मिस नेपाल अप्रिल ७ मा

"नयाँ नेपालका लागि नयाँ अनुहार" नाराका साथ आउँदो अप्रिल ७ तारिखमा डाबर बाटिका मीस नेपाल हुने भएको छ । उक्त कुराको जानकारी हिजो (१८ फरवरी) एक कार्यक्रमका बीच बौद्धस्थित हयात होटलमा आयोजित पत्रकार सम्मेलनमा दिइएको थियो ।
यस पटकको मिस नेपाल अघिल्ला कार्यक्रमभन्दा रोचक हुने आयोजकहरुले उक्त सम्मेलनको अवसरमा जानकारी दिएका थिए । वाटिका माइ च्वाइस नामाकरण गरिएको यो विधामा दर्शकहरुले आफूलाई मनपर्ने युवती छान्न सक्ने छन् । यस छनोटबाट दर्शकहरुले मिस नेपाल कार्यक्रमलाई अझ नजिकबाट अनुभव गर्ने आयोजकहरुको विश्वास छ ।
हिजैका दिनबाट उत्कृष्ट २० जना प्रतियोगीहरुका लागि विभिन्न किसिमका तालिमहरुको आयोजन गरिँदैछ । यस पटक प्रदान गरिने तालिमहरुलाई उच्चस्तरीय बनाइएको र त्यसमाथि निकै विचार पुर्याइएको आयोजकहरुको दाबी छ । तालिम ६ साता लामो हुनेछ । यसअवधिभर मीस नेपाल कार्यक्रममा भाग लिने युवतीहरुको विविध क्षमता, कामप्रतिको लगाव र र्समर्पण आदिको मूल्याङ्कन गरी विभिन्न चरणको छनोट सम्पन्न गरिनेछ ।
अहिलेको समयमा युवा महिलालाई बराबर हक लिने र नयाँ नेपालका लागि योगदान दिने दुवै कुरामा प्रशिक्षित गराउने कार्यक्रमको लक्ष्य रहेको आयोजकको धारणा छ । नयाँ नेपालका लागि नयाँ अनुहार नारालाई मूर्तता दिन बाहिरी आवरणलाई मात्र ध्यान नदिई भित्री सौर्न्दर्यको समेत ख्याल राखिने कार्यक्रममा जानकारी दिइएको थियो ।