चिठ्ठापछि स्कूल त बालै भएन !

चीनका एक स्कूले ठिटाले ५० लाख युआन अर्थात् ६ लाख ८३ हजार डलर रकम बराबरको चिठ्ठा पाएपछि उनले स्कूललाई त्यागेका छन् । चीनको पूर्वी शहर नानजिङका यी निवासीले जियाङ्सु मेरीटाइम इन्स्टिच्यूटका यी विद्यार्थी योङका नामले चिनिन्थे ।
डबल कलर बल नामक चिठ्ठालाई चाइना वेलफेयर लोटरीले आयोजन गर्दै आइरहेको थियो । बेइजिङ न्यूजका अनुसार चिठ्ठा जितेपछि उनले आफ्ना कक्षाका साथी सबैलाई २ हजार युआनका दरले बाँढिदिएका थिए ।
योङले आफूले चिठ्ठा पाएको जानकारी स्कूलका अधिकारीहरुलाई पनि दिएका थिए । सो दिनको उनको उपस्थितिपछि उनी स्कूल नआएको स्कूलका अध्यापकहरुले जनाएका छन् ।
"हामीलाई लाग्दैन कि ऊ अब स्कूल पढ्न आउला !" योङका एक शिक्षकलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ- "तर हामी चाहन्छौँ कि उनले यो स्कूले शिक्षा चाहिँ पूरा गरुन् ।"
सन् १९४९ मा कम्युनिष्ट पार्टीको चीनमा आधिपत्य जमाएपछि भाग्योदय चिठ्ठाजस्ता कुरामा प्रतिबन्ध लगाएको थियो । पार्टीको नीतिविपरीत निजी सम्पत्ति वा लोभ बढाउने काम भन्दै यसलाई निरुत्साहित गर्ने गरिएको थियो । तर पछि सन् १९८७ मा चीनले बजार अर्थतन्त्रमा प्रवेश गरेयता चिठ्ठाहरु बढ्दै आउन थालेका छन् ।
पछिल्लो समयमा चिठ्ठा गरीव र नव धनाढ्यबीच लोकप्रिय हुँदै आएको छ । चीनको शहरी क्षेत्रमा प्रतिव्यक्ति आय १ हजार ९ सय डलर छ भने गाउँमा ६ सय डलर रहेको छ ।
त्यसो त यस्ता चिठ्ठाले केही व्यक्तिलाई कंगाल नै बनाएका घटनाहरु पनि विस्तारै बढ्दै जान थालेका छन् । चिठ्ठाकै कारणले दिमाग खुस्केका र लोटरी एडिक्टहरुलाई चिनियाँ सरकारले गत महिनादेखि सरसल्लाह, कानूनी उपचार र अन्य सुविधाहरु प्रदान गर्दै आइरहेको छ । |