Home» Cinema »Review

आगोमा घिऊ

'आगो' चलचित्र बनाउने घोषणा त्यसबेला भएको थियो, जतिबेला नेकपा माओवादीका बारेमा उच्चारण गर्नुसमेत अपराध ठानिन्थ्यो ।  किसान पोखरेल र शिवजी लामिछानेले नारायण पुरीलाई लिएर यो चलचित्र बनाउन शुरु गर्दा समेत विषयवस्तुको सही उठान हुन नसक्ने तर्क केही आलोचकहरुको थियो । तर आगो बिनाअवरोध छायाँकन सम्पन्न भयो तर प्रदर्शनका बेलामा भने झमेला सहनु पर्‍यो । चलचित्रका केही दृश्यमाथि तात्कालीन सर्वोच्च अदालतले आपत्ति जनाउँदै 'क्लाइमेक्स'का दृश्यहरु परिवर्तन गराउन बाध्य पार्‍यो ।

जनआन्दोलन भाग २ पछि चलचित्र सेन्सरको नीतिमा नै परिवर्तन आउनु पर्छ भन्ने नयाँ आवाज उठिरहेको बेलामा चलचित्र निर्माताद्वय किसान र शिवजीले आफ्नो चलचित्र आगोका केही दृश्यहरु परिवर्तन गर्दै राजधानीमा पुनः प्रदर्शन गराएका छन् ।

त्यस्तो के छ आगोमा ?
यो एउटा साधारण पत्रकार (ऋद्दिचरण श्रेष्ठ) को कथा हो, जो नेपालको कुनै शहरी क्षेत्रमा बसोबास गर्दछ । जो आफ्नो छोरो (सुशील क्षेत्री), श्रीमती (बसुन्धरा भुसाल) सहित आनन्दपूर्वक जीवन बिताइरहेको छ । पत्रिकाको नाम नै आगो भएका कारण आगो ओकल्ने समाचार त्यहाँ छापिन्छ । त्यो आगोले देशका खराब राजनीतिक नेता र तस्करलाई रुच्दैन । बरु छापिएका समाचारमा उनीहरुले प्रतिबन्धित संस्थाको भित्री हात देख्छन् । यसबीचमा पत्रकारको हत्या मात्र हुँदैन, उसको लायकदार छोरो सुशील बिनाकारण जेल पर्छ । जेलमा उसमाथि निर्मम यातना दिइन्छ ।

यस्तो निर्ममताका कारण जेलबाट भाग्न ऊ बाध्य हुन्छ । तर भागेर कहाँ जाने ? भाग्दाभाग्दै ऊ जंगलमा पुग्छ । लखतरान उसलाई केही भूमिगत मान्छेहरुले भेट्छन् । उनीहरुले त्यो युवाको भावना बुझ्छन् र उसभित्रको आगोलाई ठम्याउँछन् । त्यो आगोलाई उनीहरुले प्रयोग गर्छन् । त्यसपछि केटो एउटा राजनीतिक आन्दोलनमा समावेश हुन्छ ।

चलचित्रको मुख्य कथा यति छ । हुन त चलचित्र यसैमा केन्द्रित हुनुपर्ने हो तर नेपाली चलचित्र नायकप्रधान भएका कारण नायिकासँग रोमान्सका काम गर्नुपर्ने हुन्छ । नायिकासँग गीत गाउनुपर्ने र नाच्नुपर्ने पनि हुन्छ । चलचित्रको मुख्य कथा आधा समय रोमान्समा बित्छ । त्यसपछि बाँकी रहेको समय चाहिँ कथाभित्र घुस्छ ।

कलाकारहरुको काम
चलचित्र नायक प्रधान छ । त्यसैले यसमा नायक सुशील क्षेत्रीको काम रुचिपूर्ण छ । सबैभन्दा रमाइलो त के छ भने उनको यो पहिलो चलचित्र हो । यसमा उनले जति खुलेर अभिनय गरेका छन्, त्यति त्यसपछिका चलचित्रमा खुल्न सकेनन् । उनको जीवन परिवर्तन गर्ने चलचित्र हो यो । समयमै बनेर तयार भए पनि समयमै यो चलचित्र रिलिज हुन नसक्दा उनलाई निकै घाटा भएको थियो । तर जब चलचित्र रिलिज भयो, त्यसपछि उनी व्यस्ततम् नायकहरुको सूचिमा परेका थिए ।

