Home» Cinema »Review

नेपालः एउटा राम्रो प्रयास, तर...
- अच्युत कोइराला



केही दिनअघि नेपाल चलचित्रका निर्मातामध्ये एक निर्मलकुमार शर्माले भनेका थिए- हामीले त्यो प्रयास गरेका छौँ, जुन धेरैले धेरैअघि गरिसक्नु पर्दथ्यो । (हेर्नुहोस् समाचार)

सार्वजनिक प्रदर्शन गर्नुअघि विशेष प्रदर्शन गरिएको नेपाल केही प्राविधिक रुपमा त्रुटिपूर्ण देखिए पनि उठाउन खोजेका कुराहरु राम्रा छन् । तर त्यसलाई सिलसिलेवार तरिकाले राम्ररी पटकथामा नउनिएकाले यो सिनेमा राम्रो बन्न खोज्दाखोज्दै बन्न सकेको छैन ।

जस्तो कि रामकृष्ण ढकाललाई एक जना महिलाले सिनेमा सिद्धिएपछि सोधिन्, "कस्तो लाग्यो सिनेमा ?" रामकृष्णले बढो चतुर्‍याइँपूर्वक उत्तर दिए- "सिनेमाले उठाउन खोजेको कुरा चाहिँ बबाल राम्रो छ ।" उनले यो भनेनन्, सिनेमा एकदम राम्रो छ । उनले यो पनि भनेनन्, सिनेमा नराम्रो छ । उनले भने, उठाउन खोजिएको विषयवस्तु निकै खँदिलो छ, राम्रो छ । हुन पनि उनका नजिकका मित्रहरुले बनाएको सिनेमालाई उनले सीधै नराम्रो भन्न पनि मिलेन ।

सिनेमामा मध्य रातमा फेरी लाउँदै हिँडेको एउटा जोगीका तीन वटा छायाँ देखिन्छन् । लाइटिङका यस्ता समस्या, बीचबीचमा पात्रहरु अचम्म तरिकाले हुने गायब र जबरजस्ती ठुँसिएका गीतका कारण जति दाँतमा ढुंगा लाग्छ त्यति नै चाहिँदोभन्दा बढी भाषण दिने पात्रहरुका कारण पनि टाउको दुख्छ । यसको अर्थ चलचित्रमा राम्रा चिज छँदै छैनन् भन्ने होइन, राम्रा चिज चाहिँ अलि बढी नै व्याख्या गर्नुपर्ने हुन्छ ।

अमेरिकाबाट सुधांशु नेपाल आइपुग्छन्, जसलाई नेपाल बारेको चासो त्यति मात्रै छ, जति अन्य साधारण व्यक्तिलाई हुने गर्दछ । तर एकाएक उनी नेपाल भ्रमणमा निस्कन्छन् । नेपाल भ्रमणमा निस्कँदा उनले केही अविष्मरणीय व्यक्ति भेट्छन् । जसमा एकअर्कालाई हानाहान र मारामार गर्ने छोराहरुकी बूढी आमा, आफूले बढी कमाएको पैसा राष्ट्रिय झण्डा बनाउन खर्चिने दर्जी, गाउँमा विकास कहिले आउला भनेर कुरिबसेका वैद्य बा, द्वन्द्वका कारण आफ्नो थातथलो रुँदै छोडिरहेका बटुवा- यस्ता अनेक पात्रहरु देखेपछि सुधांशुले समस्याको जरो के हो र को हो भन्ने खोजी गर्छन् । खोजी गर्दा थाहा हुन्छ, देशभरिमा समस्या खडा गर्ने व्यक्ति एउटै हो, त्यो हो देशको नामूद व्यापारी शान्तिप्रसाद । यो शान्तिप्रसाद त्यही व्यक्ति हो, जो सुधांशुको बच्चादेखिकै साथी पनि हो ।

गम्भीर विषयमा अब त्यहाँ गोलमाल हुन्छ, जब यी व्यापारी शान्तिप्रसादले मन्त्रीलाई समेत हकार्छन् । मानौँ, नेता जतिका सडेगलेका व्यक्ति कोही छैनन् । गाउँभरि गोलमाल मच्चिएको छ, तर के गोलमाल हो त्यो प्रष्ट्याइएको छैन । पार्टी-पार्टीबीचको द्वन्द्वका कारण देश यो अवस्थामा पुगेको हो भनिएको छ तर पार्टी स्वतन्त्र हुनुअघि मानौँ देशमा रामराज्य नै थियो भन्ने भान पारिएको छ ।

पटकथाका यस्ता अनेकन समस्याका कारण धेरै जनाले लेखेको यो चलचित्र खिचडी बन्न पुगेको छ । नेपालमा नारीहरु लुटिइन्छन्, बचाउन सुधांशु अमेरिकाबाट सीधै बालाजु आइपुग्छन् । यस्ता कमीकमजोरीले सिनेमा खल्लो बन्न पुगेको छ ।

सुधांशुको दाबी थियो, यो सिनेमा दर्शकले चाहेजस्तो बनाइएको छ किनभने यसको कथा लेखक जनता हुन् । जनतामाझ गरिएका विविध अन्तरक्रियाले यसको कथा जन्मिएको हो । यसबाट थाहा हुन्छ, नेपाली जनता कति अन्तरद्वन्द्वमा छन् । आफैँमा गोलमटोल कथा बुन्दा रहेछन् । अनि त्यस गोलमटोल कथालाई पाँच पाँच जना पटकथाकारले सिलसिलेवार बनाउनै सकेका छैनन् ।

राजेश हमाल र सुधांशु जोशी यस चलचित्रका सहायक पात्र हुन् । मुख्य पात्र त दर्जी बनेका केशव भट्टराई, वैद्य बनेका रामचन्द्र अधिकारी र नेपाल आमा बनेकी शान्ति मास्के हुन् । यी तीन पात्रको सहारामा सिनेमा टिक्न सक्यो भने यसको पैसा उठ्ला, नत्र त गाह्रै होला । अँ, जसले राजेश हमालको चिच्याहट रुचाउँछन्, तिनले पनि यो सिनेमा एक पटक चाहिँ अवश्य हेर्छन् ।

यदि म कथाकार भएको भए...
यो समीक्षा पढ्नेहरुलाई लाग्दो हो, यसरी अहिलेकै सबैभन्दा बढी आशा गरिएको सिनेमालाई चाहिँ यो पंक्तिकारले कसरी शुरु गर्दो हो ?

जस्तो 'स्वदेश'मा मोहन भार्गव गाउँ फर्किन्छ- फर्किनुको कारण चाहिँ उसको सफलता हुन्छ । घाँटीघाँटीसम्म आएको सफलतापछि के त ? 'स्याचुरेशन प्वाइन्ट' मा आएको पैसा, सफलता र नामपछि मोहन भार्गवलाई आफ्नो बाल्यकाल याद आउँछ, गाउँ याद आउँछ । यो सिनेमामा सुधांशु पात्रलाई विदेशमा के गर्छ भनेर देखाइएको छैन, न त उसको विदेश मोह नै सकिएको छ । अझ उसले त विदेशमा मान्छे जानु कति फाइदा छ भनेर प्रमाण दिइरहेको छ । यस्तो पात्रले देशभित्रको समस्यालाई बुझ्न अझै धेरै कुराहरु गुज्रिएर जानु पर्छ ।

नेपालको समस्या नेता होइनन्, जनता हुन् । सानो सानो कुराको लागि सरकारको मुख ताक्छन् । जसरी 'स्वदेश'को मोहन भार्गवले जनताले नै गर्न सक्ने विकासका कामहरुको उदाहरण दिन जरुरी थियो सिनेमामा । तर 'स्वदेश'को कपी होला भनेर अर्कै जुक्ति रचिँदा राम्रो बन्न खोज्दाखोज्दै पनि बन्न सकेको छैन सिनेमा ।

निर्माताले आफ्नो पैसा जोगाउने मेलो गरेकाले सिनेमा बन्दाबन्दै नबन्न पुगेको हो । यहाँ जसरी फाइटहरु घुसाइएको छ, खासगरी क्लाइमेक्स र सुधांशुको 'इन्ट्रोडक्टरी' दृश्य- यसले अन्य नेपाली सिनेमा र यसलाई फरक नै बन्न दिएको छैन । यसमा दुइ नायिका सञ्चिता र सज्जाको काम नै छैन । कठै ! हाम्रा नायिकाहरु !!

यति हुँदाहुँदै पनि यो पक्का छ, सिनेमाले आफ्नो लागत चाहिँ उठाउन सक्छ । तर यो कुरा अलग हो, कमाउ सिनेमा र राम्रो सिनेमामा धेरै अन्तर हुन्छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Review
Related Tags:
रिलिज सेलेब्रिटी अभिनेता समारोह सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,