एक वर्ष झुलाए निर्माताले

करुणा, दुइ थोपा आँशुलगायत एक दर्जन टेलिभिजन सिरियलका छायाँकार सुरेश वज्राचार्य अहिले "आँधितुफान"का निर्माता तथा लेखक मौनता श्रेष्ठलाई खोज्दै हिँडेका छन् ।
"एक वर्षअघि अनुबन्ध नै नगरी चलचित्रको छायाँकन गराएका निर्माता मौनता श्रेष्ठले चलचित्र चलाइसक्दा पनि आफूले पाउनुपर्ने रकम दिएका छैनन्", छायाँकार सुरेशले बताए ।
"मतिनाय कली" नामक चलचित्र निर्देशन गरिसकेका सुरेश नेपाल भाषाका चलचित्रका लागि प्रख्याति कमाइरहेका छन् ।
केही समयअघि मात्र चलचित्र निर्माणको नयाँ शैली र शिल्प बुझ्न मुम्बई गएका यी निर्देशकले एक महिना त्यहाँको निर्माण गतिविधि अध्ययन गरेका थिए ।
"तर यहाँ त काम गरेको रकम पाउन पनि गाह्रो", चित्त दुखाउँदै वज्राचार्यले थपे- "उनले हामीजस्तो काम गरिखानु पर्ने व्यक्तिको रकम दिन किन यसरी आलटाल गरेको हो, त्यो बुझ्न सकिरहेको छैन ।"
निर्माता श्रेष्ठका विरुद्धमा चलचित्र निर्माता संघमा मुद्दा हाल्ने तयारी उनले गरिरहेका छन् । बुधबार निर्माता संघमा घेटिएका यी छायाँकारले भने- "यस्ता निर्माताहरुकै कारण स्तरीय चलचित्र बन्न नसकिरहेको छैन ।"
यता छायाँकार वज्राचार्यको आरोपका सम्बन्धमा लेखक तथा निर्माता मौनता श्रेष्ठसँग कुरा गर्न खोज्दा उनको मोबाइलले भन्यो- "माफ गर्नु होला, तपाइँले सम्पर्क गर्न खोज्नु भएको मोबाइल अफ गरिएको छ ।"