कहिलेकाहीँ पाएको स्वतन्त्रता पनि उपभोग गर्न पाइँदैन । जस्तो कि जर्मनीको एक सुपरमार्केटमा चोरी गरेको अभियोग लागेका एक व्यक्ति हतकडीसहित उम्कन त पाए तर हतकडी सँगै हुनाले त्यो फुकाल्न उनी प्रहरीको शरणमा पुग्नै पर्यो ।
"मैले अहिलेसम्म त्यति मूर्ख चोर त देखेको नै थिइनँ", जर्मनीको फ्र्याङ्कफर्ट शहरको प्रहरी प्रवक्ताले सोमबार भने- "ऊ प्रहरीकहाँ पुग्यो । प्रहरीले पनि उसको हतकडी फुकालिदिए तर प्रहरीहरुले उसलाई उम्कन चाहिँ दिएनन् ।"
शहरकै नामी एक डिपार्टमेन्टल स्टोर फोर्दै गर्दा पक्राउ परेका ती व्यक्तिसहित अन्य तीन जनालाई स्टोरका सुरक्षाकर्मीहरुले पक्रेर हतकडी लगाएका थिए । त्यो हतकडी उनीहरुले एउटा सानो पिलरमा बाँधिदिएका थिए । तर कसोकसो ती चोर चाहिँ त्यहाँबाट उम्कन भ्याए । तर कसै गरी पनि उनले हतकडीलाई चाहिँ निकाल्न सकेनन् । यसपछि उनी नजिकैको प्रहरीकहाँ शरण लिन बाध्य भए ।
१९ वर्षीय ती व्यक्तिले प्रहरीहरुसँग झूट बोल्दै भनेका थिए- "लौ न तपाइँहरुले सहयोग गर्नुपर्यो । मेरा साथीहरुले मलाई जिस्कँदा जिस्कदै हतकडी लगाइदिए । तपाइँहरुसँग यसको चाबी छ कि !"
तर उसको चलख्याइँले कुनै काम गर्न सकेन किनभने ऊ भागेर प्रहरीसम्म आइनपुग्दै स्टोरबाट चोर भागेको र उसको हातमा हतकडी भएको बताएका थिए । त्यसपछि हतकडी छुटे पनि प्रहरीले उनलाई भाग्न दिएनन् ।
एपी समाचार अनुसार, अहिले आफ्ना साथीहरुसँगै ती व्यक्ति प्रहरी सेलमा हावा खाइरहेका छन् ।