 |
Home» Cinema »Feature |
बल्ल बन्ने भो 'देश'

भदौ महिनादेखि सिनेमाको सुटिङ शुरु हुने भनिए पनि बल्ल सोमबार मुहूर्त गरिएको चर्चित चलचित्र निर्देशक तुलसी घिमिरेको चलचित्र देश अब बन्ने पक्का भएको छ । चलचित्रको सुटिङ आज बुधबारबाट काठमाडौँका विभिन्न स्थानहरुमा शुरु भएको छ ।
एउटा नेपाली दुःखमा रुँदा,
अर्को नेपाली पनि रुनु पर्छ
तिमी देशको छातिमा उभेका छौ,
तिम्रो छातिमा पनि देश उभिनु पर्छ ।
सात वर्षअघि यो कथा बुनिसकेका थिए, उनले । दुइ वर्षअघि सुटिङका लागि तयार पनि थिए । २०६३ को अप्रिल आन्दोलनपछि बनेको सरकारले देशमा स्थायी शान्ति ल्याउने छ र सुटिङ थालिनेछ भन्नेमा पक्का थिए । तर जसरी देशमा स्थायी शान्ति एकादेशको कथा बन्यो, चलचित्र निर्देशक तुलसी घिमिरेलाई आफ्नो सपना-योजनाको नयाँ चलचित्र पनि त्यस्तै होला भन्ने पीर भयो । त्यसैले त अहिले उनी संविधानसभाको निर्वाचन कुरिरहेका छैनन् । देशमा अमन-चयन पर्खेका छैनन् ।
व्यवसायिक रुपमा एकसेएक उम्दा चलचित्र दिने चलचित्र निर्देशक घिमिरे नेपालको राजनीतिक अवस्थासँग मिल्दोजुल्दो कथा बोकेर सिनेमा बनाउने घोषणा सोमबार मात्रै गरेका छन् । उनले यस पटक आफूले 'सेट' गरेका 'ट्रेण्ड'लाई केही परिवर्तन गरेका छन् । जस्तो कि राजेश हमाललाई आफ्नो होम प्रोडक्शनमा पहिलो पटक लिइरहेका छन् । निखिल उप्रेती पनि घिमिरेसँग पहिलो पटक काम गर्दैछन् । रोचक कुरा त, शम्भुजीत बासकोटाजस्ता वर्षौँ चलचित्र सङ्गीतमा राज गरेकाले पनि घिमिरेको चलचित्रमा पहिलो पटक सङ्गीत दिँदैछन् ।
'देश' नाम जुराएका निर्देशक घिमिरे यतिबेला चलचित्रको व्यवसाय कस्तो हुने हो भन्ने आँकलन गरिसकेका छन्, "अघिल्ला दुइ सिनेमाजस्तो लगानी उठाउन धौधौ चाहिँ हुने छैन", शुभ मुहूर्त सकिएपछिको फूर्सदिलो बिहानी ताप्दै घिमिरेले थपे- "देश बनाउन ठूला कुरा गरेर हुँदैन, साना-मसिना काम गरे पुग्छ । मेरो नयाँ चलचित्रले बोकेको सन्देश चाहिँ यही हो । चलचित्रले देशमा भइरहेको अव्यवस्थालाई एउटा पत्रकारको आँखाबाट प्रस्तुत गरिने निर्देशक घिमिरेले बताएका छन् । र, इमान्दारिताका साथ काम गर्दै रहँदा 'स्टार' नायकहरु र 'स्टार' सङ्गीतकारको साथ पाउँदा उनलाई त्यसै-त्यसै आत्मविश्वास पलाएको छ ।
घिमिरेका अघिल्ला दुइ चलचित्रहरु 'दुइ किनारा' र 'लहना' आशा अनुरुप चलेनन् । त्यसो त देशको सुरक्षा-अवस्था पनि यति खस्कियो कि राजधानी बाहिरका सिनेमा हलहरुले दिनमा एक शो मात्र देखाउँथे । ती दुइ चलचित्रले उनको सिनेमा निर्माणको मन भाँचिदियो । त्यसपछि उनी टेलिभिजनमा श्रृङ्खला निर्देशन गर्न थाले । टेलिभिजनमा स्तरीयताभन्दा होडबाजी र आफ्नै किसिमको षडयन्त्रबाट दिक्क बनेका उनी पुनः चलचित्र निर्माणमा तानिएका छन् । १८ वटा चलचित्र निर्देशन गरिसकेका र 'चिनो', 'लाहुरे' र 'दर्पण छायाँ'जस्तो कोशेढुङ्गा चलचित्र उद्योगलाई दिइसकेका यी निर्देशकको यो प्रयास चाहिँ नेपाली चलचित्रप्रेमीका लागि प्रतिक्षित सिनेमा नै हुनेछ ।
| |
|
|
|
|
|
|
|
|
|
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
|
|
| | | |