Home» Cinema »Review

कागबेनीः हेर्न किन जरुरी छ ?
- अच्युत कोइराला



नेपाली चलचित्र जसरी बनिरहेको छ, त्यो रातारात परिवर्तन हुँदैन । बरु क्रान्ति चाहिँ रातारात हुनसक्छ । क्रान्ति हुन पनि निरन्तरको प्रयासपछि मात्र सम्भव भएको हुन्छ । त्यसैले नेपाली सिनेमामा जो कसैले पनि यदि परिवर्तन चाहन्छ भने त्योभन्दा अघि गरिने केही प्रयोगात्मक परीक्षणबाट गुज्रिनु जरुरी हुन्छ । जसरी नेपालमा राजतन्त्र र प्रजातन्त्रबीचको सङ्क्रमणकाल रह्यो, त्यस्तै खराब सिनेमा र राम्रा सिनेमा बन्ने कालमा सङ्क्रमणकालीन चलचित्र बन्ने क्रममा छन् । त्योमध्ये कागबेनी पहिलो हो । जसले नेपालका केही पुरातन मान्यतालाई अस्वीकार गरेको छ । उसले पुरातन मान्यताका रिललाई अहिले प्रयोग नगर्ने भएको छ । त्यसैले कागबेनीलाई सङ्क्रमणकालीन प्रयोगात्मक चलचित्र भन्दा हुन्छ ।

यसले पहिलो दृश्यदेखि अन्तिमसम्म नै गीत राखेको छैन । नेपाली परिप्रेक्ष्यमा यो पहिलो प्रयोग मान्नु पर्छ । गीत नभए पनि दर्शकहरुले सोध्ने छैनन्, किन गीत नराखेको भनेर । किनभने ठुँसेका गीत हेर्नुभन्दा नहेर्नै जाति भन्ने दर्शकहरुको संख्या दिनदिनै बढिरहेका छन् ।

त्यसो त यो सिनेमालाई 'थ्रीलर' मान्ने पनि होलान्, तर यो त्यो वर्गको सिनेमा चाहिँ होइन । किनभने 'थ्रीलर' शुरुदेखि अन्तिमसम्मै उत्सुकता जगाइरहनु पर्छ । यो मामिलामा कागबेनी भाग्यमानी छैन । र, जहाँसम्म मलाई लाग्छ- यो मान्छेको लोभको कथा हो । यो आदम र इभको लोभको कथा हो, जुन लोभ साश्वत सत्य पनि हो ।

केही व्यक्तिले मलाई व्यक्तिगत रुपमा सोधे- किनभने यो चलचित्रका लेखकहरुमध्ये एउटा म पनि हुँ । उनीहरुको सोधाइ बीचबीचमा आउने एउटी बौलाही केटी किन राखिएको ? चलचित्रमा एक पटक मात्र देखिने भारतीय साधु किन ? किन त्यहीँको स्थानीय चिजबिज प्रयोग भएन ? केही भावप्रधान र 'थ्रील जगाउने' दृश्याङ्शहरुको कमजोर ट्रिटमेन्टका बारेमा तपाइँ के भन्नुहुन्छ ? यसमा चाहिँ मेरा केही आफ्ना तर्क छन् । जस्तो कि बौलाहीको उपस्थिति संसारका केही अमूक रहस्यको प्रतिनिधित्वका लागि राखिएको हो । हामीले जतिसुकै अस्वीकार गरौँ, भूतप्रेत वा शक्तिजस्ता यस्ता केही तत्व यस संसारमा विद्यमान छन्, जसको अहिलेसम्म कुनै वैज्ञानिक आधार फेला परेका त छैनन् तर जुनसुकै अवस्थामा उपस्थिति रहे पनि त्यसको अस्तित्व चाहिँ छ नै । चलचित्रको बौलाही जब जब कुनै 'इच्छा' माग्न खोजिन्छ र त्यो पूरा हुने अवस्थामा हुन्छ- उसलाई छटपटाहट हुन्छ ।

चलचित्रमा प्रयुक्त साधु जुन भारतीय छ, उसलाई किन प्रयोग गरिएको भन्ने प्रश्नको उपयुक्त उत्तर चाहिँ के हुन सक्छ भने मुक्तिनाथ मन्दिर आउजाउ गर्ने हज्जारौँ साधुहरु कागबेनीमा बास बस्न सक्छन् । त्यहाँ भ्रमणरत साधुहरुका अनेकन् रहस्यात्मक कथाहरु छन् । मूलतः योगीहरु (जोगीहरु होइनन्) सँग यस्ता केही शक्ति पनि हुन्छन्, जुन साधारण मान्छेले कल्पेका पनि हुँदैनन् । केही योगीका आत्मकथा पढेपछि मलाई यो विश्वास पलाएको पनि छ । र, हामीले जब कागबेनी, मार्फा, जोमसोम, स्याङतिर 'बाँदरको पञ्जा'सँग लगभग मिल्दोजुल्दो कुनै तथ्य र लोकोक्ति छन् कि भनेर नखोजेका पनि होइनौँ । तर जबरजस्ती त्यहाँका गुम्बाका कथासँग यो लोभको कथा जोड्दा स्थानीय भावनालाई त कहीँ असर गर्दैन भन्ने प्रश्नले हामीलाई झक्झक्यायो ।

केही साथीहरुले मलाई भने- कागबेनी बीचबीचमा बोझिल छ । तर यसमा मेरो भनाइ के छ भने हाम्रो दैनिक जीवनमा जसरी कुनै दिन टेन्सनको हुन्छ, कुनै दिन खुशीको, कुनै चाहिँ बोरिङ । दैनिक जीवन चलाउँदै गर्दा रमेश र उसको परिवारको दैनिकी एकरसतापूर्ण छ । यो बोझिलपना त्यतिबेला आएको छ, जब उनीहरुको बिहे भएको १० वर्ष बितिसकेको छ । १० वर्षे कालखण्डमा एकरसता जीवन व्यतीत गरेको घर-परिवारको दैनिकी बोझिल त त्यसै पनि हुन्छ । त्यो एकरसता देखाउँदा उनीहरुको जीवनशैली जति अल्छिलाग्दो र एकरसता देखिन्छ, सिनेमामा पनि त्यस्तै प्रभाव सिर्जना हुने हुँदा सिनेमा बीचबीचमा बोझिल लागेको हो । के तपाइँको जीवन जुन बेला पनि एक्साइटिङ हुन्छ भन्ने कल्पन सक्नु हुन्छ ? सिनेमा ज्यादा नाटकीय नहोस्, बढी बलिउडिया नदेखियोस् भन्ने सचेतनाले पनि यस्तो भएको हुन सक्छ । र, खासगरी यहाँ थप्नै पर्छ- फिल्म बढी बलिउडिया नहोस् भन्ने कुरामा निर्माता भाष्कर ढुङ्गाना बढी नै सचेत थिए ।

यसको अर्थ यो होइन, जसरी क्वेष्ट इन्टरटेन्मेन्टले क्यामेराको प्रोटोटाइप ल्याएर त्यसको सफलतापूर्वक परीक्षण गर्‍यो, त्यस्तै कागबेनी एउटा सफलताको प्रोटोटाइप हो । एउटा लेखकभन्दा पनि एउटा दर्शकका हिसाबले मैले जब प्रिमियर शोमा चलचित्र हेरेँ- केही मुख्य दृश्यले जमाउनसक्ने प्रभाव कमजोर पो भएको हो कि ! भन्ने महसूस भयो । जस्तो रमेशले कृष्णको गोजीबाट जब 'पञ्जा' निकाल्छ, त्यो निकालेको दृश्य जति प्रभावी हुनुपर्ने थियो, जति कौतुकमय बन्नु पर्ने थियो- त्यो हुन सकेन । कतिपय दृश्यका 'इमोशन' बीचबीचमा गायब छन् । अर्थात् कलाकारको इमोशनसँग दर्शक एकाकार हुनै नपाई दृश्य कटिसक्छ । तर छोरो मरिसकेपछि रमेश र ताराको रिक्ततालाई चाहिँ सिनेमाले राम्रोसँग देखाएको छ । यसमा प्रशंसा गर्न कञ्जुस्याइँ गर्नु हुन्न ।

अनि अर्को कुरा चाहीँ सिनेमाको नाम कागबेनी, तर पूरै सिनेमा हेरिसक्दा यो ठाउँको नाम हो कि वा अरु नै केही त्यो दर्शकले चाल पाउँदैनन् । रमेश कहाँ बस्छ ? रमेश र उसको साथी हिँडिरहँदा कुन कुन ठाउँ हुँदै गइरहेका होलान् ? आदि कुरा प्रश्न नै रहन्छन्, तिनको उत्तर मैले पनि पाउन सकिनँ ।

सबैभन्दा प्रशंसापूर्ण काम त कलाकारले गरेका छन् । निमा रुम्बाले गायक भइकन पनि अभिनयमा जुन सम्भावना देखाएका छन्, त्यो साँच्चिकै प्रशंसायोग्य छ । रेटिङ गर्ने हो भने म त सौगात मल्ल र दिया मास्केभन्दा माथि निमालाई रेटिङ गर्छु । उनको मध्यान्तरअघि र पछिको दृश्यमा अभिनयको भिन्नता जसरी देखाएका छन्, त्यसका लागि निर्देशकले जसरी काम लिएका छन्- प्रशंसा नगरिरहन सकिन्न । बौलाही बनेकी आशा मगराती, भट्टीवाल्नी पूजा गुरुङहरुले ठीकै काम गरेका छन् । छोटो भूमिका भए पनि साहुजी बनेका पुष्कर गुरुङको कन्याउने बानीले दर्शकलाई कुत्कुत्याउँछ ।

यो आम नेपाली चलचित्रभन्दा माथि छ, त्यो 'माथि' हुनुको असर के हुनसक्छ भने यसका दर्शक सीमित हुन सक्छन् । तर फरक स्वादको अपेक्षा लिएर आउने दर्शकलाई मनोरञ्जन दिलाउन चाहिँ सक्छ ।

यहाँ एउटा सन्दर्भ कोट्याउन जरुरी छ । एक साथीले सिनेमा हेरिसकेपछि भने- "नेपाली सिनेमा 'हेर्नैपर्ने सूचि'मा पर्न अझै केही वर्ष लाग्छ । तर सिनेमा नहेरिकन एकै चोटी त्यो दिनको अपेक्षा गर्न सकिन्न । तुलनात्मक राम्रा नेपाली सिनेमा हेर्ने बानी बसाल्यो भने नेपाली सिनेमा हेर्नैपर्ने दिन आउन समय कुर्नु पर्दैन ।" यो चाहिँ तुलनात्मक रुपमा राम्रो सिनेमा बनेको छ । त्यसैले यो सिनेमा हेर्न जरुरी छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Review
Related Tags:
रिलिज अभिनेता सेलेब्रिटी समारोह सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,