Home» City Life »Updates

पर्खाल भत्काउने नाटकः बाँकी उज्यालो

तपाइँ नाटक हेर्न जाँदै हुनुहुन्छ, कस्तो आशा राख्नु हुन्छ ? मीठो, एउटा स्वप्नजस्तो अथवा राजनीतिलाई बेस्कन घोचिएको वा नारीमाथि भएका गलत कृत्यहरुको विद्रोह या त्यस्तै केही । होइन त ?

तर 'बाँकी उज्यालो' ती सबैभन्दा फरक रुपमा उभिएर शुक्रबारबाट राजधानीस्थित गुरुकूलबाट बिदा लिएको छ ।

तपाइँ छिर्ने बित्तिकै एक उद्घोषक झुल्किन्छन् र जस्तो कि गुरुकूलको मोबाइल स्वीच अफ गर्ने अनुरोध गर्ने 'उ' नै गरिन्छ, त्यसैगरी उनले पनि 'त्यो' गर्छन् । त्यसपछि उनले भन्ने कुराले एक पटक दर्शक झस्किन्छ । उद्घोषक भन्छन्- "यो नाटक वयस्कहरुका लागि मात्र हो । कृपया १५ वर्षभन्दा मुनिका बालबालिकाहरुले यो नाटक नहेरिदिनु होला । हामी आशा गछौँ, यहाँ १५ वर्षमुनिका छैनन् ! लौ अब स्वाद लिनुहोस् ।"

अब दर्शकमा कौतुहलता छाउँछ, यसमा त्यस्तो के छ, जसका कारण शुरुमै सावधान भनियो !

दृश्य एकपछि अर्को आउँछ र जब ट्रक ड्राइभर डेभिड पर्दामा झुल्किन्छन्, मानौँ दर्शकको ल्याकत छाम्छन् । सामान्यतः नेपाली सिनेमामा कहिल्यै नसुनिएका र हिन्दी सिनेमामा कहिलेकाहीँ मात्र सुनिने शब्दहरु यस नाटकमा जीवन्त पात्रहरुद्वारा फ्याट्ट सुन्नु पर्दा केहीले आफ्नो छेउछाउतिर नजर दौडाउँछन्, कसैले अगाडिपछाडि पनि !

त्यस्तो के छ बाँकी उज्यालोमा ?
नेपाली समाजले कहिल्यै नछोएको विषय परिवारभित्रै उठ्ने वासनात्मक प्रेम यो नाटकले उठाएको छ । भारतीय लेखक गिरिश कर्नाडले बेलायतबासी भारतीयहरुको मनोदशा मज्जाले प्रस्तुत गरेका छन् । र, भारतमै घरभित्रै हुर्किने वर्जित प्रेममाथि पहिलो पटक उठान गरेका थिए । यो नाटक यति विवादास्पद भयो कि कतिपय अवस्थामा मञ्चन हुँदाहुँदै पनि रोकिने स्थिति सिर्जना भएको थियो ।

यो नाटकले १७ वर्षीया दिदी र १३ वर्षे भाइबीचको अवैधानिक प्रेम र यौन संर्सगलाई मनोवैज्ञानिक ढङ्गले देखाएको छ । जब समाजले सदियौँदेखि यस्तो सम्बन्धलाई घृणित र पाप मान्छ, यदि अकस्मात यो दुर्घटना घट्यो भने त्यसले मानिसलाई भित्रभित्रै कसरी खान्छ ? मानिस कसरी विक्षिप्त हुन पुग्छ ? त्यसको नोक्सान कति वृहद् हुनसक्छ, यही कुरा बोल्न खोजेको छ नाटकले ।

यो नाटकलाई नेपालीकरण समुना केसीले र निर्देशन अनुप बरालले गरेका छन् । र, निर्देशक बरालको प्रशंसा थाक्दा पनि गरिरहुँजस्तो ! उनले पात्र र परिवेशलाई यति मजाले उठान गरेका छन् कि तपाइँ दृश्यसँग एकीकृत नभइरहन सक्नु हुन्न । जब जब नाटकमा गालीका केही शब्द आउँछन्, त्यतिबेला मात्र तपाइँ झस्किनु हुन्छ- म यिनीहरुभन्दा अलग छु भनेर !

यो नाटक नेपाली नाट्य क्षेत्रका लागि किन महत्वपूर्ण छ भने यसरी यस्तो विषय कहिल्यै उठान भएको थिएन । मञ्चमा यसरी कहिल्यै पात्रका मुखबाट नेपालीमा गाली सुनिएको थिएन । (त्यसो त बरालले नै निर्देशन गरेको महेशविक्रम शाहको कथामा आधारित थारुहरुको कथामा चाहिँ गाली थियो, तर थारु भाषामा । त्यसमा पनि यौन संर्सगका दृश्यहरु त थिए तर यति खुला थिएनन् ।)

यो नाटकले बोल्न खोजेको अर्को पक्ष चाहिँ विदेश गएपछि स्वदेशलाई चटक्कै भुल्नेहरुको व्यवहार । ह्यारी नामक पात्रले कसरी आफ्नो स्वदेशी नामलाई चटक्कै भुलेर विदेश युवती र रङमा भुलेको छ भन्ने उदाहरण पेश गरिएको छ । एउटी निरश महिलामाथि गौतम पात्रको एकोहोरो प्रेम र पछि उसले पाउने पीडालाई पनि नाटकले निकै राम्रोसँग प्रष्ट्याएको छ ।

समग्रमा, तपाइँ काठमाडौँबासी हुनुहुन्छ र तपाइँले यो नाटक छुटाउनु भयो भने तीन ओटा राम्रा सिनेमा बराबरको 'डोज' छुटाउनु भयो, यो चाहिँ पक्का हो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
events मोबाईल पेट्रोल हल्ला समलिङगी सेलेब्रिटी awards माओवादी crisis संविधानसभा अनुभव celebrity streets festival hi-life
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,