स्वेता काठमाडौँमा

भारतीय टेलिभिजनको इतिहासको लोकप्रिय दैनिक टेलिश्रृङ्खला 'कसौटी जिन्दगी की' की नायिका प्रेरणा बजाज अर्थात् स्वेता तिवारी नेपाली र भोजपुरी दुवै भाषामा बनिरहेको चलचित्र 'त्रिनेत्र'मा अभिनय गर्ने भएकी छिन् ।
शुक्रबार उक्त चलचित्रको मुहूर्त शट दिने क्रममा एक छोटो पत्रकार सम्मेलन समेत गरिएको थियो ।
नेपाली चलचित्र उद्योगलाई विस्तृत र व्यापक बनाउन तपाइँको के सुझाव छ भन्ने पत्रकारहरुको प्रश्नमा उनले भनिन्- "जसरी तपाइँहरुले हिन्दी सिनेमा हेर्नु भएको छ र हिन्दी सिनेमाको जग बसाइदिनु भएको छ- त्यसैगरी नेपाली सिनेमा हेरेर नेपाली सिनेमा जग बसाउन जरुरी छ । शुरुमा त तपाइँले आफ्ना चिजहरुलाई सम्मान नगरी, आफ्ना चिजहरुलाई माया नगरी आफ्नो 'बेस' बनाउन सक्नु हुन्न । त्यसैले हिन्दी सिनेमा जसरी यहाँ मन पराइन्छ, त्यसैगरी नेपाली सिनेमालाई पनि माया गर्नुहोस् ।"
त्यसो त १५ मिनेटको छोटो पत्रकार सम्मेलनमा सबै प्रश्नका बनिबनाउ उत्तर दिएर श्वेताले समय कटाए पनि नेपाली चलचित्रका कलाकारहरुसँग काम गर्न पाउँदा आफूलाई ज्यादै खुशी अनुभव भएको बताएकी थिइन् ।
सास, ननद, भौजाइ नामक चलचित्र निर्देशन गरेका मनोज नारायणले यस चलचित्रलाई निर्देशन गर्ने छन् । यसको भोजपुरीमा घर घर देखा एके नाम रहने जानकारी दिइएको थियो ।
चलचित्रमा निखिल उप्रेती, श्वेता तिवारी, मिथिला शर्मा, आशा पौडेल, रमेश अग्रवाल, सम्पदा गिरी, अजित अग्रवाल आदिको अभिनय रहने बताइएको छ ।
राजीव गुप्ताको लगानी रहने यस चलचित्रमा वसन्त श्रेष्ठ र भुवन श्रेष्ठको नृत्य निर्देशन, मनोज राजभण्डारीको सङ्गीत, रोशन श्रेष्ठको द्वन्द्व तथा मनोज नारायणकै लेखन रहने भएको छ । चलचित्रलाई भारतलगायत अन्य भोजपुरी भाषीमाझ पनि प्रदर्शन गरिने बताइएको छ ।
















|