परदेशको पीडा

परदेशमा हुँदा देशको कति माया लाग्छ ? यसको मापन त परदेशिएकालाई नै थाहा हुन्छ । त्यसो त परदेशमा रहँदाबस्ता देशै बिर्सनेहरुको पनि कुनै कमी छैन । परदेशमा कुस्त पैसा कमाएर आफ्नो वैभवशाली जिन्दगीमा गर्व गर्दै- "डार्लिङ, नेपाल त खत्तम भइसक्यो !" भन्नेहरुकै आधिक्य छ । तर परदेशमा रहँदा आफ्नो देश र जाति (नेपाली जाति) को पीडालाई कवियत्री आचार्य प्रभाले कवितामा ढालेकी छिन् ।
आचार्य प्रभा अमेरिकामा भए पनि उनको काव्य सिर्जनालाई हिजो शनिबार साझा प्रकाशनका अध्यक्ष विष्णुविभु घिमिरेले विमोचन गर्दा धेरैले उनको मनलाई यतै कतै भएको अनुभूत गरे । डा. गोविन्दराज भट्टराईले त अमेरिकामा दिनप्रतिदिन नेपाली कविहरु जन्मिएकामा खुशी व्यक्त गरेका थिए । त्यस्तै डा. सञ्जीव उप्रेतीले कविता संग्रहमा आम नेपाली नारीको पीडा प्रष्फुटित भए पनि 'नयाँ नेपाल'की नारीको भावना समावेश हुन नसकेको भनी आलोचना गरेका थिए ।
एक सय तीन वटा कविताहरु समेटिएको यो संग्रहमा मूलतः राष्ट्रिय भावना, विदेश अनुभूति, मानवता, नारीसम्बन्धी विषयहरु समेटिएका छन् ।
प्रभा नेपाली पप गायक-गायिकाहरुकी प्रिय गीतकारका रुपमा परिचित छिन् । उनका गीत ओमविक्रम विष्ट, विवेक श्रेष्ठ, कर्मा ब्याण्डका सुरेन्द्रमान सिंह, सञ्जीप प्रधान, सरिश्मा अमात्य, दिपेशकिशोर भट्टराई आदिलगायत थुप्रैले उनको रचना गाइसकेका छन् । |