Home» Music »Feature

भविष्य खोज्दै नेपालमा
- अच्युत कोइराला

कोही सुरक्षित भविष्य खोज्दै अमेरिका पुग्छन्, अनि कोही चाहिँ देखिएको र भएको सुरक्षित भविष्य पनि छोडेर स्वदेश आइपुग्छन् । पछिल्लो समय देशमा राम्रो साङ्गीतिक भविष्यलाई छोडेर अमेरिका पस्ने गायकगायिकाहरुको सूचि लामो हुन्छ । कर्ण दास, राजु लामा, सञ्जीप प्रधान, सरिश्मा अमात्य, संजीव सिंह, सपनाश्री यस्तै यस्तै अरु नाम पनि यसमा जोडिन सक्छन् । तर कोही चाहिँ विदेशको राम्रो जागीर, सम्भावना र भविष्यलाई छोडेर नेपाल फर्किएका छन् । त्यस्ता केही व्यक्तिमध्ये एक हुन्, आजका हाम्रा अतिथि । यी अतिथिले त्यसो त भर्खरै मात्र पहिलो एल्बम बजारमा ल्याएका छन् । तर पहिलो एल्बमका भिडियो र गीतहरुले पनि चर्चा पाउन थालिसकेका छन् ।

यी अतिथि हुन्, आर्य । रोचक कुरा के छ भने आर्य आफ्नो थर बताउन चाहँदैनन् । उनको मान्यता छ, कलाकारको जात, थर र सीमा हुनुहुन्न । अमेरिकाको अलाबामा राज्यमा पढाइका लागि अमेरिका पसेका उनले उतै ग्रीन कार्ड अप्लाई गरेका थिए । अप्लाई गरेअनुसार उनी त्यहाँ ग्रीन कार्ड पाउन पनि सफल भए । यसपछि उनको साङ्गीतिक सफर शुरु भयो । उनले त्यहाँ अनेक किसिमका हण्डर र ठक्कर खानु पर्‍यो । अन्ततः त्यहाँका नेपालीहरुबीच उनले एउटा पहिचान बनाउन सफल भए । केही समयअघि अमेरिकाको न्यूयोर्कमा आयोजित एनआरएन अर्थात् नेपाल बाहिर बस्ने नेपालीहरुको ठूलो भेलामा उनले गीत गाउने अवसर पाए । तीन हजार भन्दा बढी व्यक्तिको भेलामा उनले पहिलो पटक गीत र नृत्य कला प्रस्तुत गरेर सबैको मन जित्न सफल भएका थिए । त्यसपछि उनी अमेरिकाभित्रै लोकप्रिय बने ।

उनलाई यसपछि देशभित्रै नाम र इज्जत कमाउने इच्छाले गम्भीर बनायो र अहिले पहिलो एल्बम आर्य बोकेर आइपुगेका छन् । यो एल्बमको सबै कार्य अमेरिकामा नै भइसकेको थियो । उनले यसको भिडियो पनि अमेरिकामा नै बनाइसकेका थिए । उनका संघर्ष, नेपालबाहिरका नेपालीहरुको संघर्ष र डाक्टर बनाउने बाबुआमाको सपनाका वावजूद उनको सङ्गीत मोहका विषयमा आज तपाइँलाई कुराकानी सुनाउने छु ।

तपाइँको नाम के हो ? किन आर्य मात्र भन्नुहुन्छ ?
खासमा नागरिकतामा त आर्य सौरभ नै हो । तर भन्दा आर्य मात्र भन्छु । कुनै पनि जात, रंग आदिमा आफूलाई क्याटगोराइज गर्न नखोजेको मात्र हो । किनभने कलाकारको कुनै जात, रंग हुँदैन । मैले गीत लेख्दा कुनै समूहका लागि लेख्दिनँ, नेपाली भएर नेपालीका लागि लेख्छु । त्यसैले मलाई मेरो परिचय आर्य मात्रै भए पनि पुग्छ भन्ने लाग्छ ।

