Home» Cinema »Feature


प्रस्तुतिः अच्युत कोइराला
म यहाँबाट एउटा साथीसँग गएको थिएँ । उहाँको परिवार कोलोराडोमा हुनुहुन्थ्यो । केही साता बसेपछि मलाई लाग्यो, अब आफैँ केही गर्नुपर्छ । त्यही भएर मैले पहिला रेष्टुराँमा काम गरेँ । त्यसपछि न्यूयोर्क गएँ, तर मलाई भीडले गर्दा मन परेन । शान्त ठाउँको खोजीमा म मेरील्याण्ड आएँ । आइसक्रिम, फास्टफूडमा काम गरेँ ।

म त्यहाँ लङ आवर काम गर्थेँ, बिहानदेखि राति अबेरसम्म । सोमबार शिवजीको ब्रत लिने हुनाले मैले त्यो दिन छुट्टि लिने गर्दथेँ । त्यहाँ एउटा अग्लो मान्छे सधैँ लन्च लिन आउँथ्यो । अरु चाहिँ खाने बित्तिकै जान्थे, ऊ चाहिँ समय हुञ्जेल त्यहीँ बसिरहन्थ्यो । उसले एक दिन मलाई मेरो नाम सोध्यो, मैले बताएँ । एक कदमअगाडि बढेर उसले मेरो घरको फोन नम्बर लिन्छु भन्यो । मैले पनि नम्बरै दिँदा त के फरक पर्ला भनेर दिएँ । कहिलेकाहीँ उसले घरमा फोन गर्दथ्यो अनि कहिलेकाहीँ रेष्टुराँमा भेट भइरहन्थ्यो ।

एक दिन मैले शनिबार नै बिदा लिनुपर्ने भयो । शनिबार किन भने त्यो बेला हाम्रो वैशाख १ गते पर्ने थियो र त्यसबेला एउटा सांगीतिक र सांस्कृतिक कार्यक्रम गरिने भएकाले बिदा लिनु आवश्यक भयो । त्यो मान्छेसँग कुरा हुँदै गर्दा मेरो मुखबाट फुत्कियो- "आम् अफ् टुमरो ।" उसले भन्यो- "आम् सपोज टु टेक अफ मन्डे ।" नयाँ वर्षमा मैले एउटा कार्यक्रम गर्नुपर्ने छ । मेरो नृत्यको कार्यक्रम छ भनेँ । उसले आफूलाई लैजान कर गर्यो । मैले पनि के फरक पर्ला र, भनेर लिएर गएँ ।मेरो नृत्य हेर्नका लागि मात्र चार घण्टा कुर्नु पर्यो । ताली मात्र बुझ्ने अरु केही नबुझ्ने हुनाले उसको यात्रा खासमा तालीका लागि मात्र भयो । कार्यक्रमको अन्तिममा मेरो नृत्य राख्ने गरिन्थ्यो । मेरो नाम आउने बित्तिकै उसको कान ठाडो भयो । त्यहाँ वरपरका मान्छेहरुले कुरा गरेछन्- नेपालकी एक्ट्रेस सारंगा श्रेष्ठ ।

त्यो मान्छे अरु कोही नभएर रेजिनल हेरिसन हुनुहुन्थ्यो । म उहाँलाई रेजी भन्ने गर्छु कार्यक्रम सकिएपछि उहाँले आर्श्चर्य व्यक्त गर्नुभयो- "तैँले आजसम्म किन मलाई नबताएकी ?" "किन बताउनु ? म पर्दामा एक्सन कट गर्थें, आज वास्तविक जीवनको एक्सन कट गर्दैछु," मैले रुखो उत्तर दिएकी थिएँ । मैले अमेरिका आउनुअघि नेपालको राजपरिवारको सामूहिक नरसंहार, सिनेमाको घट्दो व्यवसाय र भोकै बस्नुपर्ने अवस्था आउने स्थिति सबै बताएँ । रेजी गम्भीर हुनुभयो । मलाई उहाँले निकै मिहिनेती पाउनु भयो रे ! त्यसपछि इम्प्रेस हुनुभयो रे !

