Home» Cinema »Biography

गुरु दक्षिणाको प्रभाव

- अच्युत कोइराला

"आज गुरु पूर्णिमा, लौ आजका दिनमा मेरा लागि गुरु दक्षिणाको रुपमा प्रतीज्ञा गर", बलिउड भनिने त्यसबेलाको बम्बेमा आफ्ना ३० चेलाहरुलाई वरिपरि राखेर कम्लाकर कार्खनिजले घुरेर तुलसी घिमिरेलाई हेरे । कसैले के गर्छु भने, कसैले के गर्छु भने तर घिमिरेलाई वाक्य फुटेन । "तुम अपनी मातृभाषा में १० फिल्में बनाना", १५ वर्षमा मुस्किलले ६/७ सिनेमा बनाउने नेपालको मनोरञ्जन उद्योगको आवश्यकता बुझेका कार्खनिज आफैँले तुलसीका लागि 'असाइन्मेन्ट' दिए । सिनेमा त बनाउने तर भन्ने बित्तिकै कसरी ? त्यो पनि १०/१० वटा ? दुइ सातासम्म तुलसीले गम्भीर भएर सोचेपछि आफ्नो गुरुकोमा क्षमाप्रस्ताव लिएर पुगे । यत्रो पैसा खर्च हुने सिनेमा बनाउने बाहेक बरु अरु नै कुनै गुरु दक्षिण माग्नोस्- तपाइँ, तर सिनेमा बनाउने आग्रह फिर्ता लिनोस् । गुरुको आँगनमा पुगेपछि थाहा भयो, उनको क्षमाप्रस्ताव सुन्नै नपाई गुरु कम्लाकर कार्खनिजको देहान्त भइसकेछ ।

तुलसी घिमिरेले उनको १६ औँ चलचित्र शुरु गरिसके- 'देश' । हुन त चलचित्र बनाउनु गुरु कम्लाकरको दक्षिणा थियो शुरुताका । उनले गुरुकै भनाइ अनुसार १० औँ चलचित्र पनि जमानामा नै बनाइसके ! तर उनको चलचित्रयात्रा रोकिएको छैन । बरु चलचित्र निर्माणमा पारङ्गतता थपिँदै जाँदा अनुभवी यी दाह्रीवालसँग नयाँ-नयाँ विषय र नयाँ-नयाँ जोश थपिँदो छ । यो जोशमा सञ्चारको महत्व उनलाई अझ बढी भएको छ, भन्छन्- "जबसम्म मिडियाले निमुखाहरुको आवाजको भूमिका खेल्न सक्तैन, तबसम्म देशलाई सीमित लोभीपापीहरुले नै खेलाइरहन्छन् ।" यही आवाजलाई दमदार बनाउन 'देश'को मुख्य पात्र पत्रकार बनेको छ । पत्रकारको नजरले देशलाई हेर्दै देश बनाउन के के गर्न आवश्यक छ भन्ने आफ्नो दृष्टिकोण यसमा राखेका छन् ।

उनको खातामा त्यो छ, जुन अरु कुनै चलचित्र निर्देशककोमा छैन । तीन सिल्भर जुब्ली सिनेमा 'कुसुमे रुमाल', 'लाहुरे' र 'चिनो' र एक रेकर्डधारी कमाऊ चलचित्र 'दर्पण छायाँ' । तर पनि चलचित्र बनाउने बेलामा बजेटको सधैँ टमटमी ! यस्तो अवस्था अहिले पनि छ, जुन बेला उनलाई पहिलो पटक 'बाँसुरी' बनाउने बेलामा भएको थियो । 'बाँसुरी'को प्रेमकथा उनलाई पाँच कक्षामा पढ्दा एउटा बङ्गाली शिक्षकले सुनाएको थियो । जब गुरु कम्लाकरले सिनेमा बनाउने आदेश दिएर परमधाम भए, उनलाई त्यही कथा याद आयो । बलिउडले उनलाई सिकाएको थियो- 'सपना देख्न बन्द नगर्नू ! जुन दिन सपना देख्न छोडिन्छ, त्यसैबेलादेखि तिम्रो यात्रा समाप्त हुन्छ ।' बलिउडले उनलाई यो पनि सिकाएको थियो- 'पैसाको फिक्री नगर्नू । त्यो पनि घुम्दैफिर्दै तिम्रो  इच्छामाफिक आइपुग्छ ।' पैसा नलाग्ने काम उनले धेरैअघि सिध्याइसकेका थिए, कथा, पटकथा, सम्वाद, गीत । सङ्गीतका लागि उनलाई माया गर्ने रनजीत गजमेर थिए । छायाँकन र अन्य कुराको जिम्मा विनोद प्रधानलाई ! यसरी हितैषीहरुको भीडले उनलाई हिम्मत दिएको थियो, यत्तिकैमा एक बंगालीबाबु लगानीकर्ता फेला परे र त्यसपछि 'बाँसुरी' बन्यो ।

