनै 'त्यस्तो' फिल्म देखाइएको भन्ने अहिलेसम्म थाहा छैन ।