तपाइँको बाल्यकाल जनकपुर, वीरगञ्ज, नेपालगञ्जतिर बित्यो भन्ने थाहा भयो, तर किन ?
बुवा जनकपुरको हुनुहुन्थ्यो, सरकारी जागीरमा हुनुहुन्थ्यो । जागीरको सिलसिलामा म पनि उहाँहरुलाई पछ्याउँदै जानु पर्‍यो । त्यसैले मेरा बालककालका धेरै स्मृतिहरु जनकपुर, वीरगञ्ज र नेपालगञ्जतिरका छन् ।

तपाइँको पिताजी रमेश आर्य निकै विद्वान र धेरै किताबका लेखक पनि हुनुहुन्थ्यो, उहाँहरुको तपाइँलाई के बनाउने इच्छा थियो ?
बुवा पीएचडी हुनुहुन्थ्यो, टुरिजममा । त्यसैले पनि म धेरै पढुँ भन्ने वा डाक्टर बनुँ भन्ने थियो । तर मेरो रुचि चाहिँ मिडियामा थियो ।

बच्चा बेलामा तपाइँ चाहिँ के बन्छु भन्ने सोच्नु हुन्थ्यो ?
बच्चादेखि नै गाउँथेँ । तर बच्चाबेलामा त के राम्रो के नराम्रो भन्ने थाहा हुँदैनथ्यो । त्यसबेला आफू के बन्ने भन्ने कुरा बुवाआमाले देखाएको बाटो नै हुन्छ । तर कलेज पढ्न जब म इण्डिया गएँ, त्यहाँ गीतार बजाउन थालेपछि मात्र मैले गीत गुन्गुनाउने, लेख्ने गर्न थालेको हुँ ।

तपाइँको पिताजी पनि सङ्गीतमा निकै रुचि राख्नु हुन्थ्यो अरे, हो ?
बुवा जनकपुरमा हुँदा जनकपुर कला परिषद स्थापना गर्नुभएको थियो । २०२८ सालमा सारङ्गी भन्ने साहित्यिक पत्रिका पनि पहिलो पटक निकाल्नु भएको थियो । प्रकाश श्रेष्ठ, ज्ञानु राणाजस्ता गायकगायिकाहरुले वीरगञ्जमा फण्ड रेजका कार्यक्रममा बोलाउनु हुन्थ्यो । कार्यक्रम अर्गनाइज गर्ने हुनाले उहाँको भित्री रुचि संगीतमा थियो । गीतार, बाँसुरी, मेण्डोलिन आदि बजाउनु हुन्छ । 

कुन बेला तपाइँलाई लाग्यो, मेरो रुचिको विषय म्युजिक नै हो भनेर ?

यहाँ आएपछि हिट्स एफएममा दुइ वर्ष काम गरेँ । रेडियोमा काम गर्दै जाँदा म्युजिकसँग नजिकको सम्बन्ध बन्यो । तर अमेरिका पुगेपछि त्यहाँ वातावरणका कारण अंग्रेजीमा गीत लेख्न थालेँ । 'माइ लब' रेकर्ड गर्दा जुन संघर्ष गरेँ, त्यो अहिले सम्झँदा मेरो सबैभन्दा ठूलो प्रेम म्युजिक रहेछ भन्ने थाहा भयो ।

पहिलो पटक तपाइँले हिन्दी गीतको नेपाली अनुवाद गर्नु भएर आफूले लेखेको गीत भन्दै देखाउनु हुन्थ्यो अरे नि ?
१० वर्षको उमेरमा शम्भुजीत बासकोटाको एउटा एल्बम निकाल्नु भएको थियो । त्यो चाहिँ हिन्दी गीतको नेपाली अनुवाद हुन्थ्यो । मैले पनि यस्तो गर्न सक्छु भनेर हिन्दी गीतलाई नेपाली भाषामा उल्था गरेर मेरो वरिपरि सुनाउने गर्थेँ । तर पछि मेरो चोरी पक्डाउ पर्‍यो । अनि अर्काको नक्कली गीत गाउन छाडेँ ।

तपाइँ डाक्टर हुनुहोस् भनेर तपाइँको ममीले निकै मिहिनेत गर्नुहुन्थ्यो, फर्म ल्याइदिनेदेखि धेरै थोकमा सघाउनु हुन्थ्यो रे हो ?
सत्य हो । म डाक्टर बनुँ भन्ने ममी बाबाको ठूलो इन्ट्रेस्ट थियो । मलाई चाहिँ म्युजिकमा रुचि । म त्यसबेला मिडियामा काम गर्न थालिसकेकोले मेरो व्यस्ततालाई हेर्दै ममीले फर्म ल्याइदिने, भरिदिने र पुर्‍याइदिनेसम्मको काम गर्नु हुन्थ्यो ।

पछि हिट्स एफएममा जागीर खान थाल्नु भयो नि ?
मलाई मिडियामा काम गर्नु ठूलो रुचि थियो । त्यसैले साथी मार्फत् हिट्स एफएममा भ्याकेन्सी छ भन्ने थाहा पाएपछि अप्लाई गरेँ र काम पनि पाएँ ।

तपाइँ त पहिलो दिन नै हिट्स एफएमका सञ्चालकको काखैमा बसिदिनु भएछ ?
इन्टरभ्यूको दिन गएको थिएँ, नजिकै साथीलाई देखेपछि यति एक्साइटेड भएँ कि अर्को कुर्चीमा को बसिरहेको छ भन्ने नै विचार गरेनछु । र, गएर सनी श्रेष्ठ (हिट्स एफएमका सञ्चालक) को काखैमा बसिदिएछु । तर यो कुरालाई उहाँले माइण्ड गर्नु भएन ।

रेडियोमा काम गर्नु कत्तिको चुनौतिपूर्ण काम हो ?
त्यसबेला एफएम एकदमै नयाँ कुरा थियो । खुला हृदयले कार्यक्रम चलाउनु मिडियामा गाह्रो छ । तर मैले त्यो फ्रिडम हिट्स एफएममा पाएको थिएँ । कतिपय नयाँ काम गर्दा मैले सिनियरहरुबाट झपर्‍याइँ पनि खाएको थिएँ । तर एफएम सञ्चालक ममाथि विश्वास गर्नु हुने भएकाले मलाई गाह्रो चाहिँ भएन ।

रेडियोमा आफूलाई अरुभन्दा अलग देखाउन अनेक नाटक गर्नुहुन्थ्यो रे नि ?
गुड ओल्ड डेज कार्यक्रममा एउटा किसिमको फर्म्याट हुने गर्दथ्यो । तर चौथो पटकदेखि फरम्याट फलो गर्न रुचि लागेन । सरप्राइज दिन मंगल ग्रहबाट निम्त्याएको पाहुना आफैँले बोलेको थिएँ । यो धेरैलाई पचेन तर र्सवसाधारणले मन पराएका थिए । त्यस्ता अनेकन प्रयोग गरेँ । इफेक्टहरु खेलेर कार्यक्रमलाई रोचक बनाउन कुनै कसर छाडिनँ ।

कुन बेला लाग्यो अब रेडियो छोडेर अरु नै केही गर्नुपर्छ भनेर ?
दुइ वर्ष काम गरेपछि अमेरिका जाने चान्स पाएँ । त्यसबेला रेडियोपछि के त ? भन्ने प्रश्न आउँदा मैले इमेज च्यानलमा प्रयास गरेको थिएँ तर काम पाइनँ । अमेरिका या एफएममध्ये एउटा छान्दा मैले अमेरिका छानेँ । शुरुमा म आईटी पढ्न चाहन्थेँ । तर यसबेला पढाइपछि म सङ्गीतमै लागेँ । विभिन्न स्थानीय बार र क्लबहरुमा मैले गाउन शुरु गरेँ ।

छोरा वा छोरी जोसुकै भएपछि आमाबाबुको सपना ठूलो कुरा हुँदो रहेछ कि आफ्नो इच्छा ठूलो कुरा हुँदो रहेछ ?
जे गरे पनि राम्रो नाम हुने काम गर्नुपर्छ, र्सवसाधारणले सधैँ सम्झिऊन् भन्ने कुरा भनिरहनु हुन्थ्यो । डाक्टर मात्र ठूलो कुरा होइन भन्ने कुरा पनि हुन्थ्यो । प्रोफेशन मात्र अर्कै छानेँ मैले तर सर्वसाधारणले सम्झिने काम नै रोजेको छु । नाम कमाउने र अरुका दुःखपीडाका गीत गाउने वा अरुलाई नचाउने गीत गाउने नै काम गरेको छु । जुन नराम्रो होइन ।

तपाइँले त अमेरिकामा विभिन्न म्युजिक कम्पनीमा आफ्नो अडियो एल्बम मेल गर्दै पठाउँदै गर्नु भएछ, कस्तो रह्यो त्यस्को अनुभव ?
अमेरिका जति ठूलो देश त्यति ठूलो प्रतिस्पर्धा । मलाई आइडिया नभएका कारण मैले मेरो अडियो एल्बम सप्पै कम्पनीलाई पठाउने गर्दथेँ । तर पछि मलाई महसूस भयो कि यत्रो ठूलो देशमा यस्ता क्यासेट त हजारौँ हुन्छन्, कसलाई हेर्ने फूर्सद होला र ? त्यसपछि कुनै एउटा च्यानल भएर मात्र जानु पर्छ भन्ने मलाई लाग्यो ।

पछि त तपाइँ न्यूयोर्कमा मोडलिङ गर्न आइपुग्नु भएछ नि ? कसरी ?
मेरो एक जना साथीको ममीले एउटा एसियन लुक चाहिएको रहेछ, मलाई न्यूयोर्क जान सल्लाह दिनु भएको थियो । मेरो फोटो खिचेर न्यूयोर्क पठाइदिनु भयो । एमएएआई (मोडलिङ एशोसिएशन अफ अमेरिका इन्टरनेशनल) ले गरेको कार्यक्रममा भाग लिने अवसर पाएँ ।

त्यो बेला तपाइँले साना ठूला गरी तीन वटा अवार्ड जित्नु भएछ, त्यो चाहिँ कसरी ?
बेस्ट फोटोजेनिक फेस, बेस्ट सेमाइप्रोफेशनल रनवे मोडल (फस्ट रनरअप), बेस्ट सिंगर (सेकेण्ड रनरअप) जितेको थिएँ । मैले बेस्ट सिंगरमा माई लब गीत गाएको थिएँ ।

तपाइँले त्यसबेला म्युजिकमा कसरी जम्ने भनेर कस्ता संघर्ष गर्नु भयो ?
हिपहप क्लबमा अफ्रिकन अमेरिकनहरु मात्र थिए । ग्यांगस्टर र्‍याप रहेछ, थाहै नभई त्यहाँ पनि भाग लिएँ । मेरो त सफ्ट म्युजिक थियो, उनीहरुको चाहिँ अलि कडा भाषा । मुभिन ग्रुभिन गीत गाउनुअघि मैले गाएको फलो गर भन्दा उनीहरुले त्यो फलो गरे । त्यो एउटा अनौठो सफलता थियो । त्यसपछि मलाई स्टेजमा कन्फिडेन्ट दिलायो ।

तपाइँलाई कुन बेला लाग्यो, संगीतमा म जम्न सक्छु, दर्शकहरुलाई हल्लाउन सक्छु ?
एएनएको भेला २००५ मा भएको थियो । जसमा मैले पर्फम गरेँ । त्यो पनि रुचाइएकाले मेरो कन्फिडेन्ट बढेर आयो । त्यहाँको स्थानीय कार्यक्रममा त्यसपछि म लोकप्रिय हुन थालेँ । त्यहाँ तीन हजारभन्दा बढीको भीडमा पहिलो पटक पर्फ गर्दा ममा निकै आत्मविश्वास पलायो ।

तपाइँको यो नयाँ एल्बम आर्य अमेरिकामा नै रेकर्ड गर्नु भएको हो ?
ट्रयाकहरु त्यहीँ बनाएको थिएँ । माया र नशा गीतको भोकल पनि त्यहीँ रेकर्ड गरेको थिएँ । बाँकी गीतको रेकर्डिङ चाहिँ यहीँ गरेको थिएँ ।

त्यहाँ रेकर्डिङ गर्नुअघि पनि तपाइँले अंग्रेजीमा एल्बम बनाउनु भएको थियो रे, हो ?
ल्याण्डन ग्रीस भन्ने साथीसँग मेरो राम्रो जम्यो । जसका कारण अर्कै किसिमको गीत बन्यो । यही धुन र अंग्रेजी शब्दमा हामीले एल्बम बनाएका थियौँ । स्थानीय कर्न्र्सट र यताउति बेच्दा २०० सय सीडी बेचेँ तर नेपाली समुदायमा चाहिँ यो राम्रो बिक्री भयो । त्यही एल्बमलाई खासमा यहाँ रिलिज गरिएको हो- आर्य नामबाट ।

यो एल्बममा तपाइँ निकै कन्फिडेन्ट हुनुहुन्छ जस्तो देखिन्छ ?
शुरुमा म यस्तो थिइनँ । तर त्यो बेला पनि मैले राम्रो गरेँ भन्ने लाग्थ्यो तर हरेक कार्यक्रममा म स्टेज पर्फेन्सको भिडियो दर्जनौँ पटक घरमा गएर हेर्थेँ र भएका कमीकमजोरीलाई सच्याउँथेँ । अझै पनि मैले धेरै गर्न सक्छु भन्ने लागेको छ ।

तपाइँ नेपाल फर्किएर संघर्ष गर्नुको कारण पारिवारिक हो कि तपाइँको भित्री इच्छा ?
त्यहाँ बसेर मैले गर्न खोजेको त नेपाली म्युजिक नै हो । तर त्यहाँ नेपाली कम्युनिटी निकै सानो थियो । तर नेपालमा २ करोड जनतालाई मैले सुनाउन बाँकी नै छ भन्ने लागेकाले म यता फर्किएको हुँ ।

अरु गायकहरु चाहिँ विदेश भनेपछि हुरुक्क हुन्छन्, तर तपाइँ त विदेश छोडेर आउनु भएछ नि ?
अरु कलाकार फाइनान्सियल कुरा हेरेर नै गएको हुनुपर्छ । तर मलाई चाहिँ के लाग्छ भने यहाँ गर्न सके विदेश जानु पर्दैन । अर्काको भरमा काम गर्न खोज्यो भने असफल हुइन्छ । त्यसैले हरेक कुरामा आफू इन्भल्भ भइयो भने माम खान यहाँ गाह्रो हुँदैन ।

तपाइँ यो एल्बमको सफलतामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
म नेपाल आएको एक महिना मात्र भयो । म आफू कस्तो गायक भनेर चिनाउने भन्दा म पर्फर्मर पनि हुँ भन्ने चिनाउन चाहेको छु । त्यसैले गायनसँगै म आफ्नो कला पनि देखाउन चाहन्छु । मलाई स्टेजमा देखेपछि उहाँहरुले सीडी किनिदिनु भएको थियो । त्यसैले मलाई मेरो ट्रयाक र शैलीमा विश्वास छ ।

अबको तपाइँको योजनाहरु के के छन् त ?
मैले गायन सिकिहरेको छु । शिशिर योगी मेरा भोकल गुरु हुनुहुन्छ । टीभीमा पनि संलग्न हुनसक्छु । तर जे होस्, म मिडियामा नै हुनेछु ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
लुकेका कुरा ट्रयाक बाहिर गायक विचार उपलब्धि कीर्तिमान गीतकार बजारमा क्या बात ! हल्ला समुद्रपार सङ्गीतकार नेपाली तारा रिलिज गायिका परिस्थिति अवार्ड कन्सर्ट प्रेम र विवाह रुचि
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: