Home» Cinema »Feature



- अच्युत कोइराला

सिनेमामा प्रहरी भएर बदमासहरुलाई खोरमा हाल्ने नायिका झरना थापालाई झन्नै आफै खोर पुग्नु पर्‍यो । यो हामीले भनेको होइन, यो खबर शुक्रबार साप्ताहिकले छापेको हो । समाचारको भोका हामीले नायिका झरना थापालाई सोध्यौँ- 'के त्यो कुरा साँचो हो ?' इ-नशाडटकमसित उनले अखबारमा छापिएको समाचारबारे चित्त दुखाइन्- 'मलाई प्रहरी कार्यालय (हनुमानढोका) बोलाइएकै छैन, तर अखबारले कुरै नबुझी मलाई बयानका लागि झिकाएको लेखिदियो ।'

समाचारको महत्व यहीँ सकिएको छैन । यो त भर्खर शुरु भएको छ । उनले गएको महिना बुढासुब्बा म्युजिकबाट "बेष्ट अफ झरना थापा" भीसीडी बजारमा के ल्याएकी थिइन्, मानौँ अरिङ्गालको गोलो चलाइन् ।

समाचारअनुसार उनले आफूद्वारा अभिनित चलचित्रहरुको गीति चक्का बजारमा ल्याउन बुढासुब्बा म्युजिकलाई दिएकी थिइन् । जसमा उनका श्रीमानद्वारा निर्मित चलचित्रहरु धर्मसङ्कट, गोर्खाली, ए मेरो हजूरलगायत अन्य निर्माताका हिट गीतहरु पनि समावेश गरेर बजारमा ल्याइएको थियो । जसमध्ये हंगामा, हामी साथी भाइ, मुग्लानजस्ता गीत समेत राखिएका थिए ।

आफूले खेलेका तर बजारमा त्यसको भीसीडी ल्याउने अधिकार क्षेत्रभित्रै नपरेका चलचित्रका गीत समावेश भएपछि केही चलचित्र निर्माताले जिल्ला प्रहरी कार्यालय र चलचित्र निर्माता संघमा नायिकामाथि कारवाहीका लागि एक साथ निवेदन दिएका थिए । त्यसपछि नायिका थापा अप्ठेरोमा परेकी हुन् ।

"प्रतिलिपि अधिकार हनन हुन्छ भन्ने थाहा थिएन । मैले यति धेरै चलचित्रमा खेले पनि त्यसको एकमुष्ठ गीत भीसीडीमा ननिस्किएकाले एउटा कृति हुन्छ भनेर निकाल्ने निधो गरेकी थिएँ", इ-नशाडटकमसँग स्पष्टीकरण दिँदै उनले भनिन्- "फेरि यस्तो काम गर्नुअघि कम्पनीले पनि मलाई अन्य कम्पनीसँग सहमति लिनेछु भनेकाले पनि म ढुक्क भएर भीसीडी निकालेकी हुँ । तर यसले मलाई महंगो पाठ सिकाएको छ ।"

यता पीडितमध्ये एक चलचित्र हंगामाका निर्देशक रामशरण घिमिरेले चाहिँ आफ्नो भर्खरै रिलिज भएको चलचित्रको गीति चक्का त्यसरी निस्कदा प्रदर्शनका लागि अप्ठेरोमा पारेको बताए । "वितरकबाट दवाव आएपछि मैले चासो दिएको हुँ", घिमिरे बताउँछन्- "यो चाहिँ कस्तो भयो भने अर्काको सामान चोरेर अर्कोलाई बेचिदिएको जस्तो भयो । यो घटनाले यति ठूलो रुप लिने थिएन यदि उनीहरुले मौखिक रुपमा सोधेको मात्र भए पनि ।"

