- क्षितिज रेग्मी
सधैंको पेट्रोलको लाईन बस्दा बस्दा हायल कायल भएपछि आज मैले मोटरसाईकललाई घरमै थन्काएर माईक्रो चढ्ने सुरले घरबाट निस्केँ। भरखर खाना खाको पेट त्यसमाथि काठमाण्डौको धुलो, एकछिन त बैराग लाग्यो। सवारी साधन नहुने, तर समयमा गन्तब्य पुग्नु पर्ने हज्जारौ नेपालीले दिनानुदिन के कस्ता कठिनाई भोग्नु पर्दो रहेछ भनेर टेस्ट गर्न मन लाग्यो। दोबाटोमा कुर्दा-कुर्दा एउटा माईक्रो हुँईकिदै आयो। त्यसको ढोकामा मानिसहरु दशैंको पिंङ्गमा झुलेझै झुलिरहेका थिऎ। शुरुमा त डर लाग्यो। फुच्चे कन्डक्टर भाईले ठाँउ छ भन्दा भन्दै, ढिलो भई सकेतापनि त्यो गाडी चड्ने आँट आएन। एकछिन यता उता दौडेपछि एउटा खाली-खाली मिनीबस आयो। बस चढियो, अल्छि मानीमानी बस अगाडि बढ्यो।
कन्डकटर भाई पैसा उठाँउदै मेरो अघिल्तिरको एक महिला छेऊ पुग्यो। चानचुन मिलाईवरी उनले रू ६ भाईलाई दिईन्। कन्डक्टरले पैसा गन्यो अनि तिखौरो स्वरमा चढ्क्यो “दिदी १ रूप्याँ त पुगेन नि” आफूले वर्षौ पढेर सिकेको हिसाबलाई गुणन गर्दै विधार्थी बहिनीले '९ को ६ हुदैन ?' भनेर झन् चर्को स्वरमा कराईन्। सबैको कान ठाढो भयो। भद्र भलाद्मि केहि बोल्नु अघिनै एकसुरमा गाडि हाँकीरहेका ड्राईभर सबभन्दा ठुलो आवाजमा कराए। “ के-के-को-को यो लङ रुट होर पुरै डिस्काउन्ट पाउन, रेट नै हो ७-९ ।” अचम्म संग सन्किएको ड्राईभरको आवाज सुनेपछि विधार्थी चुप्प लागिन्।
रिसले हो कि केले हो दाईने हातले स्टेरिँग घुमाएर देब्रे हातले एक खिल्ली चुरोट निकाले अनि अफिसटाईममा खचाखच भरिएको बसभित्रै सल्काएर एक लामो सर्को ताने। बस भित्र बुढा, बच्चा, आईमाई, बिरामी सबै थिए। कसैले केहि बोलेनन्। ड्राईभरसंगै बस्नेले पनि नदेखेको जस्तो गरे। मैले पनि केहि बोलिन, धेरै पछि लोकल बस चढेको हुनाले यो नयाँ नियम हो कि जस्तो लाग्यो।
मैले ब्यागबाट क्यामरा निकालेर बसको रेयर भ्यु मिररमा परेको ड्राईभरको प्रतिबिम्बलाई क्याप्चर गरे। तस्वीरको क्वालिटी त राम्रो छैन तर नेपाली नागरिकको यस्तो गैरजिम्मेवार क्रियाकलापको एउटा प्रमाणको रुपमा रहने छ।