एक दिन ब्रेकको बेला उहाँ आउनु भयो र एक्कासी भन्नुभयो- "हृवाइ डु यु वर्क हार्ड ? हृवाइ डन्ट यु ट्राइ समथिङ् एल्स ?" मिहिनेत त गर्नु नै छ । तर कस्तो काम खोज्नु अर्को ? मैले उहाँलाई प्रश्नसूचक अनुहारले हेरेँ । उहाँले फेरि भन्नुभयो- "यु वाना चेन्ज योर लाइफ ?" उहाँको प्रश्नले मेरो अनुहारको रंग नै परिवर्तन भयो क्यार ! उहाँले ठीकै छ भन्नुभयो र निस्कनु भयो । एउटा सुखदुःख साटासाट गर्ने साथी हुँदै थियौँ हामी। तर यो जिन्दगी परिवर्तन गर्न चाहन्छ्यौ ? भन्ने उहाँको प्रश्नले मलाई एक पटक सोच्न बाध्य बनायो, यो मान्छे मबाट के चाहन्छ ? किन मेरो पछि लागिरहेको छ ? तर सही के हो भने मलाई उसको व्यवहार चाहिँ मन पर्न थालेको थियो ।

एक महिनापछि न्यूयोर्कबाट अनु थापा दिदीले एउटा सांगीतिक कार्यक्रमको निमन्त्रणा दिनुभयो । कहाँ गएर नाचुँ भन्ने भइरहेको बेला त्यहाँबाट निम्ता आयो । तर उहाँ त त्यहाँ पनि जान्छु भन्नुहुन्छ । नेपालीको समूहमा एउटा अमेरिकीलाई लिएर कहाँ जाऊ ? ज्यादै अप्ठेरो भयो तर आयोजकलाई चाहिँ भनेँ, "मलाई मन पर्छ, ऊ पनि आउँछु भन्दैछ के गरौँ ?" उहाँले सजिलो गरी लिनुभयो र उसलाई घरमै राख्ने योजना बनाएँ । तर रेजीले त आफ्नो लागि होटल बुक गरेर सबैथोक गरिसक्नु भएछ ! त्यसपछि हामी न्यूयोर्क गयौँ, रातिको कार्यक्रम हामी दिउँसो नै पुगेकाले घुम्ने समय प्रशस्त थियो । उहाँले सेन्ट्रल पार्क घुम्ने प्रस्ताव राख्नुभयो । हुन त म पहिले नै त्यहाँ घुमिसकेकी थिएँ, उहाँले नघुमेका कारण मैले हुन्छ भनेँ । त्यहीँ उहाँले सबै मान्छेको अघिल्तिर मसँग बिहेको प्रस्ताव राख्नुभयो । पहिले त म चकित भएँ, तर यत्रो महिनाको संगतपछि उहाँलाई अस्वीकार गर्नुपर्ने कारण देखिनँ । त्यसपछि हाम्रो न्यूयोर्कमा सानोतिनो कार्यक्रमबीच बिहे भयो ।

मलाई उहाँको सबैभन्दा राम्रो लाग्ने भनेको व्यवहार नै हो । कुनै कुरामा पनि उहाँले जबरजस्ती गर्नुहुन्न । अरुको कुरालाई महत्व दिने हुनाले शायद म उहाँप्रति छोटो समयमा नै यति खुलस्त, नजिकको महसूस गर्न पाएकी हुँ । र, मलाई उहाँलाई हेर्दा कस्तो लाग्छ भने मान्छेको भाग्य भनेको अचम्मकै हुँदोरहेछ ! उहाँ कहाँको अनि म कहाँकी ! तर समयले हामीलाई भेट गरायो र आज एउटा सफल दाम्पत्य जीवन बिताउँदैछु ।

सांस्कृतिक भिन्नता, सोचको भिन्नता र विकास आकाश-जमिनको फरक छ उहाँमा र मेरोमा । त्यसैले कहिलेकाहीँ आफ्नो भावना जस्ताको त्यस्तै उहाँलाई भन्न सक्तिनँ । त्यसबेला हामी आँखाको भाका, हात र हाउभाउबाट काम चलाउँछौँ । संसारभरकै लोग्नेस्वास्नीको झगडा हुन्छ र कहिलेकाहीँ सानोतिनो कुरामा ठस्स्स मस्स्स हुन्छ । त्यस्तो बेलामा म चूप लाग्छु । र, यदि मलाई ज्यादै रिस उठेको छ भने उहाँलाई नेपालीमा मनपर्दी गाली गर्छु उहाँ त्यो बुझ्नु हुन्न, अनि 'आइ डोन्ट अन्डरस्ट्याण्ड हृयाट टु आर सेइङ' भन्नुहुन्छ । त्यसबेला उहाँको माया लाग्छ, बेकारमा भाषै नबुझ्ने मान्छेलाई बिनापत्तामा किन गाली राख्या होला !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेत्री रोमान्स क्या बात ! रोचक कन्ट्रोभर्सी पेज 3 नवीनता पार्टी ग्ल्यामर फिल्म फेस्टिबल निर्देशक सोच कार्यक्रम घोषणा सेक्स अभिनेता सञ्चारकर्मी प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,