संसारका सबैभन्दा जीवित अग्ला व्यक्ति चीनको भित्री मंगोलियाका बाओ जिसुनलाई जिन्दगीमा एक पटक बिहे गरेर मर्ने रहर थियो । ५६ वर्षको उमेर भइसक्दा पनि बिहे गर्न उनको उचाईले रोकिरहेको थियो । अन्ततः उनले दुलही फेला पारेका छन् र उनले आफूभन्दा लगभग आधा उमेर र आधा आकारकी जहान फेला पारेका छन् ।
चिनियाँ अखबार पिपुल्स डेलीका अनुसार ५६ वषीय बाओ २.३६ मिटर (७ फिट ९ इन्च) अग्ला छन् र त्यही कारणले गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई सन् २००५ जनवरी १५ मा नाम दर्ता गराएको थियो । उनकी दुलही चाहिँ २९ वर्षी र मात्र १.६८ मिटर (५ फिट ६ इन्च) की छिन् । उनी एउटा डिपार्टमेन्टल स्टोरमा काम गर्छिन् ।
उनलाई मर्नुअघि हित्तचित्त मिलेकी दुलही बिहे गर्ने खूब रहर थियो । उनको बिहेका लागि संसारभर केटी नखोजिएको पनि होइन तर अन्तिममा आएर जिया शुजुआनसँग बिहे हुन पुग्यो । शुजुआन पनि चीनकै भित्री मंगोलिया निवासी नै भएको बेइजिङ न्यूजले जनाएको छ ।
१५ वर्षको उमेरसम्म एउटा साधारण युवाजस्तै हुर्किएका उनी त्यसपछि भने हृवात्तै बढेका थिए । उनको अग्लाईको कारण भने अझैसम्म डाक्टरहरुले पत्तो पाउन सकेका छैनन्, गिनिज बुकले आफ्नो वेबसाइटमा लेखेको छ । सेनामा बास्केट बलका खेलाडी बाओले आफ्नो जागीरपछि भित्री मंगोलियाको पोल्ट्री फार्ममा काम गर्ने गरेका थिए ।
गएको डिसेम्बरमा उनले प्लास्टिक चपाएका दुइ डल्फिनको मुखबाट डेढ मिटर लामो हातले प्लास्टिकका टुक्रा झिकेर तिनको ज्यान जोगाएको खबर अखबारले छापेका थिए ।
सन् १९५१ मा भित्री मंगोलियामा जन्मिएका पाँच दाजुभाइदिदीबहिनीमध्ये काइँला उनको यो बिहेपछि उनका परिवारले खुशी मनाएका थिए । उनकी नवदुलहीले बिहेपछि भनिन्- "मन ठूलो कुरो हो, साइज होइन !"