यो चलचित्रको रि-रिलिज काठमाडौँमा भएको छ । यसले उनलाई पनि फाइदा हुने पूरा सम्भावना छ । त्यस्तै, चलचित्रमा त्यसबेलाका प्रख्यात तीन नायिकाहरुको उपस्थिति छ । जसमध्ये सारंगा श्रेष्ठले माओवादी कमाण्डरको भूमिका गरेकी छिन् । उनले चलचित्रमा यस्ती युवतीको भूमिका निभाएकी छिन्, जसलाई ललाईफकाई गाउँको सामन्तले उनको इज्जत लुट्छ । त्यही लुटिएको इज्जतको बदला उनले चलचित्रमा लिन्छिन् भने खाइलाग्दो युवक सुशीलतिर आकर्षित पनि हुन्छिन् । उनको सुशीलप्रतिको मौन आकर्षण चलचित्रको सबैभन्दा प्रभावशाली दृश्यहरु बन्न पुगेका छन् । त्यस्तै चलचित्रमा निरुता सिंह र विपना थापाजस्ता प्रख्यात नायिकाहरु छन् । निरुताले माओवादीहरुबाट मारिएका एक प्रहरी अधिकृतकी विधवाको भूमिका निर्वाह गरेकी छिन् । उनको रुन्चे भूमिका दर्शकहरुले उहिले नै रुचाएका हुन् । विपना भने चुल्बुले युवती बनेकी छिन्, जो सुशीलसँग जीवनभर बाँच्नेमर्ने कसम खाएकी छिन् ।

निर्देशकको खुशीको पारो
निर्देशक नारायण पुरीका यसअघिका चलचित्र सफल भए पनि अत्यधिक सफल चलचित्रका रुपमा अन्य थिएनन् । तर यो चलचित्रले उनको जति धेरै टाउको खायो, त्यति नै त्यसले खुशी पनि दिएर गयो । त्यतिबेला मूल रुपमा बनेको चलचित्रलाई केही परिवर्तनका साथ देखाउनु परे पनि दर्शकहरुले रुचाइदिएका थिए । अहिले पनि यसलाई रुचाएका कारण निर्देशक पुरीका लागि खुशीको प्रशस्त बहाना छ ।

निर्देशकको रुपमा उनको सबैभन्दा राम्रो काम के छ भने यो चलचित्रको स्पीड मध्यान्तरपछि निकै राम्रो छ । मध्यान्तरअघि चरित्र स्थापनाको काम भए पनि अनावश्यक रुपमा अलमलिएको छ ।

सङ्गीत पक्ष
यो चलचित्रले सङ्गीतकार सचिन सिंहलाई एउटा सफल सङ्गीतकारका रुपमा स्थापित गरेको थियो । 'माया बस्यो मुटुमा...' निकै हिट बनेको गीत थियो । अहिले जनयुद्धको गीत पनि थपिएको छ । थपिएको गीतले निर्माताहरुको झोली भर्न मद्दत पुर्‍याउने देखिन्छ ।

चलचित्रको व्यापार
पाँच वर्षघि जब यो चलचित्रले केही छाँटकाँटका साथ रिलिज हुने अवसर पाएको थियो, चलचित्रको हल्ला बढी नै भएका हुनाले राम्रो व्यापार गर्ने अवसर पाएको थियो । कतिपय हलमा यसले त्यसबेला ५१ दिनसम्म लगातार प्रदर्शन भएर 'हिट' चलचित्रको दर्जा पाएको थियो । त्यो बेला यो चलचित्रले करिब डेढ करोडको आम्दानी गराएको थियो । तर उठेको रकम हलवालाहरुले निर्मातालाई नदिएका कारण हिट चलचित्रका गरीव निर्माता हुन पुगेका थिए किसान पोखरेल र शिवजी लामिछाने । निर्देशक नारायण पुरीलाई एकैचोटी ख्यातिप्राप्त निर्देशकको पगरी यसै चलचित्रले गुथाएको थियो ।

अहिले यो राजधानीका आठ विभिन्न सिनेमा भवनमा प्रदर्शनरत् छ । यस चलचित्रलाई सुनील मानन्धरले वितरणको जिम्मा लिएका छन् । कुनै पनि चलचित्रको वितरण अधिकार लिने कम्पनी वा व्यक्तिले चलचित्र चलेको १५ प्रतिशत रकम पाउने गर्दछ । तर यो चलचित्रको वितरण शुल्क मानन्धरले लिएका छैनन् । उनका अनुसार बदलिँदो समयमा यस्ता चलचित्रलाई प्रश्रय दिनुपर्छ भन्ने आफ्नो मान्यता रहेका कारण वितरण शुल्क नलिइएको हो ।

नेपालको राजनीतिक परिवर्तनसँगै पुनः रिलिज गरिएको यो सिनेमाले आगोलाई घिऊ थपिदिएको छ । अर्थात् निर्माताको गोजीलाई भरिभराऊ पार्ने निश्चित छ । कम्तीमा एक महिनासम्म यो चलचित्र चल्ने निश्चित भएपछि यो चलचित्रले कम्तीमा २० लाख रुपियाँको व्यापार काठमाडौँबाट मात्र गर्नेछ । जसमध्ये ५० प्रतिशत रकम माओवादी जनसेनालाई दिइनेछ । सिनेमा हलमा माओवादी जनसेनाले अनुगमन गरिरहेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Review
Related Tags:
कन्ट्रोभर्सी नवीनता क्या बात ! फिल्म फेस्टिबल ग्ल्यामर निर्देशक पार्टी अभिनेता पेज 3 अभिनेत्री रोमान्स रोचक सोच सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी