Home» Cinema »Review

ढिँडो र गुन्द्रुक स्वादमा कागबेनी
-डब्बु क्षेत्री



डिजटल मुभिले नेपाली सिने क्षेत्रमा प्रवेश पाएको छ । सिनेप्रेमीका लागि डल्बी डिजिटल सराउण्ड साउन्डमा डिजिटल नेपाली सिनेमा एउटा नवीन टेस्ट बनेको छ । जुन टेस्ट हाल राजधानीमा रिलिज भएका दुइ चलचित्र 'अल्पबिराम' र 'कागबेनी'बाट लिन सकिन्छ । फरक स्वादका यिनै दुइमध्ये यहाँ कागबेनीप्रति धेरैको चासो बढेको छ । यसको निर्देशन एक जना चर्चा कमाएका सञ्चारकर्मीले गर्नुले पनि कागबेनी चासो बिषय बनेको हो ।

'खान पायो भनेर क्वाप्प नखानु, बस्न पायो भनेर थ्याच्च नबस्नु' यो भनाईको आफ्नै महत्व छ । सायद रमेशले पनि पाएँ भन्दैमा बरदान नमागेको भए आफ्नो साथी कृष्णलाई गुमाउनु पर्ने थिएन ।

यो प्रसँग चलचित्र कागबेनीको हो । रमेश (निमा रुम्बा) र कृष्ण (सौगात मल्ल) यसका प्रमुख पात्र हुन् । एकजना जोगीले कृष्णलाई दिएको बाँदरको हजार वर्ष पुरानो हत्केलोको अलौकिक शक्तिमा यो चलचित्रको कथा केन्द्रित छ । आफूले मागेको बरदान पूरा गरिदिने त्यो हत्केलो कृष्णलाई दिँदा जोगीले भनेका थिए- 'यो हत्केलोसँग तिमीबाहेक अरुले बरदान मागेभने ठूलो अनिष्ट हुनेछ ।' चलचित्रमा घटनाक्रमले पनि ती जोगीले नचाहेको परिणाम निम्त्याउँछ ।

कृष्णले मगनी गरेको युवतीसँग बिहे गर्न पाउँ भनेर हत्केलोसँग रमेशले मागेको मनोकांक्षा त पूरा हुन्छ, तर उसले कृष्णको दुखद् मृत्युको चोट भोग्नु पर्छ । वर्षौंपछि रमेशकी पत्नी (दिया मास्के) ले यस्तै मनोकांक्षा सो हत्केलोसँग माग्दा उसको मनोकांक्षा पूरा त हुन्छ, तर उसले आफ्नो छोरा गुमाउनु पर्छ । अन्त्यमा कुनै बरदान पनि चहिँदैन भन्दै त्यो हत्केलोलाई अनकन्टारमा फाल्न रमेश बाध्य हुन्छ । यही हो कथाको मूल सार ।

राजधानीका उच्च घरानाहरु कारबाट उत्रिएर निम्ता मनाउन जयनेपाल हलभित्र विहीबार प्रवेश गर्ने क्रममा 'नेपाली चलचित्र के गतिलो होला ?' भन्दै थिए । कागबेनीसँग साक्षात्कार गरेर जब उनीहरु हलबाट बहिरिए- 'बा ! माइन्ड ब्लोइङ मुभि' भन्दै निर्देशक भूषण दाहाल, नायक सौगात मल्ल, नायिका दिया मास्के लगायतसँगै विदेशी शैलीमा गालामा चुम्बन साट्न व्यस्त देखिन्थे ।

'कागबेनी' यो नामलाई चलचित्रमा प्रस्ट्याउन खोजिएको छैन । प्रिमियरमा उपस्थित धेरै जसो निम्तालुको मन यो सिनेमाले जित्यो । तथापि मुस्ताङ पुग्ने सौभाग्य नपाएका थुप्रै निम्तालु भन्दै थिए 'कागबेनीको अर्थ भने बुभिएन ।' हुन पनि चलचित्रमा शीर्षकलाई प्रष्टयाउने जमर्को गरिएको छैन ।

मूलधारको कारखानामा बनाइएका नेपाली चलचित्रभन्दा कागबेनी धेरै गुना फरक छ । यसमा राजेश हमालको कहिल्यै नबदलिएको 'क्लिसे' चिच्याहट र मारपिट देख्न पाईदैन । हलिउडको साइन्स फिक्सन फिल्मको सैली सापट लिँदै निखिल उप्रेतीलाई टोचनमा झुण्ड्याएर हावामा मिनेटौंसम्म कावा खुवाएको ऐजन फाइटको दृष्य नै न त यसमा हेर्न पाइन्छ । मिनी स्कर्ट लगाएर रेखा थापा, ऋचा घिमिरेहरुले बगैँचामा हिरोसँग उत्तेजक भावमा नाचेको दृष्यबाट पनि कागबेनी मुक्त छ ।

यही कारण पनि कागबेनी एउटा फरक स्वादको चलचित्र बनेको छ । राजेश हमाल र निखिल उप्रतीको फिक्सन फाइट हेरेर हलमा सिट्ठी बजाउने दर्शकलाई यो चलचित्रले हौस्याउला भन्न सकिन्न । तथापि कार एवं बाइकबाट उत्रेर निस्तो पपकर्नमा रमाउँदै सिनेमा हेर्ने फेमिली तथा गर्लफ्रेन्ड सम्मिलित ब्वाइफ्रेन्डको दुइ घन्टा कागबेनीमा सजिलै बित्छ । आम नेपाली चलचित्र मिक्स जेनरबाट अलग्गिन सकेका छैनन् । त्यो खिचडीको भान्साबाट अलग्गिएको कागबेनी 'सेमी रियालिस्टिक सस्पेन एन्ड थ्रिलर जेनर'मा बनेको छ । नेपाली सिनेमाले नयाँ जेनर सिर्जना गर्न नसके पनि मिक्स मेलोड्रामा जेनरबाट अब छुट्कारा पाउनु पर्छ । यो प्रयास कागबेनीमा केही मात्रामा भए पनि गरिएको छ ।
 
