बेलायतमा नग्न तश्वीर प्रतिबन्धित
संसारमै सबैभन्दा बढी यौनमा उदार यूरोप मानिन्छ र बेलायतमा पनि यौनलाई उति खराब नजरले हेरिँदैन । तर जब पेन्टिङमा भएको नग्नता र यौनिकताको कुरा आउँछ, तब बेलायतीहरुको बक्र दृष्टि पाउँदा संसार अचम्ममा पर्नु स्वाभाविक नै हो ।
एउटा १६ औं शताब्दीमा बनाइएको पेन्टिङले लण्डनको रेलयात्रीहरु र खासगरी ट्युबमा हिँड्ने पैदलयात्रीका लागि ज्यादै खतरनाक रहेको भनी उक्त पेन्टिङलाई ट्यूबमा राख्न प्रतिबन्धित गरिएको छ ।
हुन पनि पैदलयात्रीहरुका आँखा रोमकी सौर्न्दर्यकी देवी भेनसको हल्का मुस्कान र कामुक सौर्न्दर्यले तानिरहन्छ र यात्रीहरु बाटोमा भन्दा पेन्टिङमा आँखा लगाउने हुनाले धेरै जनाहरु लड्ने गरेको पाइएको छ ।
१५३२ मा बनाइएको यो पेन्टिङलाई जर्मन कलाकार लुकास क्रानाक द एल्डरले बनाएका थिए । निकट भविष्यमा प्रदर्शन हुन लागेको रोयल एकेडेमी प्रदर्शनीमा सबैको ध्यान खिँच्नका लागि यो पेन्टिङलाई ट्युबको प्रवेशद्वारमा राखिएको थियो ।
उक्त प्रदर्शनीमा दर्शक कति आउने हुन् त्यो त पछि मात्र थाहा होला, तर त्यो चित्र हेरेर लड्नेको संख्या बढ्दै जाँदा अधिकारीहरुले चित्रलाई त्यहाँबाट हटाउने आदेश दिएका हुन् । यसबाट चाहिँ रोयल एकेडेमी चाहिँ क्षुब्ध बनेको छ ।
प््रदर्शनीका मुख्य संवाद सचिव तथा व्यवस्थापक जेनिफर फ्रान्सिस चाहिँ यो कदमबाट क्षुब्ध बनेकी छिन्, भनिन्- "यसरी चित्र हटाइएकोमा मलाई चित्त बुझेको छैन । कतिसम्म भने यो त २१ औँ शताब्दीमा नग्नताकै कारणले यसलाई सार्वजनिक ठाउँबाट हटाउने निर्णय गर्नु अत्यन्तै लज्जास्पद कुरा हो ।"
५०० वर्ष पुरानो यो पेन्टिङलाई यहाँबाट हटाउने आदेश दिनु त्यसो त ट्युब अधिकारीहरुका लागि नयाँ कुरा चाहिँ होइन । यसअघि १७ औँ शताब्दीको सर पिटर लिलेको पेन्टिङलाई २००१ मा यसरी नै हटाइएको थियो । किनभने त्यस चित्रमा चार्ल्स द्वितीयकी बाहरवालीको एउटा स्तन लुगाबाहिर चिहाइरहेको देखाइएको थियो ।
भेनसको नाङ्गोपन नदेखिने गरी त्यस पेन्टिङलाई त्यहाँ झुण्ड्याउन पाउनुपर्ने प्रदर्शनीवालाहरुको छ ।
अब यो चित्रका बारेमा यत्तिको हंगामा भइसकेपछि मार्च ८ बाट शुरु हुने यसमा घुइँचो त लाग्ने भइहाल्यो नि !