Home» Cinema »Feature


एउटा नेपाली दुःखमा रुँदा अर्को पनि रुनु पर्छ
तिमी देशको छातिमा उभेका छौ, तिम्रो पनि छातिमा देश हुनुपर्छ


तुलसी घिमिरेले नयाँ चलचित्र शुरु गर्दैछन्, 'देश' र नामैले यो देशभक्तिपूर्ण सिनेमा बन्ने कुरामा शंका छैन । (चलचित्रको गीतमध्ये एक माथिको हरफले पनि त्यही छनक दिन्छ ।) तर 'देश'सँगै निर्देशक घिमिरेले आफू परिवर्तन भएको स्पष्ट संकेत दिएका छन्, सङ्गीतकारका रुपमा शम्भुजीत बासकोटालाई लिएर । बासकोटा र घिमिरे आ-आफ्नो विधाका सुपरस्टार भएर पनि अहिलेसम्म एकअर्काको चलचित्रमा काम गरेका थिएनन् । शनिबार एउटा भोज कार्यक्रममा यी दुवै भोजन कम र 'साइड टक' गर्न ज्यादा व्यस्त देखिन्थे ।

आइतबार त यिनीहरुको व्यस्तता झनै बढेर गयो, सानोतिनो पूजाआजा सकिएपछि प्राइम स्टुडियोमा यो चलचित्रको सङ्गीत 'इर्न्सट' कार्यक्रममा गीतको लय र धून प्रति गहन छलफल पनि चलिरहेको थियो ।

यो चलचित्रमा घिमिरेका ससुरा रञ्जीत गजमेरको सङ्गीत छैन, किन - "शम्भुजीतलाई लिनुपर्ने अडान उहाँ कै हो", स्पष्टीकरणको शैलीमा घिमिरे बताउँछन्- "योभन्दा अघि पनि जब मैले 'पहाड' सिनेमाको घोषणा गरेको थिएँ, रञ्जित दाइले (ससुरालाई उनी दाइ नै सम्बोधन गर्छन् ।) स्पष्ट शब्दमा गोपाल योञ्जनलाई लिनुपर्ने अडान राख्नु भएको थियो ।" तर त्यो चलचित्र भने बनेन ।

त्यसो त जहिले पनि बम्बईमा रेकर्डिङ हुन्थ्यो, बासकोटा फूलको बुकी बोकेर गजमेरलाई भेट्न गइरहन्थे । बासकोटाको त्यो नरमपना (बाहिरबाट उनी अलि कडा देखिन्छन् ।) देखिरहेका घिमिरे उनको प्रतिभाबाट उत्तिकै प्रभावित थिए । त्यो चाहिँ अहिले मात्र जुर्‍यो ।

त्यसो त गजमेरको इच्छा नारायणगोपाललाई घिमिरेको चलचित्रमा सङ्गीत दिलाउनु पनि रहेको थियो । "उहाँ चाहनु हुन्थ्यो कि नारायणगोपालले कुनै रोमान्टिक सिनेमाका लागि सङ्गीत गर्नुहोस्, तर त्यो गोपालयोञ्जनको जस्तै पूरा भएन", यतिबेला घिमिरे सम्झन्छन्- "तर देशप्रेमले ओतप्रोत सिनेमाका लागि शम्भु नै ठीक हुन्छ भन्ने उहाँको सल्लाहअनुसार मैले उहाँलाई अनुबन्ध गरेको हुँ । शम्भुजीत इज द राइट पर्सन, यो फिल्मका लागि ।"

रेखा थापाको छोटो मिनिस्कर्टमा दर्शक लोभ्भिइरहेका बेला देशभक्तिको विषय कत्तिको बिकाऊ विषय हुनसक्ला त ? यो चाहिँ निर्देशक घिमिरेलाई पनि थाहा छैन तर भन्छन्- "यो मेरो चित्तले खाएको विषय भएकाले यसमा देशका उत्कृष्ट व्यक्तित्वहरुको जमघट भने अवश्य हुनेछ ।" हुन पनि राजेश हमाल, निखिल उप्रेती, निरुता सिंहजस्ता अहिलेका बल्दा कलाकार र स्वयम् घिमिरेजस्ता पोख्त निर्देशकसँगै मेलोडीका बादशाह शम्भुजीत पनि सँगै गाँसिनु एउटा सुखद् पक्ष हुनसक्छ दर्शकका लागि ।

देशको विषय व्यवसायिक रुपमा हिट भए पनि नभए पनि राम्रो बनाउने इमान्दार प्रयास आफ्नो तर्फबाट हुने घिमिरेको भनाइ छ ।

देशमा अहिले सवाइको रजाइँ छ । हिजोसम्म राजाको सवाइँ गाइन्थ्यो, आज माओवादीमाथि (सवाइ गाइरहिएको छ) सिनेमा बनाउनेको भीड छ । जहिले पनि जनताका लागि भनेर डमरु बजाउने प्रयास गरे, तर त्यो डमरु कहिल्यै जनताका लागि वास्तविक रुपमा बजेन । तर यस्तो अवस्थामा वास्तविक देशको पीडा के छ भनेर घिमिरेले देखाउने प्रयास गरे भने दर्शकले उनलाई स्याब्बासी नै दिनेछन् ।

चलचित्रमा चार गीत हुनेछन् भने सबै गीत घिमिरेले नै लेखेका छन् । अहिलेसम्म १८ वटा चलचित्र निर्देशन गरिसकेका घिमिरेले बनाइरहेको 'देश'को मुख्य पात्र चाहिँ पत्रकार नै छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
निर्देशक नवीनता घोषणा क्या बात ! फिल्म फेस्टिबल ग्ल्यामर कन्ट्रोभर्सी पार्टी अभिनेता पेज 3 रोमान्स अभिनेत्री रोचक सोच सञ्चारकर्मी कार्यक्रम सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,