Home» Cinema »Feature

नेपालीले हेर्नैपर्ने नेपाल !



सिनेमा रिलिज हुने दिन नजिकिँदै जाँदा चलचित्र निर्माता तथा कलाकार निर्मल शर्माका व्यस्तताका दिन बढिरहेका छन् । त्यसो त यो पंक्तिकारसँगको वर्षौँको चिनजानमा यी मोटा कलाकारले कहिले पनि केही लेखिदिनुस् भनेर भनेका थिएनन् । त्यसो त चलचित्र बन्ने क्रममा र बनिसक्दा पनि उनले त्यस किसिमको आग्रह अहिलेसम्म गरेका थिएनन् । तर यस पटक पंक्तिकार आफैँ भेटौँ भनेर उनको नयाँ रेष्टुराँमा पुगेको थियो ।

"खै, मेरो बारेमा के कुरा गर्ने र !" शालिनतापूर्वक उनले आफ्नो लज्जा पोखे, यो पंक्तिकारसँग- "बरु यसो गरौँ, मैले भर्खरै एउटा सिनेमा बनाएँ, 'नेपाल' । यसका विषयमा चाहिँ लेख्न मिल्छ भने बरु नेपालकै बारेमा लेखौँ । किनभने जसरी अहिले हामीले आफूलाई चिन्न जरुरी छ, त्यसैगरी दर्शकले 'नेपाल' हेर्न जरुरी छ ।"

प्रख्यात चलचित्र तुलसी घिमिरेले केही साताअघि यो पंक्तिकारसँग गुनासो गरेका थिए- "खसीको टाउको देखाएर बाख्रीको मासु बेच्ने चलन छ, नेपाली चलचित्र उद्योगमा । त्यसैले दर्शक भाँडिएका छन् ।" यस्तै आशय छ निर्माता तथा कलाकार निर्मल शर्माको- "हाम्रो सिनेमा बबाल हिट नहुन सक्छ । किनभने खराब चलचित्रमा बानी पारिएका दर्शकले हाम्रो सिनेमा राम्रो छ भन्दा नपत्याउन सक्छन् । त्यसैले हिट नहोला, तर राम्रो सिनेमाका रुपमा यसले राम्रो नाम कमाउन सक्छ ।"

तीन दिनअघि मात्र सिनेमाको सेन्सर गराएका निर्माता शर्मा चलचित्रको व्यवसायबाट त्यहीँ ढुक्क देखिएका थिए । भन्छन्- "सेन्सर सदस्यहरु सबैले यो सिनेमालाई प्रशंसा गरिदिनु भयो । उहाँहरुले यो सिनेमा रुचाउनु भनेको पक्कै पनि र्सवसाधारणले रुचाउने छन् ।" पुसको तेस्रो सातादेखि पोखरा, नारायणघाट, दमक, विर्तामोड गरी चार स्थानबाट रिलिज हुन गइरहेको यस चलचित्रमा राजेश हमाल, सुधांशु जोशी, धिरेन शाक्य, सञ्चिता लुइटेल, सज्जा मैनाली, दीपकराज गिरी र स्वयं निर्मल शर्माले पनि अभिनय गरेका छन् ।

सिनेमामा भव्यता र वास्तविकता नजिक ल्याउन उनले क्लाइमेक्समा त ३ सयभन्दा बढी कलाकारहरुको उपयोग गरेका छन्, जहाँ तोडफोडको दृश्य जीवन्त उदाओस् । उनले नगरकोटभन्दा अलि माथि एउटा यस्तो सेट बनाए लाखौँ खर्चेर, जहाँ पछि आगो लगाइएको दृश्य छ । पूरै गाउँ जलेर नष्ट भएको दृश्यका लागि निर्देशक दयाराम दाहालले निकै मिहिनेत गरेको पहिलेदेखि नै बताउँदै आइरहेका थिए ।

निर्माता शर्मा त केसम्म भनिरहेका छन् भने, यो सिनेमाको व्यापारिक भविष्यमा अन्य चलचित्रहरुको भविष्य पनि टिकेको छ । यदि यो सिनेमा चल्यो भने यसपछि लगभग यस्तै विषयमा बनिरहेका अन्य चलचित्रहरु पनि राम्रै चल्ने आशा गर्छन् । "यो चलेन भने, यस्तै विषयमा बनिरहेका अन्य देशहरुको हालत के हुने हो, मलाई अहिले चिन्ता लागिरहेको छ", शर्माको भनाइ छ ।

नेपालमा कस्ता सिनेमा बनिनु वा बनाइनु पर्छ भनी सुधांशु जोशीले एक पटक अन्तरक्रिया कार्यक्रमको आयोजन गरेका थिए । धेरैले धेरै कुराको सुझाव दिएका थिए । त्यही सुझावमा केन्द्रित रहेर बनाइएको हुनाले यो चलचित्रको कथाकारको नाममा 'नेपाली जनता' लेखिएको छ । "किनभने यो तपाइँ हाम्रो कथा हो । तपाइँ हाम्रो कथाका कथाकार हामी स्वयं नै हौँ", निर्माता शर्मा भन्छन्- "त्यसैले कुनै एक जनाको नाम दिन हामीलाई उचित लागेन ।"

यदि नेपाली चलचित्रको इतिहासमा सबैभन्दा धेरै पटकथाकारहरुले काम गरेको कुनै चलचित्रको नाम आयो भने त्यो नेपाल नै हुने सम्भावना छ । किनभने यसमा नाम चलेका लेखक, पटकथाकारहरुले आफ्नो कलमको मसी सुकाएका छन् । जस्तो कि सुरज सुब्बा नाल्बो, दयाराम दाहाल, किशोर ढकाल, मौनता श्रेष्ठ र सानु श्रेष्ठले यसमा पटकथाकारको भूमिका निभाएका छन् । त्यसैले धेरैको दिमाग लागेको हुनाले यस चलचित्रलाई कुनै एक व्यक्तिको चलचित्रका रुपमा नभई सामूहिक चलचित्रको रुपमा चित्राङ्कन गरिरहेका छन्, निर्माताहरु ।

"देशप्रति वितृष्णा हुनेहरु, देशको लगानीलाई लात हानेर स्वदेश भुल्नेहरु र आफ्नो उत्तरदायित्व बिर्सनेहरुलाई यो चलचित्रले गतिलो झापड हान्नेछ", निर्मलको आशा छ- "मलाई गर्व छ, मैले यो सिनेमा बनाएको छु र मलाई लाग्छ, तपाइँले हेर्नुभयो भने तपाइँलाई नेपाली हुनुमा अवश्य गर्व लाग्नेछ ।"

कुरो बुझ्नु भयो त ?

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेता रिलिज अभिनेता सेलेब्रिटी समारोह सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,