कागबेनीको कथा नेपाली मुस्ताङको परिवेशमा उपयुक्त छ । त्यहाँको स्याउको खेती, सो खेतीलाई हुरिबतासजस्तो प्रकोपले पारेको प्रभाव, त्यसबाट ब्रान्डी बनाइएको प्रशङ्ग, तोरन्लो चाड आदिको प्रस्तुतिले चलचित्रलाई सजीव तुल्याएको छ । एउटा अंग्रेजी एकांकी नाटकबाट यसको कथालाई साभार गरिए पनि घटनाक्रम, समय र परिवेशको बुनोटले यो कथा मौलिक नै लाग्दछ ।

मुलधारका दालभातरुपी सिनेमाबाट अगाएका एकथरी नेपाली दर्शकका लागि कागबेनीले ढिँडो र गुन्द्रुकको भोजन पस्केको छ । गुन्द्रुक र ढिँडोसँग साक्षात्कार नगरेका दर्शकलाई भने यो फिल्म पिज्जा जस्तो लाग्न सक्छ । यसकारण पनि कागबेनी पृथक सिनेमा भन्न सकिन्छ । 

थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका भूषण दाहालले निर्देशन गरेको पहिलो चलचित्र कागबेनी हो । जसमा उनले चलचित्रको थर्ड लाईन ग्रामरलाई बाक्लै मिचेका छन् । चलचित्र हेर्दा उनीभन्दा धेरै ठाउँमा 'काष्टिङ डाइरेक्टर' हावी भएको देखिन्छ । निर्देशक दाहालले केही पात्र र घटनाक्रमलाई प्रष्टयाउन सकेका छैनन् । जस्तै चलचित्रमा मानसिक अवस्था गुमाएकी एक युवती (आशा मगराती)लाई अलच्छिनाका रुपमा प्रस्तुत गरिएको छ । त्यहाँ हुने हरेक नराम्रा घटनाको क्रममा ती युवती कोलाहल मच्चउँदै रुने गर्छिन् । ती युवती को हुन्, उनको त्यो गाउँ र ती पात्रसँग के सम्बन्ध छ भन्ने कौतुहलतालाई मेट्नेतर्फ निर्देशकले चासो देखाएका छैनन् । ती युवतीको ठाउँमा कुकुर रोएको दृष्य पस्केर पनि अपसगुनको संकेत दिन सकिन्थ्यो । उपकथाको रुपमा प्रस्तुत भएकी भट्टीवाली युवती (पुजा गुरुङ)लाई पनि उनले न्याय दिन सकेका छैनन् । भट्टीवाली युवतीको सम्वाद सम्प्रेषण र हाउ भाउ पनि कम्ता नाटकीय लाग्दैन । एकर्टस स्टुडियो र फिल्म कलेजमा 'नो एक्टिङ इज रियल एक्टिङ' भनेर अभिनयको कखरा पढाउने यसका कास्टिङ डाइरेक्टर अनुप बराल पनि भट्टीवालीलाई रियल एक्टिङमा उतार्न चुकेको छन् । अभिनयमा सौगत मल्ल र दिया मास्केबाहेक निर्देशकले अरुबाट सन्तोषजनक काम पनि लिन सकेका छैनन् । यो चलचित्र मुस्ताङको कागबेनीमा केन्द्रित भएपनि त्यहाँको क्षेत्रीय लवजलाई मुख्य पात्राको बोलीचालीमा उतार्न नसक्नु अर्को कमजोरी हो ।

सो चलचित्रको सम्वादमा कलाकारले ५० वर्षसम्म मोटर नचल्ने  ठाउँमा भनेर कागबेनीलाई चिनाएका छन् । सवारी साधनका रुपमा घोडालाई प्रस्तुत गरिएको छ । तर त्यही ठाउँमा त्यसको नौ वर्ष नबित्दै ट्याक्टरले किचेर बालकको ज्यान गएको घटना प्रस्तुत गरेर निर्देकश दाहाल 'कन्टयुनिटी'मा चुकेका छन् । चलचित्रको अर्को कमजोर पक्ष भनेको स्लो कटिङ हो । कतिपय लामा दृष्यमा कैंची चलाउन लोभ गर्दा कागबेनी स्लो फिल्म बनेको छ । बरु यसको स्थल ध्वनि र पार्श्व ध्वनि भने प्रशंसा गर्न योग्य छ । यस्ता थुप्रै निर्देशकीय कमजोरीलाई बिर्सेर कागबेनी हेर्ने हो भने यो एउटा मौलिक नेपाली नेपाली चलचित्र बनेको छ ।

(पत्रकार क्षेत्री राजधानी दैनिक पत्रिकाका मनोरञ्जन पत्रकार हुन् । उनले कलेज अफ फिल्म स्टडिजको तीन वर्षे कोर्ससमेत गरेका छन् ।)

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Review
Related Tags:
रिलिज अभिनेता सेलेब्रिटी समारोह सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,