यता बजार व्यवस्थापक बूढासुब्बा म्युजिकका नवराज गिरीले आफूलाई चलचित्र निर्माताहरुले 'सानो गल्ती'का लागि बलीको बोको बनाएकोमा दुखेसो व्यक्त गरे । "जाबो दुइ हजार कपि पनि नबिक्ने एल्बमको मूल्य ४५ हजारदेखि सात लाखसम्म लगाइयो", उनको गुनासो थियो- "तर यो घटनाले मलाई पनि पाठ सिकाएको छ । म यो एल्बम निकाल्दा म 'ओभर कन्फिडेन्ट' बनेँ, नायिका (झरना) र उनका श्रीमान् (सुनीलकुमार थापा) सँग पनि ।" तर उनले अहिले सबै पक्षसँग सकारात्मक कुरा भइरहेका कारण यो मुद्दाले चाँडै नै छिनोफानो पाउने उनले आशा गरेका छन् ।

ठट्यौलो शैलीमा अन्तिममा उनले गुनासो गर्न चुकेनन्- "खासमा कुखुरो विरामी पर्‍यो, तर झाँक्रीहरुले कुखुरो निको पार्न राँगोको बली चढाउनु पर्ने सुझाव दिए !" उनीहरुले तोकेको जरिवानाले आफ्नो व्यवसाय नै धर्मराउने उनको धारणा थियो । त्यसो त गिरीले यो पनि भन्न भ्याए- "पहिला पहिला यसरी नै मास्टर रेकर्डिङ, अडियो साउण्ड र अन्य कम्पनीहरुले यस्ता एल्बम निकाल्ने गर्थे । तर यसलाई प्रतिलिपि अधिकारको नजीर बनाउने उद्देश्यलाई धेरै हल्ला गरियो ।" यो मुद्दालाई किनारा लगाउन उनले मुगलान चलचित्रको भिडियो अधिकार लिन ७ लाख ५० तिर्नुपर्‍यो ।

अहिले अन्य निर्मातासँग पनि कुरा मिलाउन उनी पछि परेका छैनन्, भन्छन्- "हंगामाको भिडियो अधिकार किन्न लागिरहेको छु र हामी तीन भाइका निर्मातासँग पनि गीतिअधिकार लिनेबारे कुरा चलाइरहेको छु । हेरौँ के हुन्छ ! तर शुरुमा साधारण कुरा हो भनेर ध्यान नदिएको चिजले मलाई ठूलो घाटामा पार्‍यो ।"

यता हंगामाका निर्देशक रामशरण घिमिरे भन्छन्- "यो घटनाले सबैले पाठ सिक्न जरुरी छ । कम्पनीलाई या झरनालाई दुःख दिने हाम्रो उद्देश्य थिएन । आफ्नो अधिकारबारे अरु निर्माता पनि सचेत हुन् भनेर यसलाई अलि अघि बढाइएको पनि हुनसक्छ ।"


त्यसो त विदेशमा सांस्कृतिक कार्यक्रमका लिएर जाने जो सुकै नायक तथा नायिकाहरुले आफूद्वारा अभिनित गीति भिडियो चक्काहरु बेच्ने गरेका छन् । कार्यक्रमबाट बाहेक हुने यो राम्रो अतिरिक्त आम्दानी हो । यस्तो सजिलो आम्दानी नेपालमा पनि गरौँ भनेर त्यही नीति अपनाएको हुनसक्ने एक निर्माताले आफ्नो नाम नबताउने शर्तमा खुलाए । तर सत्य जे भए पनि प्रतिलिपि अधिकारका बारेमा यो उपलब्धिमूलक लडाइँ हो भन्ने कुरामा भने शंका छैन ।

===========================================================================
तपाईको भनाईः
===========================================================================

An interesting read indeed! However, I am embarrassed to learn that there still are people in such high ranking positions in the music industry who are so badly ignorant about the act they must know by heart or to that matter to find out that they have the least idea where they stand on that particular subject who themselves must not only be working for the promotion of safer industry but also performing a vigilante to spongers of music piracy. Albeit, this must teach everybody a good lesson! But what a hard way to learn for poor Jharana Thapa! Bet she hadn’t dreamt of it.
Ram Rai,
Midstone, UK.

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेत्री कन्ट्रोभर्सी क्या बात ! फिल्म फेस्टिबल नवीनता ग्ल्यामर निर्देशक पार्टी अभिनेता पेज 3 रोचक रोमान्स सोच सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा