फेरि कागबेनीकै कुरा

पाठकहरुले दिक्क मान्नु हुँदो हो, फेरि कागबेनीका कुरा सुनाउने भयो भनेर । तर धन्दा नमान्नुहोस्, अघिल्ला समाचारको यो अपडेट नेपाली सिनेमा रुचाउने तपाइँका लागि सुखद् पक्ष हुन सक्छ ।
शुक्रबार कागबेनी रिलिज नहुँदा केही विद्यार्थीहरुले गोपीकृष्ण सिनेमा भवनमा तोडफोड गरेका थिए । यो खबर सुनिसक्नु भएको छ भने भित्री कुरा सुन्नुस्, सिनेमाका निर्माताहरुले गोपीकृष्ण हलले आफ्नो सिनेमामाथि षडयन्त्र गरेको गुनासो गरेका छन् । भित्री सूत्रअनुसार डिजिटल सिनेमाप्रति शुरुदेखि नै बक्रदृष्टि राख्ने गोपीकृष्ण हलले कागबेनी चलाउन 'हेल्प' नगरेको निर्माण समूहभित्र चर्चा चलेको छ ।
तर यता यो कुराको खण्डन भइरहेको छ । गोपीकृष्ण हलका व्यवस्थापकीय सदस्य तीर्थ न्यौपानेका अनुसार कागबेनी चलाउन गोपीकृष्ण हलले सक्दो मिहिनेत गरेको थियो । क्वेष्ट इन्टरटेन्मेन्टले आफ्ना प्राविधिकहरुलाई ल्याएर काम गराउँदा पनि सिनेमा चलाउन नसकेको र गोपीकृष्ण हलले डिजिटल सिनेमालाई निरुत्साहित गरेको कुरा वाहियात भएको स्पष्टीकरण दिएका छन् ।
न्यौपानेले भने- "शुक्रबारदेखि आइतबारसम्म लगातार तीन दिन यो सिनेमाका प्राविधिकहरुले पनि काम गर्न नसकेपछि हामीले कागबेनी चलाउन नसकेका हौँ । हामीले चलाउन नखोजेका होइनौँ ।" उनले त गुण सिनेमाको समेत उदाहरण थपे- "त्यहाँ पनि त शुक्रबारको 'शो' नै हुन सकेन । हाम्रोमा जस्तो समस्या त्यहाँ पनि देखिएको थियो, तर त्यहाँ पछि स्याटेलाइटको सिग्नल क्याच भयो, हामीकहाँ पछिसम्म हुन सकेन ।"
उनले राजधानीबाहिरका केही हलमा शुरुमा यो समस्या देखिएको पनि उदाहरण दिन चुकेनन् । न्यौपानेले थक्क थक्क मान्दै भने- "फिल्म अरु हलमा राम्रोसँग चलिरहेको छ, पहिलो साताको व्यापार राम्रो भएका कारण यो सिनेमा हाम्रो हलमा हुन नसक्दा हामीलाई पनि एक किसिमको घाटा भएको छ ।"
यता कागबेनीका निर्माताहरु चलचित्रको सफलताबाट मख्ख छन् । निर्माता भाष्कर ढुंगाना भन्छन्- "हामीले यो चलचित्र बनाउँदा नै नयाँ किसिमको सिनेमा भएकाले पूरै घाटा होला भनेर सोचेका थियौँ । तर सोचेजस्तो घाटा त नहुने नै भयो, साथमा केही नाफासमेत दिनसक्ने स्थिति मैले देखिरहेको छु ।"
कागबेनीका निर्माताहरुका अनुसार यो चलचित्र हिन्दी सिनेमा हेर्ने दर्शकले नै हेरिरहेका छन् । मसाला नेपाली फिल्मका दर्शकहरुले यो सिनेमा नरुचाएको स्पष्ट रुपमा बताएका छन् । निर्माता ढुंगाना भन्छन्- "विर्तामोड र पोखरा मसला नेपाली फिल्म चल्ने राम्रा स्टेशन हुन्, त्यहाँ हामीले सोचेजस्तो 'गज्जब'ले कागबेनी चल्न सकेको छैन । अब वीरगञ्ज, नेपालगञ्जजस्ता ज्यादै हिन्दी सिनेमा चल्ने बेल्टमा पनि त्यति राम्रो सिनेमा चल्न सकेको छैन । बरु काठमाडौँ, विराटनगर, भैरहवा, बुटवल र नारायणगढमा यो सिनेमाप्रति दर्शकको रुचिबाट हामी उत्साहित भएका छौँ ।"
५० लाख रुपियाँको लागतमा तयार भएको नेपालको पूर्ण डिजिटल सिनेमा कागबेनी बन्न दुइ वर्षबढी समय लागेको थियो भने सिनेमा पूरै हिमाली क्षेत्रमा सुटिङ भएको छ । सबैभन्दा रोचक कुरा त के छ भने नेपाली सिनेमामा जयनेपाल र कुमारी हलमा 'हाउसफूल'को रेकर्ड राख्न सफल भएको यो सिनेमा लगत्तै क्वेष्ट इन्टरटेन्मेन्टको अर्को चलचित्र 'सानो संसार'प्रति पनि चासो ह्वात्त बढेको छ ।
तीन युवाहरुको प्रेमयात्राका विषयमा बनाइएको 'सानो संसार' आलोक नेम्वाङको पहिलो लामो चलचित्र हुनेछ ।
|