Home» Cinema »Review

तारे जमीन परः हर अभिभावकले बुझ्नुपर्ने कुरा
- अच्युत कोइराला


छोराछोरीले पढेनन्, उनीहरुले अभिभावकको कुरा बुझ्दैनन्, सधैँभरि पढाइमा अब्बल हुन सक्तैनन् भने त्यसको उपचार के हुन सक्छ ? आमिर खानले निर्माण तथा निर्देशन गरेको चलचित्र तारे जमीन परले यो कुरालाई उठाएको छ ।

हरेक व्यक्ति उही हुँदैन, उस्तै हुँदैन । उसको शरीर काम गर्ने तरिका र सोच्ने शैली फरक हुन सक्छ । त्यसैले त हरकोही स्वामी विवेकानन्द हुन सक्तैनन्, ओशो रजनीश हुन सक्तैनन्, बिल गेट्स हुन सक्तैनन् । आखिर सोचेर वा बन्छु भनेर पनि कोही त्यस्तो बन्ने होइनन् । यो त व्यक्तिको आफ्नो सोच, मिहिनेत र उसको वातावरणले दिलाउने कुरा हो ।

बलिउडको सिने परम्परामा आएको नयाँ परिवर्तनको झलक हो, तारे जमीन पर । पछिल्लो समयमा भारत आफैँले महसूस गरिरहेको कुरा सिने पर्दामा झल्किरहेको छ । उसले 'मेट्रो'का पात्रहरु बोकिरहेको छ आफ्नो छातिभरि, 'चक् दे इण्डिया'को कविर खानहरुको लालसा बोकिरहेको छ मनभरि, 'युवा'जस्ता अराजक भीँड लिइरहेको छ काखभरि । तर रोचक के छ भने मनोरञ्जन उद्योगले यी सबै कुरालाई पर्दामा कसरी प्रभावकारी ढङ्गले पस्किने- यो सिकिसकेको छ ।

मनमोहन सिंहको 'साइनिङ इण्डिया'मा 'युवा'हरु अब आश्वस्त भइसके- देशमै भविष्य छ, कतै खोज्न जानु पर्दैन भनेर । त्यसैले त सन् २००५ मा मात्रै २० हजार वैज्ञानिकहरु यूरोप र अमेरिका छाडेर उनीहरु 'स्वदेश' फर्किए । 'स्वदेश'को मोहन भार्गव त ती फर्किएका २० हजार वैज्ञानिकहरुमध्ये एउटा उदाहरण मात्र थियो । मणि रत्नमको 'युवा'ले सिकाएको पाठ पनि त्यही थियो, यदि युवाहरुको अराजक भिड जम्मा भयो भने त्यो देश तहसनहस हुन्छ र मिले भने विकासको मूल फुटाउँछ ।

अब बलिउड अलि 'म्याच्योर' भएको छ । साइनिङ इण्डियामा युवाहरु देश बनाउन कस्सिएपछि पालो बालबालिकाहरुकै आउँछ । तिनलाई दिइने वातावरण र शिक्षाले ठूलो महत्व राख्छ । आमिर खानको 'तारे जमीन पर'ले हर बालक महत्वको छ भनेर देखाएका छन् । तिनका समस्या, तिनको संसार र तिनले बुझेको सत्य- अभिभावक बुझ्न चाहँदैन । अभिभावकलाई त मस्त, तगडा, परीक्षामा सधैँ ९० प्रतिशत कटाउने मेसिन चाहिएको छ । के अब आफ्ना छोराछोरीलाई बुझ्ने बेला भएन र ! सिनेमाले यही कुरा बताउने प्रयास गरेको छ ।

इशान अवस्थीको एकलकाँटेपन, उसको खुशी, उसको समस्यालाई उही समस्याबाट गुज्रिएको अर्को पात्र रामशंकर निकुम्भले मात्र महसूस गर्छ । किनभने उसलाई त्यो चोट थाहा छ, त्यो पीडा र त्यो समस्या थाहा छ । अरु सिनेमा र यो सिनेमामा यही विशेष फरक छ । अरु सिनेमाले उसको हृदयले बुझ्दै नबुझेको, महसूस नै नगरेको पीडा अन्य पात्रहरुसँग 'शेयर' मात्र गर्दैन, तिनको समस्यालाई तु. समाधान गरिदिन्छ । वास्तविकतामा आधारित भएर सिनेमा बनाउनु गाह्रो छ, निर्देशक आमिर खानले त्यो गरेर देखाएका छन् ।

सिनेमामा केही दृश्य छन्, ती दृश्यले मन दुखाएर आँखाबाट रस निकाल्छन् । जब इशानको बाउ बाहिरी संसारसँग प्रतिस्पर्धी बनाउन आफ्नो छोरालाई यी सब कुरा लादिरहेको बताउँछ, जब इशानको बाउ आफ्नी श्रीमतीले छोराको वास्तविक समस्या आमाले इन्टरनेटबाट सोधखोज गरिरहेकी छ वा यस्तै अन्य कुराहरु गर्छ- त्यतिबेला ऊ स्वयंले छोरालाई कहिले पनि माया नगरेको पहिलो पटक महसूस गर्छ । जब जब इशानले एकोहोरो भएर पानीमा हे
र्छ, पर क्षितिज नियाल्छ, एकान्तमा घुँक्क घुँक्क गर्दै आफन्तजनलाई सम्झिन्छ- दर्शकलाई यस्तो महसूस हुन्छ, परिवारजनले उसमाथि कति अन्याय गरिरहेका छन् । यी सबै 'इमोशन'लाई पर्दामा सफलतापूर्वक पस्किन सक्नु निर्देशक आमिर खानको सफलता हो ।

हरेक बच्चा वास्तवमै विशेष हुन्छन्, तर तिनलाई अध्ययन गर्न सक्नु पर्छ । तरन आदर्श, भारतीय चलचित्र समीक्षक, लेख्छन्- "म माथि एउटा कृपा गर्नुस्, गएर चलचित्र हेर्नुस् । अनि तपाइँले थाहा पाउनु हुनेछ, वास्तवमै बच्चाहरुलाई कसरी व्यवहार गर्नुपर्ने रहेछ !"

हिजो साँझ मात्र मेरो ठूलो दाइ जय नेपाल हलबाट सिनेमा हेरेर राति फर्कियो । उसले कागजका केही टुक्रा च्यात्यो र कोठामा छरपष्ट पार्‍यो । देख्नेहरुले उसलाई केहीबेर टोके- "किन फोहोर पारेको -" उसको जवाफ थियो- "यो त मलाई पनि थाहा छैन, गएर 'तारे जमीन पर' हेरेर आओ ! त्यसपछि यसभित्रको मनोविज्ञान खोज्ने प्रयत्न गरौला !" के अब आमिरले ठूलाहरुकै बचपनासम्बन्धी सिनेमा बनाउलान् !!

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Review
Related Tags:
रिलिज अभिनेता सेलेब्रिटी समारोह सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,