रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००७ लाई रुसी भाषा वर्षको रुपमा मनाउने निर्णय गरेपछि नेपालस्थित रुसी साँस्कृतिक केन्द्रले नेपालमा सिनेमाको लोकप्रियतालाई विचार गर्दै रुसी चलचित्र महोत्सवको आयोजना गरेको छ । यो महोत्सवमा चर्चित सिनेमाहरु प्रदर्शन गरिदैछ ।
२६ फरवरीबाट २८ फरवरीसम्म आयोजना गरिने यो महोत्सवमा द ट्राभल बियोन्ड द थ्री सी, द क्याप्टेन्स डटर, अबाउट लब, द डग्ज हर्ट र दे फट फर मदरल्याण्डजस्ता सिनेमा महोत्सवमा प्रदर्शनरत छन् ।
यी सबै सिनेमा साहित्यिक कृतिमा आधारित रहेका छन् । द ट्राभल यिबोन्ड द थ्री सी रुसी व्यापारी आफनासी निकितिनको तीन समुद्र पार गरी भारतसम्म गरेको भ्रमण (१४६६-१४७२) का बारेमा बनाइएको चलचित्र हो । यसमा रोचक त के छ भने भारतीय निर्देशक ख्वाजा अहमद अब्बासले एउटा भाग र भासिली प्रोनिनले अर्को भागको निर्देशन गरेका छन् । १४३ मिनेट लामो उक्त चलचित्र सन् १९५८ मा रिलिज भएको थियो । यसमा पृथ्वीराज कपुर, बलराज साहनी र नर्गीसजस्ता प्रख्यात भारतीय कलाकारहरुले अभिनय गरेका थिए ।
दोस्रो दिन प्रदर्शन गरिएका चलचित्रहरुमा प्रख्यात साहित्यकार अलेक्जेन्डर पुस्किनको साहित्यकृति 'द क्याप्टेन्स डटर' र एन्तोन चेखवको 'अबाउट लब' थिए । पुस्किनको साहित्यले क्याप्टेनको छोरीसँग एउटा युवा सैनिकको प्रेमबारे देखाइएको छ । प्रेमले अन्त्यमा कसरी जीत हात पार्छ भन्ने यो चलचित्रले देखाएको छ । चलचित्र राम्रो भए पनि सीधा विषय प्रवेश नगरेकाले लामो महसूस हुन्छ । सन् १९९९ मा रिलिज भएको १२३ मिनेट लामो यो चलचित्रलाई अलेजान्द्र प्रोसकिनले निर्देशन गरेका हुन् ।
दोस्रो दिन नै प्रदर्शन गरिएको चलचित्र अबाउट लब चेखबका असल कृतिमध्ये एउटा हो जसमा एउटी युवतीसँगको प्रेम, ती युवतीको धोका र हत्यासम्बन्धी तानाबाना बुनिएको छ । ११२ मिनेट लामो यो चलचित्र सन् २००३ मा रिलिज भएको थियो भने सर्गेइ सोलोनोभले निर्देशन गरेका हुन् ।
भोलि डग्स हर्ट र दे फाउट फर द मदरल्याण्ड प्रदर्शन हुनेछन् । पहिलो सिनेमा १२:३० र दोस्रो ३:३० बजे रुसी सांस्कृतिक केन्द्रको हलमा देखाइनेछ । प्रवेश निःशुल्क रहेको छ ।