Home» City Life »Updates

माघे संक्रान्ति मनाउनुस्



माघे सङ्क्रान्ति पर्व आज अधिराज्यभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीहरूमा स्नान गरी मन्दिरहरूमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइँदैछ ।

ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । आजदेखि दिन लामो र रात छोटो हुँदैजाने विश्वास गरिन्छ ।

भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ ।

शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढी तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोगहरू नाश हुने विश्वास गरिन्छ ।

यसै दिन भक्तपुरको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा गरिन्छ ।

थारू समुदायमा यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । आजका दिन यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ ।
माघे सङ्क्रान्ति पर्वका लागि आवश्यक वस्तु किन्न दुइ-तीन दिनदेखि बजारमा उपभोक्ताहरूको भीड बढेको छ ।

यसैगरी, हिन्दु परम्पराअनुसार प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन मनाइने मकर सङ्क्रान्ति पर्व आज मिथिला क्षेत्रमा उत्साहपूर्वक मनाइँदैछ ।

मिथिलाञ्चलमा मनाइने प्रत्येक पर्वमा बेग्लाबेग्लै लोककलाको प्रदर्शनी र चित्र अङ्कन गर्ने कार्यअन्तर्गत आजका दिन बिहानै भक्तजनहरूले चोखो भई प्रसन्न मुद्रामा भगवती मन्दिरका प्रवेशद्वार तथा आ-आफ्नो घर-आँगनमा कमलको फूलजस्तै शृङ्गार गर्दछन् ।

कतिपयले भगवतीको प्रतिमामा तेल, चामल, सख्खर चढाएर आफूभन्दा कान्छो मानिसको हातमा दिने चलन छ ।

धार्मिक मान्यताअनुसार भगवान र भगवती दुवैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दूर, चुरा र तिलको लड्डु चढाउने गरिन्छ भने भगवानलाई मिठाई, फलफूल र तिलको लड्डु अनिवार्यरूपमा चढाई खिचडीको भोग लगाइन्छ । यस पर्वमा खिचडी खान अनिवार्य भएकाले यसलाई खिचडी पर्व पनि भनिन्छ ।

यो पर्वमा ब्राहृमण भोजनको पनि व्यवस्था गरिन्छ । ब्राहृमण दानका लागि तिल तथा सख्खरबाट बनाइएको लड्डुको प्रयोग गरिन्छ ।

यस पर्वमा तिल तथा च्युराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई तिलवा च्युरा पनि भन्ने चलन छ ।

यसबाहेक चामल, खिचडीका सामग्रीहरू जस्तै- मासको दाल, अरवा चामल, नुन, बेसार, तरकारी, घिउ र दही दान गरिन्छ । कतिपय सम्पन्न व्यक्तिहरूले जुत्ता, छाता, ठूलो रुमाल र कम्बल पनि दान गर्छन् ।

खासगरी मैथिली महिलाहरूका लागि 'तिला सङ्क्रान्ति' पर्वको अझ बढी महत्व रहेको छ । यसै दिनदेखि कन्याहरू सुयोग्य वर प्राप्तिको कामनाले 'तुसारी' पर्व प्रारम्भ गर्छन् भने विवाहित महिलाहरू पृथ्वी पर्व प्रारम्भ गर्छन् ।

नवविवाहित दुलहाको घरबाट दुलहीको घरमा यस पर्वमा तिल वा च्युराको कोसेलीका साथै जाडोमा लगाउने वस्त्र आउने परम्परा रहिआएको छ । यस प्रथालाई मैथिलीमा 'जडाउर' भनिन्छ ।

यसबाट दुइ परिवारबीच सौहार्दता, पारस्परिक सहयोग एवं सद्भाव वृद्धि हुनेगरेको छ । आयु, आरोग्य, रूप र गुण अभिवृद्धिको प्रतीक भएर प्रत्येक वर्षआउने तिला सङ्क्रान्ति पर्व हर्षोल्लासको वातावरणमा सम्पन्न हुन्छ ।

धेरैजसो मिथिलाबासीहरू यसै दिनदेखि माघ स्नान शुरु गर्छन्, अर्थात् माघ महिनाभर एकाबिहानै नुहाएर घिउ खिचडी खान्छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
festival समलिङगी मोबाईल सेलेब्रिटी हल्ला माओवादी पेट्रोल awards crisis संविधानसभा celebrity अनुभव streets hi-life events
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,