शनिबारे सिनेमा

नेपाल टेलिभिजनको अग्रसरता, विज्ञापनदाताको लचकता र विज्ञापन एजेन्सीको सकारात्मक पहलका कारण अहिले दर्शकले हरेक दोस्रो शनिबार नेपाली चलचित्रको स्वाद लिन पाइरहेका छन् ।
दर्शकको राम्रो प्रतिक्रिया आउन थालेपछि अहिले वर्ल्ड भिजन एड्भरटाइजिङका उत्तम बराल उत्साहित भएका छन्, भन्छन्- "हामीले दर्शकले सिनेमा मात्र नहेरुन्, आफू प्रत्यक्ष सहभागिता पनि जनाऊन् भन्ने उद्देश्यले 'वाच् एण्ड विन' जस्ता प्रतियोगिता राख्दा दर्शकहरुले नेपाली चलचित्रको पनि माग गरेका हुनाले हामीलाई बीचबीचमा नेपाली सिनेमा राख्ने हौसला बढ्यो ।"
त्यसो त नेपाली टेलिभिजनहरुमा दर्शकहरुले नेपाली चलचित्र हर्ेन नपाएका भने होइनन् । नीर शाहले सञ्चालन गरेको 'डे टीभी'मा हरेक दिन जसो नेपाल टेलिभिजनको दिउँसोको प्रसारणमा लगभग ५० वटा चलचित्रले लगातार सय दिन मनाउने अवसर पाएका थिए । तर करोडौँ घाटा लागेपछि नेपाल टेलिभिजनबाट डे टीभी बन्द भयो ।
त्यसअघि पनि नेपाल टेलिभिजनकै सक्रियतामा शुक्रबार राति केही पुराना नेपाली चलचित्र देखाउने क्रम शुरु गरेको थियो तर विज्ञापन र दर्शक दुवैको अभावका कारण त्यसले निरन्तरता पाउन सकेको थिएन ।
नेपाल टेलिभिजन मात्र होइन, लगभग सात/आठ वर्षअघि नै च्यानल नेपालले नेपाली चलचित्रहरुलाई रकम उपलब्ध गराउने र नेपाली चलचित्र देखाउने प्रयास गरेको थियो । जसअर्न्तर्गत च्यानल नेपालले केही नेपाली चलचित्र देखाए पनि उत्ति राम्रो प्रतिक्रिया पाउन सकेको थिएन ।
"तर यस पटक भने हामीले गरेको कामको प्रशंसा भइरहेको छ", वर्ल्डभिजनका उत्तम भन्छन्- "पहिले पहिले नेपाली चलचित्रको यति बढी शुल्क लाग्थ्यो कि हामीले आँट नै गर्न सकेका थिएनौँ । त्यसमाथि दर्शकले रुचाउलान् या नरुचाउलान् भन्ने शङ्का पनि उत्तिकै थियो । तर हाम्रो शंका अहिले दूर भएको छ ।"
तर दर्शकले टेलिभिजनमा यति पुराना चलचित्रहरु हेरिरहेका छन् कि ती एक समयका फ्लप चलचित्र पनि हुन् । दीपक रायमाझीले एक समय लगातार फ्लप चलचित्रको सूचि नै दिएका थिए । तिनैमध्ये केही चलचित्र गएका दुइ महिनामा प्रदर्शनमा आएका थिए भने भोलि प्रदर्शन गरिने 'अंशबण्डा'ले पनि दर्शकबाट कुनै पनि आर्थिक अंश पाउन सकेको थिएन ।
एउटा हिन्दी चलचित्र नेपाल टेलिभिजनमा प्रसारण गरेबापत् ७० हजार रुपियाँदेखि १ लाख रुपियाँसम्म पर्ने गर्छ तर नेपाली चलचित्रले अझै पनि त्यो रकम पाउन स्तरीयताका कारण सकेको चाहिँ छैन ।
तर शनिबार दिउँसोको यो शोले चाहिँ नेपाली चलचित्रका निर्माताहरुका लागि नयाँ ढोका खुलेको उत्तम बताउँछन् । चियर्स नेपाली चलचित्र निर्माता !