Home» Cinema »Review

आँधितुफान, नाम मात्रको !

आज बिहान बिहीबार (२० डिसेम्बर) को काठमाण्डू पोष्टमा खबर थियो- अपहरित उद्योगपति महेश मुरारकाको अहिलेसम्म अत्तोपत्तो छैन । अपुष्ट खबरअनुसार मुरारका परिवारलाई अपहरणकारीहरुले करोडौँ असुलीका लागि फोन गरेका थिए तर परिवारजनले पैसा घटाएर एक करोडमा झारे !

यसैबीच यो साता तराईमा पाँच भिन्न अपहरणका घटना घटेका छन्, जसमध्ये दुइ जनाको गोली हानी हत्या गरिसकिएको छ र बाँकीको स्थिति अज्ञात मानिएको छ ।

यस्तो अवस्थामा अपहरण र यसभित्रको अर्थनीतिका विषयमा चलचित्रकर्मी मौनता श्रेष्ठले 'आँधितुफान'को निर्माण तथा लेखन गरेका छन् । चलचित्रलाई निर्देशन गरेका छन्, महेन्द्र बुढाथोकीले ।

यो चलचित्र अंग्रेजी 'चार्लिज एञ्जेल्स'बाट नक्कल गरिएको भनी स्वीकार गरेका लेखक मौनता श्रेष्ठले इनशाडटकमसँगको कुराकानीमा पहिले नै भनेका थिए- "चार्लिज एञ्जेल्स जति हावा यो सिनेमा छैन ।" तर सिनेमा हेरिसकेपछि के लाग्यो भने जति हावा चार्लिज एञ्जेल्स छ, त्योभन्दा बढी हावा यो सिनेमा छ ।

सिनेमाको कथामा एक बालिकाको अपहरण हुन्छ । ती अपहरित बालिकाको खोजीका लागि प्रहरीलाई खबर नगरी निजी जासूसहरु प्रयोग गरिन्छन् । निजी जासूस गंगा, जमुना र सरस्वतीले आफू बल, बुद्धि र सौन्दर्यको सक्दो दोहन गरेर अपहरित बालिकालाई मुक्त गर्छन् र अपहरणकारीहरु प्रहरीको जिम्मामा पुग्छन् ।

भन्नलाई त निर्माता तथा लेखक मौनता श्रेष्ठले दुइ वर्षअघि कोटेश्वरबाट अपहरित विवेक चौलागाइँको कथामा आधारित भनेका छन् । विवेकको हत्या नराम्रोसँग भएको थियो, सिनेमाको कथामा चाहिँ अपहरित पात्रलाई जोगाइएको छ । तर कति हावा कथा छ भने नेपालमा नै नदेखिएका डिटेक्टिभहरु यहाँ सक्रिय हुन्छन् । जसलाई अनुसन्धान कसरी गरिन्छ भन्ने 'अ' नै थाहा छैन र अनुसन्धानका लागि गुण्डाहरु खोज्दै हिँड्छन् र भन्छन्- "यिनीहरु त हामीभन्दा पनि बुद्धिमान निस्किए !" तर चलचित्रभरि तिनले बुद्धिमान काम र कुरा के गर्छन् भन्ने स्पष्ट पारिएको छैन ।

चलचित्रका दुइ नायिका पूजाना प्रधान र ऋचा घिमिरे पर्दामा ठीकै देखिएका छन् । समस्या त निर्देशक र लेखकमा देखियो, जसले यी दुइ क्षमतावान नायिकाहरुलाई चाहिँदो दोहन गर्न सकेका छैनन् । 'तीतो सत्य' टेलिश्रृङ्खलाकी हिट पात्र रञ्जु लामिछाने त पूरै सिनेमामा वाहियात पात्रका रुपमा छिन् । उनलाई तीन वटा पात्रका रुपमा मात्र उभ्याइएको छ । उनलाई नराखिएको भए पनि सिनेमालाई खासै असर पर्ने देखिँदैनथ्यो । रञ्जुमाथि त यो खेलवाड नै थियो ।

चलचित्रका अन्य कलाकारमध्ये रमेश बुढाथोकी, दिनेश श्रेष्ठ, उमेश खड्का र विक्रान्त बस्नेतले स्वाभाविक प्रस्तुति दिए पनि अन्य पात्रहरुको न भावभङ्गिमा मिलेको छ न पात्रहरुमा चरित्रअनुसारको गार्म्भीयता नै ! जसका कारण फितलो निर्देशन र असहज प्रस्तुति बन्न पुगेको छ ।

राजधानीबाहिर ठीकै व्यापार गरेको यो चलचित्रले राजधानीभित्र बबाल व्यापार गर्ला भन्ने अनुमान गर्नु बेकार हुन्छ । यो सिनेमा मध्यमस्तरको बनेको हुनाले दर्शकले पनि निर्मातालाई मध्यमस्तरको रकम उठाइदेलान् ! समग्रमा यो चलचित्र न आँधिको काम गर्न सक्छ न त तुफानको नै !

Related Articles:
अब चार्लिज एञ्जेल्स नेपालीमा
दशैँमा नेपाली परीहरु

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Review
Related Tags:
रिलिज अभिनेता सेलेब्रिटी समारोह सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship,