चीनका एक किसानले पालेको एउटी कुखुरीले अँग्रेजी ८ अंकजस्तो अण्डा पारेकी छे । उत्तरी चीनको हेबर्ेइ प्रान्तस्थित शिजियाझुङ गाउँकी श्रीमती दोङले पालेको कुखुरीले एक रात ज्यादै कराएर हैरान पारेकी थिई ।
"कुखुरीले त्यसरी हल्ला गरेको मैले आजसम्म थाहा पाएकी थिइनँ", त्यो रात सम्झँदै दोङले भनिन्- "किन होला भनेर मैले भोलिपल्ट मात्रै चाल पाएँ, जतिबेला मैले अनौठो किसिमको अण्डा कुखुरीले छोपेकी देखेँ ।" यस्तो अण्डा त्यो कुखुरीले पाउली भन्ने उनले सोचेकी थिइनन् । त्यसैले धेरै हल्ला भयो भनेर कुखुरीको सञ्चो विसञ्चो हर्ेन जाँदा चाहिँ कुखुरी चुप लागेर बसिदिई ।
"म उसैलाई हर्ेन भनेर गएकी थिएँ तर चुपो लागेर मलाई हेरिरही", उनले थपिन्- "त्यतिबेला चाहिँ उसले कराइन, न त कुनै अनौठो आवाज नै निकाली । त्यै भएर उसलाई के भयो होला भनेर तत्कालै थाहा पाउन चाहिँ सकिनँ ।"
भोलिपल्ट उनले आफूलाई खान भनेर अण्डा झिक्न जाँदा त अनौठो आकारको अण्डा देखिन्, जुन उनले सपनामा पनि चिताएकी थिइनन् । त्यसपछि त यो कुरा उनको गाउँभरि फिँजियो । गाउँका मान्छेले पनि यो अण्डा नबेच्ने सल्लाह दिए, बरु यसलाई सङ्कलन गर्न सुझाव दिए । यसलाई अहिले उनले आफ्नो प्यारो बाकसमा सुरक्षित साथ राखेकी छिन् ।
यता प्रान्तकै सबैभन्दा ठूलो विश्वविद्यालय हेबर्ेइ विश्वविद्यालयका लाइफ साइन्स डिपार्टमेन्टका प्रोफेसर वु येफेङले भने- "यो आकारको अण्डा त मैले पनि जीवनमा देखेको थिइनँ । तर यस्तो कहिलेकाहीँ हुनु स्वाभाविक हो । कहिलेकाहीँ कुखुरीले खाने खानामा क्याल्सियमको कमी भयो भने यस किसिमको समस्या देखिन सक्छ ।"