पहिलो चलचित्र बनिसकेपछि उनलाई सम्पादनको टेबुलमा फर्किन मन लागेन, अझ भनौँ पछाडि फर्केर हेर्न मन लागेन । नयाँ योजना बन्यो, कुसुमे रुमालको । यति नै बेला शम्भु प्रधान पनि 'सम्झना' बनाउन कस्सिए । 'सम्झना'को कथा, पटकथा र सम्वाद पनि उनैले लेखे । 'कुसुमे रुमाल' हिट त भयो तर त्यसको सफलताको रकमी स्वाद लिन पाएनन् । लगानीकर्ता उद्धव पौडेलसँग गाँसिएपछि आफ्नो उन्नतिको सपना देखेका घिमिरे खाली हात नेपालबाट फर्किए । तर, दुवै चलचित्रको 'सुपर सक्सेस'ले उनलाई सिनेमामा रमाउने बाध्यता जन्माइदियो । सँगैमा परिवारको आशा र आफ्नै सनक पनि बन्यो चलचित्र । कुसुमे रुमालमा उदितनारायण झाले गरेको भूमिका श्रवण घिमिरेलाई दिइएको थियो तर समयमै उदित आइपुगेकाले श्रवण नायक हुँदाहुँदै बाहिरिए । उनको क्षमता बुझेका दाजु तुलसीले श्रवणलाई 'लाहुरे'मा नायक बनाए । त्यो पनि व्यापारमा निकै गनियो । त्यसपछि उनलाई के लाग्यो भने- नेपाली सिनेमामा 'स्टार' जन्मिसकेको छैन । नेपालमा अझै पनि स्टार हेर्न हलमा आउँदैनन्, दर्शक । उनीहरु कथा हेन आइपुग्छन् ।

त्यसपछि क्रमैसँग 'अन्याय', 'कोसेली' बनाए । 'अन्याय' बिस्व बस्नेतका लागि बनाइदिएका थिए । २०४६ सालको आन्दोलनमा त्यो चलचित्र तुहियो र बिस्व बस्नेत महलबाट एकैचोटी सकडमा आइपुगे । 'कोसेली' चलचित्रमा पहिलो पटक 'हिजडा' भनिने समलिङ्गीको प्रवेश भयो । सन्तोष पन्त त्यसमा खूबै जमे । तर चलचित्र असफल भयो । यही बेला पाकिस्तानी रजगज छाडेर शिव श्रेष्ठ नेपाली सिनेमामा 'रि-इन्ट्री' मार्न तुलसीसमक्ष चलचित्र निर्देशनको प्रस्ताव लिएर आइपुगेका थिए । घिमिरेले 'चिनो'का लगानीकर्ता विष्णुगोपाल श्रेष्ठलाई 'दक्षिणा'लगायत अन्य थुप्रै चलचित्रको कथा सुनाए । तर विष्णुगोपाललाई मन परेन । बाँकी भोलि सुनाउँला भनेर निस्किएका घिमिरेलाई समस्या पर्‍यो, के सुनाउने भोलि - उनले एउटा मसलापूर्ण विछोड र मिलनको कथा बुनेर सुनाएका मात्र के थिए, विष्णुगोपाल बुर्लुक्क उफ्रेर भने- "दिस् इज् द स्टोरी !" राते काइँलाको सम्वाद- 'मलाई यो कुरा मन परेन' नेपाली चलचित्रका यादगार सम्वादमध्ये एक बन्न पुग्यो । चिनोका हर पात्र आफैँमा पूर्ण र सजीव पात्र बने र दर्शकले यो चलचित्रलाई नेपालको तेस्रो 'सिल्भर जुब्ली' सिनेमा बनाइदिए ।

यसपछि बनेका देउता, बलिदान र दक्षिणा उनका राम्रा चलचित्रमध्ये पर्छन् । देउताले राजेश हमाललाई 'स्टार' बनाउन सहयोग गर्‍यो । यसै चलचित्रमा उनले चिच्याएको सम्वाद 'हे....' र 'उज्याएको हात' सफल सिनेमाको 'ट्रेडमार्क' बने । अहिले राजेशले चिच्याएर 'हे...' नभनेको र हात नउज्याएको सिनेमा नै छैनन् । 'बलिदान' नेपाली लोकतान्त्रिक आन्दोलनको पर्याय बन्यो र 'दक्षिणा' देशका युवाहरुका लागि शिक्षा बन्यो । तर यसपछि बनेका दुइ थोपा आँशु, मितज्यू, रहर र साइत लहरै फ्लप भए । यही बेला उनलाई नागरिकताको कुरा झिकेर छयत्तरे भनियो र पटक-पटक मानसिक तनाव दिइयो । तर उनले हार मानेनन् । कतिसम्म भने उनले यी चलचित्र फ्लप भएपछि आफू समयसापेक्ष हुन नसकेको हो कि भन्दै केही वर्ष फेरि बलिउडमा पढ्न जान खोज्दै थिए तर 'दर्पण छायाँ'ले उनको कथालाई अर्कैतिर मोडिदियो ।

'दर्पण छायाँ' नेपाली चलचित्रका लागि कोशेढुङ्गो साबित भयो र त्यसपछिका दुइ सिनेमा 'लहना' र 'दुइ किनारा' आशाअनुरुप चल्न सकेनन् । तापनि यात्रा टुङ्गिएको छैन । सानो बजेट, सीमित साधन र श्रोत, ठूला प्रतिस्पर्धी सिनेमा हलिउड र बलिउडका बीच नेपाली चलचित्र उद्योग बाँचिरहनु नै एउटा आश्चर्य ठान्छन् उनी । तर केही सपना र केही विचार मिसाएर चलचित्र बनाउन छाडेका छैनन् । त्यसैले त लगातार दुइ चलचित्र फ्लप हुँदा उनले राजेश हमाल, निखिल उप्रेती, शम्भुजीत बासकोटा, राजु थापा (छायाँकार), राजेन्द्र खड्गी (द्वन्द्व निर्देशक) जस्ता उद्योग आफ्नो काँधमा बोकिरहेकाहरुसँग आफ्नो पनि काँध हालेर अगाडि बढ्ने प्रयास गरिरहेका छन् ।

"मेरो सिनेमाको क्यानभास ९० लाखको हुन्छ तर मैले सीमित साधन र श्रोतले यसलाई ३० लाखमा खुम्च्याउनु पर्छ । यसले बनेको आयामलाई खुम्च्याइदिन्छ । नेपाली चलचित्र उद्योगको दुःख नै त्यही हो", घिमिरे नेपाली चलचित्र राम्रो नबन्नुमा लगानीको कारण देखाउँछन् । तर उनलाई थाहा छ, नेपाली चलचित्र उद्योगमा खसीको टाउको भनेर बाख्रीको मासु बेच्नेहरुको बोलवाला छ । दर्शकलाई झुक्याइएका कारणले पनि राम्रा चलचित्रहरु बेवास्ताको शिकार भएका छन् । उनको 'दुइ किनारा' त्यस्तै एउटा शिकार थियो । 'देश' पनि त्यस्तै बेवास्ताको शिकार भयो भने उनी के गर्नेछन् - "फेरि पनि सिनेमा बनाउन छाड्दिनँ", घिमिरे दृढतापूर्वक भन्छन्- "मैले सिनेमा बनाइरहनु पर्छ किनभने गुरुजीको आज्ञा अझै पूरा भएको छैन । किनभने उद्योग बनिसकेको छैन । किनभने दर्शकप्रति मेरो विश्वास अझै गुमिसकेको छैन । किनभने यो समयमा राष्ट्रको निम्ति सबैले केही न केही गर्नु पर्छ र चलचित्रको माध्यमबाट मैले त अझै धेरै गर्न बाँकी छ । किनभने मेरी आमाको मातृभूमि र मेरो कर्मभूमिप्रति मेरो दायित्व सकिइसकेको छैन ।"

त्यसैले त आफ्नो दायित्व सम्झँदै उनले 'देश'का लागि एउटा गीत लेखेका छन्-
एउटा नेपाली दुःखमा रुँदा
अर्को नेपाली पनि रुनु पर्छ
तिमी देशको छातिमा उभिएका छौ
तिम्रो छातिमा पनि देश उभिनु पर्छ ।

 


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: