बल्ल हुने भयो सूर्योदय

नेपाली चलचित्रमा आकाश अधिकारी अहिले बिकाउ चलचित्र निर्देशक मानिन्छन् । १३ वर्षअघि जब उनी मुम्बईबाट नेपालमा चलचित्र निर्देशन गर्न आइपुगेका थिए, केही समय उनी नेपालका उत्तरी क्षेत्रको भ्रमणमा निस्किएका थिए ।
"डोल्पाको एउटा गाउँमा एउटा घरमा बास बस्दा त्यहाँका स-साना बालबालिकाहरुलाई मैले बुवाको नाम सोधेँ । तिनले एक साथ पाँच वटा नाम बताए । म चकित परेँ", आकाशको महत्वाकांक्षी चलचित्र 'सूर्योदय' घोषणा कार्यक्रममा बुधबार भने- "यति लामो नाउँ एउटा बाउको ? कसरी हुनसक्छ ?"
यही कसरी ? भन्ने प्रश्नले उनलाई सूर्योदयको विषय फुराएको थियो । जसमा बहुपति प्रथाका विषयमा बोलिएको छ ।
११ वर्षअघिदेखि निरन्तर यस विषयमा अनुसन्धान गरिरहेका आकाशको यो चलचित्र चाहिँ चार वर्षअघि नै घोषणा गरिसकेका थिए । "मसँग विषय त थियो, तर लगानी जुरेको थिएन", कार्यक्रममा उनले भने- "अहिले एनआरएन केही हितैषी साथीहरु र चलचित्र उद्योगका केही हस्तीहरुलाई लिएर यो चलचित्र बनाउँदैछु ।"
शुरुमा १४ करोडको बजेट अनुमान गरिएको यो चलचित्रमा एक साथ थुप्रै नयाँ कुरा थपिएका छन् । जसमध्ये अमेरिकामा निर्मित रेड क्यामेरा, अमेरिकामा कपिराइट दर्ता गरिएको कथा, अन्तर्रराष्ट्रिय बजारीकरणको प्रयास हुने, हिमाली भेगको वास्तविक संस्कृतिलाई आधार बनाइएको चलचित्र, एक दशकभन्दा बढी समय लगाएर अनुसन्धान गरिएको चलचित्र हुने दाबी गरिएको छ ।
चलचित्रलाई गिनिज बुकमा नाम राख्ने पर्वतारोही आङतेम्बा शेर्पा (स्वीजरल्याण्ड), श्रीमती लिल गुरुङ (फ्रान्स), सन्तोषकुमार भट्टराई र पञ्चरत्न घिमिरे (दुवै जर्मनी), हरिप्रसाद नेपाल तथा चलचित्रका नायक द्वय शिव श्रेष्ठ, विजय लामा तथा चलचित्र निर्माता मोहन सर्राफको लगानी रहने बताइएको छ । आकाश अधिकारी यस चलचित्रका निर्माता तथा निर्देशक हुनेछन् ।
आफ्नो मिहिनेतमा विश्वास हुने हो भने जस्तोसुकै असम्भव कुरा पनि सम्भव हुने विश्वास कार्यक्रममा निर्देशक आकाश अधिकारीले बताइरहेका थिए । उनको यो होस्टेमा हैंसे गर्न चलचित्र निर्माता संघका अध्यक्ष अशोक शर्मा, आदिवासी जनजाति चलचित्र मञ्चका अध्यक्ष युवराज लामा, चलचित्र निर्देशक समाजका अध्यक्ष नारायण पुरी, चलचित्र प्राविधिक संघका अध्यक्ष राजेन्द्र खड्गी, अभिनेत्री बसुन्धरा भुषाल, नायिका रेखा थापा, नायक धिरेन शाक्यलगायत अन्यको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले लल्लु पञ्जुहरुले वाहियात सिनेमा बनाएकाले दर्शक घट्दै गएकाले 'सूर्योदय'जस्तो विषयमा गम्भीरतापूर्वक सिनेमा बनाउनु पर्ने बेला आएको बताएका थिए । यता नारायण पुरी पनि २५ दिनमा फिल्मको पटकथा लेखेर २५ दिनमै सुटिङ सक्ने प्रवृत्तिले ५ दिन पनि सिनेमा नचल्ने स्थिति बनेकाले गम्भीर प्रयासलाई हौसला दिइनु पर्ने बताइरहेका थिए ।
नेपाली चलचित्रमा पटकथा र प्रस्तुतीकरणमा गम्भीर संकट मौलाइरहेको बेला आकाशले बनाउने सिनेमाको प्रतीक्षा चाहिँ सबैलाई भएको छ ।
|