Home» Cinema »Feature

डोरोटा सिस्कोभाको नेपाल अनुभव
 अच्युत कोइराला


पुसको यो चिसोमा आँखा नै सेकिने गरी मेरो घुम्ने मेचमा दुइ सुन्दर विदेशी बाला इन्टरनेटमा समाचार हेरिरहेका थिए । म अल्मलिएँ, गलत कोठा त थिएन ! अकस्मात अधिकारपूर्वक मेरै कोठामा म छिर्नु स्वाभाविक थियो । त्यसैले मेरो मेचमा बसेर, मेरै कम्प्युटरको कीबोर्ड थिचिरहेका ती बालाहरुलाई पनि अप्ठेरो महसूस हुनु अस्वभाविक थिएन । शुरुमा नेपाली केटीहरु नै होलान् भनेर म हच्किएँ- अर्काको मेचको दुरुपयोग गरिरहेकोमा मलाई थोरै 'जलन' पनि भयो । पछि थाहा पाएँ, यी चेक गणतन्त्रबाट गणतन्त्र हुन लागेको नेपाल हेर्न आइपुगेका मोडलहरु रहेछन् !

"...भनेपछि तपाइँहरु चेक गणतन्त्रबाट हान्निएर यहाँ मोडलिङ गर्न आउनु भएको !" मैले तिनलाई अंग्रेजीमा प्रश्न गरेँ । दुवै सुन्दरी एक छिन अकस्मात आएको प्रश्नले रन्थनिएर मतिर हेरे । दुइमध्ये डोरोटाले नै मलाई जवाफ फर्काइन्- "होइन, घुम्न आएकाले समयको सदुपयोग गरेको मात्र हो । फेरि मेरो लागि यो अप्ठेरो र नयाँ अनुभव पनि त होइन !"

यसपछि मैले डोरोटा सिस्कोभालाई नै छानेँ गफि्फने मेलोका लागि ।

उनका बुवाआमा नै थिएटर कलाकार ! ६ वर्षको उमेरदेखि नै थिएटरसँगको परिचय ! त्यसैले उनी यता तानिनु स्वाभाविक थियो । तर व्यक्तिगत रुपमा उनी यसलाई उति रुचाउन्न थिइन् । बरु उनको रुचिको विषय थियो, अल्टरनेट म्युजिक ! "मलाई सङ्गीत यति मन पथ्र्यो कि पाँच वर्षो उमेरमा त म पियानो बजाउन सिपालु भइसकेकी थिएँ", यत्तिकैमा चूरोट सल्काइन्- "लिऊँ त !" "मसँग बतियाउनका लागि चूरोट घूस चाहिन्न", मैले उनसँग ठट्टा गर्न चाहेँ, तर अंग्रेजीमा कुरो अलि पुगेन होला, त्यसैले उनी हाँसिनन् ।

१४ वर्षको उमेरमा यूरोपका तरुनीहरु त्यसै पनि मस्त देखिइन्छन् । उनी त झन् कलाकारिताले भरपूर घरमा जन्मिएकी थिइन् । उनले जानेदेखि नै घरमा, थिएटरमा, सुटिङ स्पटमा उनले अभिनय कला सिकेकै थिइन् । त्यसैले यौवनका चिहृनहरु थपिँदै जाँदा उनकै पिताजीले उनलाई चलचित्र खेल्ने अफर गरेका थिए । 'अर्बिस पिक्टस' (पिक्चर्स अफ द वर्ल्ड) उनले जानेर खेलेको पहिलो चलचित्र थियो । यसपछि मात्र उनलाई सिनेमा रस बस्यो ।

उनी जन्मिदा चेकोस्लोभाकियामा जन्मिएकी थिइन्, २५ वर्षअघि । १९९३ देखि उनी चेक गणतन्त्रकी नागरिक रहिन् । "देश टुक्रिए पनि मन टुक्रिँदो रहेनछ", छेउकी सुन्दर बाला एकाएक दार्शनिक बन्छिन्- "आज बिहान मात्र युरोपेली संघमा हाम्रोलगायत अन्य देशहरु सदस्यता पाएपछि म फुरुङ्ग छु, मेरो अनुहारमा त्यो देख्न सक्नु हुन्छ !" थाहा पाउँदैछु, अनुहार दिप्त छ, सप्पै थोक मिलेका यी सुन्दरीका दाँत चाहिँ नमिलिरहेको पाउँछु घरिघरि- हरिया देखिएकाले ! युरोपेली संघको सदस्यता पाएपछि अब यूरोपभरि हिँड्नडुल्न उनलाई पासपोर्ट बोकिरहनु परेन, झन्झट बेहोर्नु परेन । यही खुशी उनको अनुहारमा देखिएको थियो ।

उनी त कलाकार, केही समयअघि मात्र उनको 'मुसिम सि पोमाट' अस्कर अवार्डका नामाङ्कित भएको थियो । यस्तो अवस्थामा सानो जनसंख्या र सानै आकारको गणतन्त्रको कलाकार भएर कुँजिनु उनलाई मन छैन । संसारलाई घर ठान्छिन्, र त उनी नेपाललाई पनि उत्तिकै चाहन्छिन् ।

"यो समेत दुइ पटक भयो", नेपाल भ्रमणको गन्ती सुनाउँछिन्, चूरोटको ठूटो निभाउँदै- "पहिलो पटक आउँदा नेपालका केही प्रख्यात ठाउँ घुमेँ र प्रभावित भएँ । फेवा तालको किनारमा बसेर अघिल्लो पटक मलाई के लागेको थियो भने म 'अन्नपूर्ण रेञ्ज' चाहिँ पैदलयात्रा गर्छु, त्यही मोहले मलाई फेरि तान्यो ।" उनी आएको चार महिना बितिसकेछ । अब फर्कने बेला भयो । छेउबाटै फूर्तिका साथ आफूजस्तै 'स्लीम' ल्यापटम झिक्छिन् र मतिर तेर्स्याउँछिन्- "मैले खेलेको नयाँ सिनेमा !" ल्यापटपले सिनेमाको प्रोमो देखाइरहेको छ, जसमा उनी नग्न भएको र 'सेक्स सिन' दिएकोसमेत देखाइरहेको छ ।

"मलाई सिनेमामा सबैभन्दा मन नपर्ने चिज नै सेक्स सिन हो । मलाई कता कता अप्ठेरो हुन्छ, असहज लाग्छ । तर पेशा हो, निर्देशकले भनेपछि दृश्य दिनै पर्‍यो", फेरि उही हरिया दाँत देखाउँदै थप्छिन्- "म यूरोपेली त हुँ तर सोचाई चाहिँ नेपालीको जस्तो छ । त्यही भएर नै यो ठाउँ मलाई यति धेरै मन परेको हो कि !" मैले उनलाई केही भन्न आँ गरेँ तर भन्न मन लागेन । भन्ने मन त थियो- शायद अघिल्लो जन्ममा तिमी यतै गाउँघर कन्दराकी छोरी थियौ । विकटताबाट वाक्क भएर तिमी अन्तै जन्मिने इच्छा गरेकी थ्यौ क्यार ! तर घुमिफिरी यहीँ आइपुग्यौ ।

त्यसैले उनले यस पटकको भ्रमणमा आफ्नी बहिनीलाई पनि लिएर आइन् । छेउकी अर्की सुन्दरबालातिर हातले सोझ्याउँदै चिनाइन्- 'मिट टेरेजा, माइ सिस्टर ।' उनकी बहिनी झनै तगडा रहिछन्- डकुमेन्ट्री मेकर !

"यस पटक म पोखराभन्दा अलि माथिको गाउँ गएँ", नेपाल वर्णन गर्न थालिन्, यी यूरोपेली सुन्दरी- "जहाँ घाँस दाउरा गर्न टाढाको जङ्गल जानु पर्दथ्यो, गाई भैँसी चराउनु पर्दथ्यो । घाँस काट्ने, घर लिप्ने र अनेक काम गर्नु पर्दथ्यो । मैले मेरै उमेरकी एउटी महिललाई साथी बनाएँ र उसँगै म घाँस काट्न गएँ, गोबरले लिपेँ र उसले झैँ खाना बनाएँ ।" एउटा लामो सास फेरिन् उनले, शायद त्यस बेला पाएको सास्ती उनको दिमाग वरपर घुमिरहेको थियो । थपिन् पनि- "यदि म नेपालमा जन्मिएकी भए म उनीभन्दा फरक हुने थिइनँ । मेरा बाबाले १६ वर्ष नपुग्दै, स्कूल पढ्दापढ्दै बिहे गरिदिन्थे र १७ वर्षको उमेरमा तीन सन्तानकी आमा बनिसक्ने थिएँ ।"

उनी त डकुमेन्ट्रीका लागि अनुभव गर्न त्यहाँ पुगेकी थिइन्, तर तिनीहरुसँगको लगाव छुटेन । "मैले उनीसँग मित लाएँ", मितको नाम भन्नु हुँदैन झैँ उनले नाम बताइनन् । बरु उनको नाम उच्चारण गर्न सजिलो होस् भनेर मितिनीले नयाँ नाम दिइन्- फूलमाया । यसपछि उनी फेरि हाँसिन् ।

त्यसो त यूरोपमा पनि जीवन उति सजिलो कहाँ छ र ! उनले १९ वर्ष नपुग्दै एउटा लक्का जवान (नाम खुलाइनन्) लाई बिहे गरेकी थिइन् । "उ पनि मजस्तै सङ्गीत गर्ने थियो, हाम्रो मन मिल्थ्यो । त्यसैले एउटै पेशा, एउटै हित्तचित्त भनेर बिहे गरेकी थिएँ", यसपछि उनको अनुहारमा हाँसो बिलायो- "हामीलाई सन्तान अहिले चाहिएको थिएन, किनभने जीवनमा धेरै थोक गर्न बाँकी नै थियो । गएको वर्ष नै हो हाम्रो ब्रेक अप भयो । हामी छुट्टियौँ । सन्तान नभएकाले बरु सम्बन्ध सिध्याउन सजिलो भयो, नत्र झन् झ्याउ हुन्थ्यो ।" उनले यो कुरा चाहिँ चाँच्चाँडो भनिन्, ताकि चूरोटको सर्को सिध्याउञ्जेलसम्म उनको यो बात पनि सिध्धियोस् ।

मलाई अझ गहिरो गरी उनीहरुको प्रेम, सेक्स र अन्य कुराहरु सोधुँ झैँ लागेको थियो तर आँखाभित्रका रेशा रातो हुँदै आएका थिए । मैले अझ बढी केही सोधेँ भने त्यहाँबाट आँशु निस्कन बेर लाग्ने थिएन । मलाई नारीको आँशु हेर्न उचित लाग्दैन । मैले त्यसबारेमा कोट्याइनँ । तर यति भनेँ- "तिमीहरुकोमा विवाहित जीवन कति चाँडो सकिन्छ, हगि ?" "कानूनी रुपमा त्यहाँ छुट्टिन त सजिलो छ, तर यहाँ मनभित्रबाट छुटाउन कम्ता गाह्रो हुँदैन", उसको वैश्विक सत्य एक साथ आउँदा मेरो मुखबाट वाक्य फुट्यो- "क्या बात !" उनले सोचिहोलिन्- पक्कै कुनै संवेदनाको स्वर होला !

एक झमटको बसाइमा यूरोपकी एउटी बालाको जीवन कथा सुनिसकेको थिएँ । मैले उसलाई अझ भावुकतातिर डोर्‍याउन चाहिनँ । उसलाई भविष्यको योजना सोधेँ, उसँग निकै लामो लिस्ट थियो । जसमध्ये अब उनी गोवा जानेछिन्, जहाँ उनको मित दाइको बिहेमा भाग लिने छिन् । त्यसपछि भर्खरै प्रोमो देखाइएको सिनेमाको रिलिजका लागि प्रचारप्रसारमा लाग्ने छिन् । त्यसलगत्तै उनले बनाएको नयाँ म्युजिक एल्बम बजारमा ल्याउने छिन् र त्यसपछि एल्बम प्रचारको यूरोप टूरमा निस्कने छिन् । त्यो छोटो टूर सकिने बित्तिकै उनी अप्रिलमा फेरि उनको नेपाल आइपुग्ने योजना छ । "नेपाल घुम्न अझै धेरै बाँकी छ", उनको अनुहार यतिबेला दिप्त देखियो- "पहाड र हिमाल मेरा प्रिय सङ्गी हुन् । त्यसैले यो देश मलाई मन पर्छ । अछुतो विषय, अछुता परम्परा र संस्कृति हेर्न लायक् चिजबिजको लामो सूचि बन्छ । मानौँ समय रोकिएको छ यहाँ । रोकिएको समयभित्र म रुमल्लिन चाहन्छु ।"

एउटी विदेशी कन्या मलाई मेरै देशको महत्वबारे बतियाउँदै थिई ! जाऊ डोरोटा, घुम ! आँखाभरि नेपालको सपना र मनभरि नेपालीको व्यवहार बोकेर जाऊ !


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेत्री विचार ट्रयाक बाहिर गायिका अभिनेत्री प्रविधि सुटिङ अभिनेता रिलिज समारोह हल्ला सेलेब्रिटी पेज थ्री सेक्स
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: