Home» Cinema »Feature

चलचित्र पत्रकारहरु अभिनयमा व्यस्त

- रेखा ओझा

सधैँ अरुका अभिनयका बारेमा लेखिरहने पत्रकारहरु पनि पछिल्लो समयमा अभिनयमा व्यस्त हुन थालेका छन् । त्यसो त यो व्यस्तता व्यवसायिक रुपमा नै अभिनय कलामा जम्ने हिसाबले नभई निर्माता/निर्देशकहरुको अनुरोधलाई टाल्न नसकेर नै हो ।

नेपालीमा एउटा उखान छ- कान्छीको छोराको सङ्गत खाली सागै खाउँ भन्छ । सङ्गतकै कारण अभिनयमा पछिल्लो समय कान्तिपुर साप्ताहिकका पत्रकार सुब्रत आचार्य चलचित्र दानवीरमा देखिने भएका छन् । दानवीरलाई निर्देशक शोभित बस्नेतले निर्देशन गर्दैछन् ।

पोखरामा सुटिङको आफ्नो भाग सकेर पत्रकार आचार्य भर्खरै राजधानी छिरेका छन्, इनशाडटकमसँग उनले भने- "भिडियोमा त अभिनय गरेको थिएँ, तर ठूलै पर्दामा चाहिँ राम्रो भूमिका पाएको यो पहिलो पटक भएकाले रमाइलो अनुभव भयो ।"

स्टार एफएमका पत्रकार तथा गीतकार दयाराम पाण्डेको सङ्गतै चलचित्रकर्मीहरुसँग भइरहने हुनाले उनले अभिनय गरेका चलचित्रको संख्या निकै पुगिसकेको छ । "मैले त गन्नै छाडिदिइसकेँ", गीतकारका रुपमा बढी परिचय जमाएका पाण्डेले भने- "तर हंगामाको दृश्यलाई साथीभाइले निकै रुचाए ।"

त्यसैगरी घटना र विचार साप्ताहिकका नियमित स्तम्भकार तथा टेलिभिजन कार्यक्रम क्ल्याप बोर्डका सञ्चालक राजन घिमिरे पनि गोदाबारी मार्बलको विज्ञापनका साथै केही म्युजिक भिडियोहरुमा पनि गतिलो भूमिका निभाइसकेका छन् ।

च्यानल नेपालका मनोरञ्जन पत्रकार सुरेशदर्पण पोखरेलले त झन् चलचित्र निर्देशनमा समेत हात हालिसकेका छन् । उनको निशाना नामक चलचित्र निखिल उप्रेतीलाई लिएर तयार भइसकेको छ ।

यता अर्का पत्रकार नरेश भट्टराईले टेलिचलचित्र गहना, चलचित्र सावधानका साथै धेरै म्युजिक भिडियोमा पनि अभिनय गरिसकेका छन् । उनी इमेज च्यानल रेडियोमा विहानी कार्यक्रम चलाउने गरेका छन् ।

यसका अतिरिक्त च्यानल नेपालको हेल्लो नामक फोनइन कार्यक्रमका पूर्व सञ्चालक तथा बीएफबीएस रेडियोका पत्रकार सरोज केसीले पनि ऋषि लामिछानेद्वारा निर्देशित टेलिचलचित्र क्षण र उनकै निर्देशनमा बनेको परिचयका साथै केहि म्युजिक भिडियोहरुमा पनि अभिनय गरिसकेका छन् ।

त्यस्तै राजधानी दैनिकका पत्रकार डब्बु क्षेत्रीले पनि धेरै टेलिचलचित्रहरुमा अभिनय गरिसकेका छन् भने हाल उनले चलचित्र निर्देशक बन्ने उद्देश्यले चलचित्र निर्देशनको तीन वर्षो अध्ययनसमेत गरिकसकेका छन् ।

यता अहिले चलचित्र पत्रकारबाट निर्माता निर्देशक भइसकेकाहरुको पनि लामै सूचि बन्न सक्छ । चलचित्र निर्देशक मदन घिमिरे एकताका रंग पत्रकारिता गर्थे । जयप्रकाश रिजालले अझै रेडियो अडियोमा आफ्नो स्वर घन्काइरहेका भए पनि उनले भरोसा र हामी दाजुभाइजस्ता चलचित्रको निर्माण गरिसकेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
हल्ला अभिनेता सेलेब्रिटी समारोह रिलिज सेक्स प्रविधि सुटिङ अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc,